मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत १४ मंगलबार १२:४३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा आगलागीबाट करिब ८० लाखको क्षति

Read Time : > 1 मिनेट
२०७९ चैत १४ मंगलबार १२:४३:००

धनकुटा नगरपालिका– ७ हुलाकटोलस्थित जनविश्वास अपसेट प्रेसमा आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला अस्पताल धनकुटाअगाडि मुख्य बजार क्षेत्रमा रहेको प्रेसमा आज बिहान साढे ६ बजेतिर आगलागी भएको थियो ।

उक्त आगलागी धनकुटा नगरपालिकाको दमकलको सहयोगमा स्थानीय र प्रहरीले आधा घन्टापछि नियन्त्रणमा लिएका थिए । राधा लिम्बूको घर भाडामा लिएर दाजुबहिनी सञ्जयसन्तोषी राई र विमलसन्तोषी राईले प्रेस सञ्चालन गर्दै आएका थिए । बिहान प्रेसमा कोही मान्छे नभएको वेला अचानक आगो लागेको प्रेसका सञ्चालक सञ्जयसन्तोषी राईले बताए । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । प्रेसको भवनसँग अन्य घरहरू पनि सँगै जोडिएका छन् । छिटो आगो नियन्त्रण भएकाले आगो फैलिनबाट जोगिएको छ ।

आगोले प्रेसको मेसिनसहित अन्य सामानहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगोले प्रेससहितका अन्यमा सामानहरू जल्दा करिब ५०–५५ लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी नरेन्द्र कुँवरले बताए । 

यसैबीच धनकुटाको महालक्ष्मी नगरपालिका– २ सान्नेटारस्थित धर्मदेवी सालबोटे सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट भएका छन् । आगलागीबाट सान्नेटारका राजकुमार कट्टेल, चेतबहादुर राय, कमल बस्नेत र सुमन बस्नेतको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कट्टेलको तीनतले घरसहित घरभित्र रहेको लत्ताकपडा, भाँडावर्तन, अन्नपात जलेका छन् । आगलागीबाट करिब १६ लाखबराबरको धनमाल क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

त्यस्तै, रायको दुईतले घर आगोले जलेर नष्ट भएको छ । उनको घरसहित सबै सामानहरू जलेर नष्ट हुँदा करिब आठ लाखबराबरको क्षति भएको छ भने कमल बस्नेतको दुईतले घरसहित गोठ र सुमन बस्नेतको दुईतले घर जलेको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।