Skip This
कोसी नाम स्वीकार गर्न चार ठूला दलको आग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Saturday, 27 July, 2024
गणेश लम्साल विराटनगर
२o७९ चैत १४ मंगलबार o७:३३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोसी नाम स्वीकार गर्न चार ठूला दलको आग्रह

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार o७:३३:oo

पहिचान पक्षधरको दोस्रो चरणको आन्दोलन जारी, प्रदर्शनमा सहभागी हुँदा मृत्यु भएका पदम लिम्बूको परिवारलाई तीन लाख क्षतिपूर्ति दिने निर्णय

कोसी प्रदेशका चार ठूला दलले संविधानअनुसार प्रदेश सभाबाट टुंगो लागेको नाम स्वीकार गर्न आग्रह गरेका छन् । कांग्रेस, एमाले, माओवादी र राप्रपाले संयुक्त विज्ञप्ति जारी गर्दै संवैधानिक प्रावधानअनुसार नामाकरण भएको विषयलाई भड्काएर सामाजिक सद्भाव नभड्काउन र नाम स्वीकार गर्न आग्रह गरेका हुन् । 

संयुक्त रूपमा विज्ञप्ति जारी गर्नेमा कांग्रेस कोसी प्रदेशका सभापति उद्धव थापा, एमाले कोसी प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपाने, माओवादी कोसी प्रदेश समिति सचिव गणेश उप्रेती र राप्रपा कोसी प्रदेश अध्यक्ष राम थापा छन् । उनीहरूले संविधानअनुसार जनादेश प्राप्त भएमा कोसी प्रदेशको नाम संशोधन पनि हुन सक्ने भएकाले विधि र प्रक्रियाअनुसार लागिपर्न र शान्तिपूर्ण वातावरण बनाउन पहिचान पक्षधरहरूसँग आग्रह गरेका छन् । 

आइतबार जारी विज्ञप्तिमा पहिलो कार्यकालमा प्रदेशको नामाकरण गर्न नसक्दा देश–विदेशमा गलत सन्देश गएकाले नामविहीन प्रदेशलाई नाम दिनुपर्ने बाध्यता भएको र सबै दलको सहमतिबाटै दुईतिहाइभन्दा बढी बहुमतबाट कोसी प्रदेश नामाकरण टुंगो लागेको उल्लेख छ ।

प्रदेशको नाम कोसी टुंगो लागेपछि आक्रोशित पहिचान पक्षधरहरूले ५ चैतसम्म पहिलो चरणको आन्दोलन सम्पन्न गरेका थिए । उनीहरूले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । जसअन्तर्गत १० देखि १४ चैतसम्म गाउँ–सहरमा कोसी प्रदेश खारेजी माग गर्दै मार्च पास अभियान चलाउने, कोसी प्रदेश र काठमाडौंमा विरोधसभा गर्ने, कोसी प्रदेश लेखिएका साइनबोर्ड हटाउने र लेटरप्याड च्यात्नेसम्मको छ । 

पहिलो चरणमा घोषणा गरिएका सांसद बहिष्कार गर्नेदेखि तालाबन्दी गर्नेलगायतका कार्यक्रमलाई पनि उनीहरूले निरन्तरता दिएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभाबाट नामाकरण टुंगो लागेकाले कोसी नाम खारेज होइन, संशोधनका लागि छलफलसमेत नहुने प्रतिक्रिया दिएपछि पहिचान पक्षधर थप आक्रोशित बनेका थिए । 

कोसी नाम खारेजीको माग गर्दै प्रदर्शनमा सहभागी हुँदा घाइते भएर उपचारका क्रममा मृत्यु भएका पदम लिम्बूको परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । सोमबार बसेको कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको हो । ५ चैतमा विराटनगरमा भएको पहिचान पक्षधरहरूको प्रदर्शनमा लिम्बू घाइते भएका थिए । उनको उपचारको क्रममा धरानस्थित बिपी स्वास्थ्य प्रतिष्ठानमा १० चैतमा मृत्यु भएको थियो । 

प्रदेश सरकारले ५ चैतमा विराटनगरमा भएको पहिचान पक्षधर र प्रहरीबीचको झडपको घटना छानबिन गर्ने समितिलाई सहयोग गर्ने निर्णय पनि गरेको छ । संघीय सरकारले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । 

प्रहरीले प्रदर्शनकारीहरूले प्रहरीलाई प्रहार गरेको लाठी लागेर लिम्बू घाइते भएको दाबी गरेको छ । दोहोरो झडप भएपछि लिम्बू प्रदर्शनकारीलाई शान्त पार्न अग्रपंक्तिमा रहेर प्रहरीको अगाडि खटिएका थिए । सोही क्रममा प्रदर्शनकारीले प्रहरीलाई प्रहार गरेको लाठी लिम्बूलाई लागेको र उनी लड्खडाउँदै भिडबाट बाहिर निस्किएको भिडियोमा प्रस्ट देखिएको प्रहरीको दाबी छ ।