मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत १४ मंगलबार १३:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य संस्थाका वास संरचना मर्मतका लागि कोष स्थापना

Read Time : < 1 मिनेट
२०७९ चैत १४ मंगलबार १३:३०:००

स्वास्थ्य संस्थामा रहेका खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी संरचनाहरू समयमा मर्मतसम्भार नहुँदा सेवाग्राहीमा समस्या परेपछि ठाकुरबाबा नगरपालिकाले नीति र  मर्मतसम्भार कोष नै खडा गरेको छ ।

नगरपालिकाले अलपत्र परेका खानेपानी, सरसफाइ र स्वच्छताका संरचनाहरूको मर्मतसम्भारका लागि मर्मत–सम्भार नीति, २०७९ ल्याएको हो । सानोभन्दा सानो बजेटको व्यवस्थापन नहुँदा स्वास्थ्य संस्थामा रहेका हेन्डपम्प, खानेपानीका धारा, बेसिनमा रहेको पानी टुटी, शौचालयलगायतका सामग्री समयमा मर्मतसम्भार हुन सकेको थिएन । समयमा मर्मतसम्भार नहुँदा धेरै बिग्रने, नष्ट हुने र सेवाग्राही मर्कामा पर्ने गरेका थिए । मर्मतका लागि स्वास्थ्य संस्थाका कर्मचारीहरू पटकपटक नगरपालिका धाउनुपर्ने बाध्यता थियो ।

नगरपालिकाले मर्मतसम्भार नीति, संरचनाहरूको मर्मतसम्भार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि ल्याएपछि अब स्वास्थ्य संस्थाहरूलाई सहज हुने भएको हो । कार्यविधिअनुसार स्वास्थ्य संस्थाहरूले २० हजारसम्मको रकम आफैँले खर्च गर्न सक्ने भएका छन् । त्यसभन्दा बढी लाग्ने रकम अनलाइनमार्फत नगरपालिकाबाट माग गर्न सक्नेछन् । माग गरिएको रकम नगरपालिकाले तत्कालै मर्मतसम्भार कोषबाट खर्च गर्न सक्नेछ ।

कुन स्वास्थ्य संस्थामा कस्तो सामग्री बिग्रेको छ, नगरपालिकाको सफ्टवेयरमा अपडेट गरी तुरुन्त मर्मतसम्भार गरिने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताए । स्वास्थ्य संस्थाका अलावा अन्य निकायमा पनि समस्या देखिएको भए पनि स्वास्थ्य संस्थामा अतिआवश्यक भएकाले पहिले यहीँबाट सुरु गरिएको उनले बताए ।