मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १६ बिहीबार
  • Friday, 28 August, 2026
२o७९ चैत १६ बिहीबार १४:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुरेन्द्रको नागरिकता लिएर घरमै पुगे सिडिओ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार १४:१६:oo

बुधबार दिउँसो सिडिओ घरमा पुगेपछि राधिका थापा छक्क परिन्। चैते दसैँले सहर र सडक सुनसान भए पनि गाउँमा छुट्टै उमंग थियो। 

थापाले प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेलाई देखेपछि हतपत भित्र पसेर २८ वर्षीय अपांग छोरा सुरेन्द्र थापालाई बाहिर ल्याइन्। सुरेन्द्रको असजिलो देखेर सबैलाई स्तब्ध बनायो। धुर्कोट गाउँपालिका ६ रजस्थलका सुरेन्द्र जन्मजात अपांग छन्।

प्रशासनको टोलीले नागरिकता प्रक्रिया अगाडि बढाए। शारीरिक समस्याले कागजपत्रमा ल्याप्चे लगाउन पनि सुरेन्द्रलाई सजिलो थिएन। बिस्तारामै अप्ठ्यारो गरेर भए पनि सबै प्रक्रिया पूरा भएपछि प्रमुख जिल्ला अधिकारी पाठकले थापालाई नागरिकता दिए। 

थापा परिवारमा दसैँको मिठो मसिनोभन्दा नागरिकताले बढी थप्यो। सुरेन्द्रले बोलेर खुसी व्यक्त गर्न सकेनन्। तर, चेहेरामा देखिने खुसीले सबैलाई ऊर्जा प्राप्त गर्‍याे । ‘चाडपर्वकै दिन घरमा आएर नागरिकता पाउँदा खुसी नहुने कुरै भएन। असल प्रशासन र प्रशासक पनि हुँदोरहेछन्,’ आमा राधिकाले भनिन्, ‘आज पीडा कम भएको महसुस गरेँ।’

सुरेन्द्र सुन्छन्– बुझ्छन् तर बोल्न सक्दैनन्। हात र खुट्टा सुकेका छन्। न टेक्न सक्छन्, न त समाउन। कडा नसाको औषधि खान थालेकै दुई दशक पुग्न थाले। २८ वर्षसम्म सुरेन्द्र नागरिकताविहीन थिए। 

केही दिन धुर्कोट कोत भ्रमणमा गएका प्रमुख जिल्ला अधिकारी पाठकले सुरेन्द्रको अवस्था पत्तो पाएपछि घरमै पुगेर नागरिकता दिएका हुन्। उनले जिल्लाका अन्य क्षेत्रमा पनि प्रशासन आउन नसक्ने अपांग भए तत्काल खबर गर्न आग्रह गरे। सबैको सबै ठाउँ ध्यान पुग्दैन।

‘विभिन्न परिस्थितिले नागरिकताविहीन भएका सुरेन्द्रलाई नागरिकता दिन पाउँदा निकै आनन्द आयो । कोही पनि नागरिकताविहीन हुनुहुँदैन,’ उनले भने, ‘अरू व्यक्ति पनि खोजी गरेर प्रशासनको पहुँचमा ल्याउन सहयोग गरौँ।’ 

तत्कालीन महिला विकास हुँदादेखि नै ‘क’ वर्गको अपांग परिचयपत्र भने लिएका छन्। अहिले मासिक चार हजारका दरले सामाजिक सुरक्षा भत्ता लिएका छन्। नागरिकता भने बनाएका थिएनन्। 

नागरिकता पाउने उमेरले १०-१२ वर्ष बढी हुँदा पनि उपयोग नहुने र शारीरिक समस्याको कारण प्रशासन आउ–जाउ गर्न मुस्किल हुँदा नागरिकता नबनाएको बुबा जयप्रताप थापाले बताए।