2023-03-27-02-13-50.jpeg)
ललितपुर महानगरपालिका र वाटर एडले महानगरपालिकाभित्रका सार्वजनिक शौचालयहरूको संयुक्त रूपमा निरीक्षण गरेका छन् ।
अनुगमनका क्रममा महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले शौचालयको अवस्था सुधार गर्न तत्काल गर्नुपर्ने कुराहरू तयार पारिएको बताइन् ।
सार्वजनिक शौचालयहरू महिलामैत्री, अपांगमैत्री, बालबालिकामैत्री बनाउन र सरसफाइमा पनि ध्यान दिन उत्तिकै आवश्यक रहेको उनको भनाइ छ । उपमेयर शाक्यले पहिले बनिसकेको शौचालयलाई स्तराेन्नति गर्दै बालबालिका, अपांग तथा महिलामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
ललितपुर महानगरपालिकाले प्रत्येक वडामा सुविधासम्पन्न सार्वजनिक शौचालय छिट्टै बनाउने उनको भनाइ छ । ‘काठमाडौंमा सार्वजनिक शौचालयको समस्या अहिलेको ठूलो चुनौती बन्दै गएको छ । हस्पिटल, रेस्टुरेन्ट, बैंक, सुपरमार्केटलगायतका ठाउँहरूमा गएर चर्पी बस्नुपर्ने अवस्था छ,’ उनले भनिन् ।