१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १५ बुधबार
  • Tuesday, 16 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत १५ बुधबार o८:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : साधुको ‘जडीबुटी’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत १५ बुधबार o८:४o:oo

एक वृद्ध साधुको आश्रममा एक युवा उमेरकी महिला पुगिन् र आफ्नो दुखेसो सुनाउन थालिन् । उनले भनिन्– बाबा, मेरा सैनिक पति पहिले मलाई खुब माया गर्नुहुन्थ्यो । तर, युद्धबाट फर्किएपछि भने उहाँले पहिलेको प्रेम पूरै भुल्नुभयो । उहाँ ठिकसँग कुरासम्म गर्नुहुन्न । 

साधुले भने– यो सब युद्धको प्रभाव हो । महिलाले हात जोड्दै भनिन्– हजुरसँग भएको जडीबुटीले मानिसमा पुनः प्रेमभाव जगाउन सक्छ भन्ने सुनेकी छु । मलाई पनि त्यही जडीबुटी दिनुपर्‍यो हजुरले । महिलाको आग्रह सुनिसकेपछि साधुले केही सोचे र भने– म तिमीलाई जडीबुटी दिन त सक्छु । तर, त्यसका लागि मलाई एउटा सामान चाहिन्छ, जुन मसँग छैन । 

महिलाले प्रश्न गरिन्– त्यस्तो कुन सामान हो ? मलाई भन्नुहोस् न, म ल्याइदिन्छु । साधुले भने– मलाई बाघको जुँगाको एउटा रौँ चाहियो । महिला तत्काल बाघको खोजीमा निस्किइन् । जंगलको भित्रभित्र पुगेर खोज्दा उनले नदीको किनारमा एउटा बाघ देखिन् । उनलाई देख्नासाथ बाघ गर्जियो । बाघको गर्जन सुनेपछि तीव्र गतिमा भागेर उनले ज्यान जोगाइन् ।

थप केही दिनसम्म यही सिलसिला चलिरह्यो । महिला हिम्मत गरेर बाघको नजिक पुग्थिन्, बाघ गर्जिन्थ्यो, उनी डराई–डराई फर्किन्थिन् । लगभग महिना दिन बित्दानबित्दै बाघलाई महिलाको उपस्थितिको बानी पर्‍यो । अब त महिला बाघका लागि मासुसमेत लिएर जान्थिन् । बाघ बडो स्वादले त्यो मासु खान्थ्यो । यसो गर्दागर्दै बाघ र महिलाको मित्रता बढ्दै गयो । उनी बाघलाई थप्थपाउन सक्नेसम्म भइन् । हुँदाहुँदा उनी एक दिन बाघको जुँगाबाट एउटा रौँ उखेल्न पनि सफल भइन् । 

रौँ हात लागेपछि उनी दौडिँदै साधुको आश्रममा पुगिन् र साधुलाई रौँ हस्तान्तरण गरिन् । रौँ हात पर्नासाथ साधुले त्यसलाई नजिकै बलिरहेको धुनीको आगोमा हालिदिए । महिलाले आत्तिँदै प्रश्न गरिन्– मैले यतिका दिन लगाएर ज्यान जोखिममा राखेर ल्याएको रौँ तपाईंले आगोमा हालिदिनुभयो । अब मेरो जडीबुटी कसरी तयार हुन्छ ? 

साधुले मुसुक्क मुस्कुराउँदै भने– जसले हिंस्रक जंगली बाघलाई वशमा लिन सक्छे, उसलाई आफ्नो प्रेमले जित्न सक्छे, उसलाई आफ्ना पतिको मन जित्न र प्रेम पाउन कुन जडीबुटी चाहिन्छ ? जाऊ, जसरी बाघलाई आफ्नो मित्र बनायौ, त्यसैगरी पतिमा पनि प्रेमभाव जगाऊ । वास्तविक जडीबुटी पाएको महसुस गरी महिला खुसी हुँदै घर फर्किइन् ।

ad
ad
ad
ad