एक पिता कुनै किताब पढ्न व्यस्त थिए । तर, उनका १० वर्षीय छोराले नजिक आएर उनलाई तालतालका प्रश्न सोधेर हैरान पारिरहेका थिए । आफूले जतिसुकै सम्झाउँदा वा हप्काउँदा पनि छोरामा कुनै असर नपरेको देखेर पितालाई कुनै अर्कै काममा छोरालाई अल्झाउन पाए हुन्थ्यो कि भन्ने लाग्यो । उनले नजिकै रहेको एउटा पुरानो किताब उठाएर पाना पल्टाए ।
त्यसमा विश्वको नक्सा छापिएको थियो । उनले त्यो पाना ध्यार्र च्याते र त्यसलाई कैयौँ टुक्रामा काटेर मिसमास पारे । अनि, छोरालाई दिँदै भने– बाबु, यो विश्वको नक्सा हो । अब तिमी यी टुक्रालाई जोडेर नक्सा पूरा गरेर बाबालाई देखाऊ ल !
खुसी हुँदै बालक तत्काल काममा जुटे । पिता पनि अब दुई–चार घन्टासम्म ढुक्कले पढ्न पाइने भयो भनेर मक्ख परे । तर आश्चर्य ! मुस्किलले पाँच मिनेट बितेको थियो होला, बालकले ती सबै टुक्राहरू जोडेर विश्वको नक्सा तयार गरे र पितालाई देखाए । छोराले त्यति कठिन काम पनि कुशलतापूर्वक छोटो समयमै पूरा गरेको देख्दा खुसी हुनुको साटो उनी छक्क परे ।
उनले छोरालाई प्रश्न गरे– तिमीले यति छिटै कसरी यो काम पूरा गर्यौ ? जब कि यो काम निकै कठिन थियो ।छोराले जवाफ दिए– यस्तो काम केको कठिन हुनु नि बाबा ? हजुरले मलाई जुन पेज काटेर दिनुभएको थियो, त्यसको पछाडिपट्टि एउटा कार्टुन चित्र थियो ।
मैले त्यही चित्रलाई आपसमा मिलाउँदै गएँ, अर्कातिर यो विश्वको नक्सा तयार भयो । यति भनेर छोरा खेल्न बाहिरतिर गए । पिताले छोरा गरेको काम र दिएको जवाफबाट हरेक समस्याको समाधान फरक–फरक तरिकाबाट सम्भव हुँदो रहेछ भन्ने मूल्यवान् पाठ सिके ।