
रामेछापको गोकुलगंगा गाउँपालिका– ४ बेतालीमा गएराति आफ्नै घरमा बसिरहेका ८२ वर्षीय वृद्धको खुकुरी प्रहारबाट हत्या भएको छ ।
बेतालीको लिसेखानी टोलमा ८२ वर्षीय शमशेरबहादुर थापामगरको अज्ञात व्यक्तिले खुकुरी प्रहार गरी हत्या गरेको हो । उनी नातिनीसँगै घरमा बसिरहेको अवस्था अज्ञात व्यक्ति खुकुरी प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापामगरका नातिनीहरू चिच्याएपछि छिमेकी र आफन्तले घटनाबारे थाहा पाएका थिए ।
गम्भीर घाइते भएका थापामगरलाई तत्काल उपचारका लागि सदरमुकाम मन्थली ल्याउने क्रममा बीचबाटोमै ज्यान गएको गोकुलगंगा गाउँपालिका– ४ बेतालीका वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार खुकुरी प्रहारबाट थापामगरको टाउकोमा गम्भीर चोट लागेको छ ।
केही दिनअघि बिरामी भएर थापामगरकी श्रीमती उपचारका लागि दुई नातिनी हजुरबुबालाई साथी छाडेर काठमाडौं गएकी थिइन् । थापामगरलाई कसले र किन खुकुरी प्रहार गरी हत्या गरेको भन्ने विषय अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।
‘घटनाका विषयमा मृतकका छोरालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । घटना अलि बढी रहस्यमय भएकाले यसलाई पत्ता लगाउन प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाएका छौँ,’ उनले भने । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरी निरीक्षक रञ्जन गिरीको नेतृत्वमा प्रहरी टोली परिचालन गरेको छ ।
यसअघि पनि करिब दुई महिनाअघि बेतालीकै भीमसेनथानमा ७६ वर्षीय वृद्धा पदमकुमारी खड्काको अज्ञात समूहले हत्या गरेको थियो । एक्लै घरमा बसिरहेकी वृद्धाको अज्ञात समूहले हत्या गरी आधा शरीरमा आगो लगाएर छाडेको अवस्थामा शव फेला परेको थियो ।