
सर्वोच्च अदालतले न्यायाधीशको दरबन्दी रिक्त हुँदा सेवाग्राहीलाई समयमै न्याय दिन नसकेको बताएको छ। मंगलबार सर्वोच्च अदालत प्रशासनले पत्रकार सम्मेलन गर्दै सर्वोच्चमा न्यायाधीशको आवश्यक दरबन्दी नहुँदा न्याय सम्पादनमा कठिनाइ भएको जनाएको हो।
पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले न्यायाधीशको दरबन्दी २१ जनाको भए पनि विगत ६ महिनादेखि १६ जना मात्रै कार्यरत रहेका बताए। यसले समयमा न्याय निरूपण गर्न नसकिएको उनको भनाइ छ।
पेसी व्यवस्थापन गर्दा २१ न्यायाधीशलाई नै लक्षित गरेर समूह बनाउने गरिए पनि पर्याप्त न्यायाधीश नहुँदा सेवाग्राहीहरूलाई कठिनाइ भएको उनले प्रस्ट पारे। प्रवक्ता पौडेलले प्रधानन्यायाधीश र न्यायाधीशहरूको नियुक्ति नहुँदा समग्र मुद्दा व्यवस्थापन र अदालतको कार्य सम्पादनमा अवरोध सिर्जना भएकाले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
उनका अनुसार सर्वोच्च अदालतमा ३६ हजार ५ सयभन्दा बढी मुद्दाको लगत रहेको छ। चालू आर्थिक वर्षमा मात्रै ६ हजार ३ सयभन्दा बढी मुद्दा दर्ता भएको र अझै २८ हजार ८ सय ५२ थान मुद्दा फर्स्याैट हुन बाँकी रहेको उनले जानकारी दिए।