मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत १३ सोमबार २३:२४:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सातदोबाटोलाई पन्छाउँदै हिमालयन शेर्पा अन्तिम चारमा

जितपुर-सिमरा गोल्डकप

Read Time : > 1 मिनेट
२०७९ चैत १३ सोमबार २३:२४:००

‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पन्छाउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी १३औँ जगदम्बा जितपुर–सिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालु सिजनको ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रंगशालामा पहिलो सहभागितामै निराश बन्न पुग्यो । 

पहिलो हाफको ३५औँ मिनेटमा सातदोबाटोका कप्तान सुदीप गुरुङले टिमलाई अग्रता दिलाएका थिए । हिमालयन शेर्पाका डिफेन्डर म्यानुअल नानाको गल्तीको फाइदा उठाउँदै सातदोबाटोका कप्तान सुदीपले बललाई सहजै गोलपोष्टको दिशा दिएका थिए । 

सातदोबाटोका पासाङ लामाले गरेको प्रहार नानाले अनटाइम क्लिएर गर्न नसक्दा त्यसको फाइदा सुदिपले लिएका थिए । 

पहिलो हाफको इन्ज्युरी समयमा हिमालयन शेर्पाका सुशील राईले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । विश्वास श्रेष्ठको क्रस बल सातदोबाटोका डिफेन्डर करण रावतले क्लिएर गर्न नसक्दा त्यसको फाइदा हिमालयन शेर्पाले लियो । 

करणले हेडरमार्फत क्लिएर गर्न नसकेको बल खोस्दै हिमालयनका अफ्रिकी खेलाडी अवायोमीले सुशीललाई डिबक्सभित्र सटिक पास उपलब्ध गराएका थिए । सुशीलले पहिलो हाफको दुई मिनेटको इन्ज्युरी समयको केही सेकेन्ड बाँकी छँदा टिमलाई खेलमा फर्काए । 

दोस्रो हाफको अन्तिम समयमा हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमीले उत्कृष्ट हेडर गोल गर्दै सेमिफाइनलमा मकवानपुर ११ सँगको भेट पक्का गरे । 

हिमालयन शेर्पाका मिडफिल्डर सत्यम शर्माले कर्नर एरियाबाट प्रहार गरेको एयर बलमा डिबक्स भित्रबाट अवायोमीले हेडर गोल गर्दा सातदोबाटाका गोलरक्षक निशान्त थापामगरले बचाउको प्रयास सम्म गर्न भ्याएनन् ।

प्रतियोगिताको दोश्रो संस्करणमा उपाधिजितेको हिमालयन शेर्पाले अब फाइनल प्रवेशकालागि बुधबार हुने पहिलो सेमिफाइनलमा मोफसलको टिम मकवानपुर ११ सँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको १२औँ मिनटमा सातदोबाटोका सुशील लामा उत्कृष्ट अवसर खेर फालेका थिए । अफ्रिकी खेलाडी विलियमले डिबक्स भित्रदिएको सटिक पासमाउनको प्रहार क्रसबार माथिबाट बाहिरियो ।

२२औँ मिनटमा सातदोबाटोका विलियमको फ्रिकिक बल हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गरे । २८औँ मिनटमा सातदोबाटोका निरज चौधरीले अर्को अवसर खेर फाले । विलियमले डिबक्स भित्रदिएको पासमा निरजको प्रहारले गोल पोष्टको दिशालिन सकेन ।

खेलको ७४औँ मिनटमा सातदोबाटोका निरज चौधरीले किपर विट भइसकेको अवस्था खेर फाले । सेन्टरलाइनबाट बलअघि बढाएका निरजले खालीपोष्टमा डेलिभरी गर्न नसक्दा हिमालयनका डिफेन्डरले बल क्लिएर गर्दै संकट टारे ।

खेलको पाँचौँ मिनटमा विश्वास श्रेष्ठको प्रहार क्रसबारबाट बाहिरियो । डिबक्स भित्रै पाएको बललाई हिमालयन शेर्पाका कप्तान विश्वासले गोलमा परिणत गर्न सकेनन् ।

खेलको आठौँ मिनटमा निशान लिम्बुको प्रहार गोलपोष्टमा लागेर फर्कियो । विश्वास श्रेष्ठको पासमा डिबक्स बाहिरबाट निशानले शसक्त प्रहार गरेका थिए । खेलको ३१औँ मिनटमा विश्वास श्रेष्ठको पासमा निशान लिम्बुको प्रहार सातदोबाटोका गोल रक्षकले बचाउ गरे ।

खेलको ५५औँ मिनटमा हिमालयन शेर्पाका सुशील राईको शसक्त प्रहार सातदोबाटोका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । विश्वास श्रेष्ठको कर्नर बलमा पेनाल्टी एरियाबाट सुशीलले गरेको सशक्त प्रहार सातदोबाटोका गोलरक्षक निशान थापामगरले पन्च गरेर जोगाए । 

खेलको म्यान अफ दि म्याच हिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमी घोषित भए । उनले दशहजार नगद सहित ट्रफि प्राप्त गरे । प्रतियोगिताअन्तर्गत मंगलबार अन्तिम क्वार्टरफाइनलमा ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडले विभागीय टिम एपिएफ क्लबको सामना गर्नेछ ।