Skip This
गाउँमै मुटुको विशेषज्ञ सेवाले स्थानीय खुसी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १३ सोमबार
  • Saturday, 27 July, 2024
२o७९ चैत १३ सोमबार ११:४२:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

गाउँमै मुटुको विशेषज्ञ सेवाले स्थानीय खुसी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १३ सोमबार ११:४२:oo

धुर्कोट गाउँपालिका– ७ का ८४ वर्ष ऋषिराम खनाल उच्च रक्तचाप र नसाको समस्या भएकाले फलोअपको लागि वेला–वेलामा काठमाडाैं पुग्थे। उनले उमेरअनुसार धेरै टाढा यात्रा गर्न सकस हुने भएकाले समयमै जाँच गर्न पाएका थिएनन्। 

संयोगले मालिका गाउँपालिकाले मालिका गाउँपालिका– ८ को सिमलटारीमा मुटु जाँचसम्बन्धी शिविर आयोजना गर्‍याे। खनाल शिविरमा पुगेर स्वास्थ्य परीक्षण गराउन पाएपछि खुसी थिए। खर्च गरेर दुःखका साथ काठमाडाैं पनि पुग्नै परेन। 

मालिका गाउँपालिका– ७ का ७७ वर्षीय भेषबहादुर लम्साल पनि शिविरमा पुगेर स्वास्थ्य परीक्षण गरे। टाउको र मुटु दुख्ने समस्याले लामो समयदेखि पीडित थिए। जिल्लामा विशेषज्ञ डाक्टर पाउन मुस्किल पर्छ। 

उनले गाउँमै आएको विशेषज्ञ डाक्टरसहितको शिविरमा इसिजी, इको र रगत परीक्षण गरे । तर, केही पनि समस्या देखिएन। उनी गाउँमै शिविर नभएको भए बुटवल जाने योजना बनाएका थिए। 

‘टाउको र पेट दुखेर आतिन्थेँ। सबै चेक गरेपछि केही रहेनछ, ढुक्क भएँ,’ उनले भने, ‘निकै खुसी छु, बुटवल जान नपरेपछि पैसो पनि जोगियो।’ 

गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विशाल केसी, डाक्टर समीर गौतम, डाक्टर सरोजकुमार पञ्जियार र जनरल फिजिसियन डाक्टर मिलन पोख्रेलले शिविरमा बिशेषज्ञ सेवा प्रदान गरेका थिए। 

१३ सयभन्दा बढीले लिए सेवा

मालिका गाउँपालिकाले गौतम बुद्ध सामुदायिक मुटु अस्पताल, नेपाल नेत्रज्योति संघ, नेपाल हृदय रोग प्रतिष्ठानलगायतका संस्थाहरूसँग सहकार्य गरेर मुटु जाँच शिविरको आयोजना गरेको थियो। शिविरमा मुटु, मिर्गाैला र नसर्ने रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था रहेको थियो।

मुटुको जाँचमा इको र इसिजी, पिसाब, रगतको जाँचहरू, छातीको जाँचसहित औषधि वितरण भएको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका प्रशासन प्रमुख कमल भण्डारीले जानकारी दिए। 

शिविरमा मालिकाका विभिन्न वडासँगै मदाने र धुर्कोटका नागरिकले पनि सेवा लिएका थिए। शिविरमा कुल एक हजार तीन सय ३४ जनाले सेवा लिएका छन्। शिविरमा तीन सय १७ जनाले इको, पाँच सय ९२ जनाले इसिजी, एक सय ६७ जनाले ल्याबको सेवा लिएका छन्।

त्यस्तै ५९ जनाले पिएटी र अन्य रोगका सयजनाले सेवा लिएको मालिका गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त भुसालले जानकारी दिए। 

बाथमुटुको सचेतना आवश्यक : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. केसी

गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विशाल केसीले गाउँका शिविरहरूमा बाथमुटुको समस्या भएका धेरै बिरामी फेला पर्ने भएकाले सचेतना आवश्यक रहेको बताए। 

मुटुरोग भएको जानकारी नहुने, उपचार राम्रो नहुने, उपचार गरेर निको हुने मुटुरोगबारे राम्रो सल्लाह नहुने समस्याका कारण बिरामी धेरै देखिएको केसीले बताए। 

बाथमुटुको समस्या पहिचान भए उपचार निःशुल्क हुने भएकाले स्थानीय सरकारले विद्यालय तथा सामुदायिक स्वास्थ्य सचेतना गराउने, स्वास्थ्य संस्थाहरूलाई अब्बल बनाउने, विपन्नलाई निःशुल्क परीक्षण र औषधिको व्यवस्था गर्न सुझाव दिए। 

उनले पालिकास्तरमा कम्तीमा मेडिकल अधिकृत मात्रै भए पनि धेरै रोगको प्रारम्भिक अवस्था पत्ता लाग्ने, समयमै रेफर हुने र उचित सल्लाह पाउन सकिने बताए। नसर्ने रोगमध्ये समुदायमा ठूलो समस्या बन्दै गएको मुटु र मिर्गाैलाको समस्यालाई लाग्नै नदिन रोग च्यापेर नबस्ने, खानपानमा र व्यायाममा ध्यान दिने र टन्सिलको समयमै उपचार गर्नुपर्नेमा जोड दिए। 

स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै गाउँपालिका

मालिका गाउँपालिकाले स्थानीय तहसँगै गाउँगाउँमा विभिन्न किसिमका शिविरको आयोजना गर्ने गरेको छ। मालिका गाउँपालिका प्रमुख देवीराम अर्यालले नागरिकको स्वास्थ्यलाई सधैँ प्राथमिकतामा राखेकाले आँखा, मुटु र पाठेघरको रोगसम्बन्धी शिविरहरू नियमित रूपमा गर्दै आएको बताए।

‘नागरिकको जीवनभन्दा ठूलो कुरा केही होइन। जसका कारण शिविर, स्वास्थ्य संस्थाहरूको सबलीकरण तथा जनशक्तिमा थुप्रै बजेट खर्च गरेका छौँ,’ उनले भने, ‘अभियानलाई निरन्तरता दिन्छौँ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकाश खनालले शिविरको मुख्य उद्देश्य गरिब, विपन्न र उमेर ढल्किएका ज्येष्ठ नागरिकको गाउँमा मुटुसम्बन्धी समस्याको पहिचान गर्ने रहेको बताए।

आर्थिक अवस्थाको कारण स्तरीय अस्पताल पुग्न नसक्नेहरूलाई निःशुल्क मुटुको परीक्षण गराएर सचेत बनाउन खोजिएको खनालले बताए। उनले शिविरमा उपलब्ध निःशुल्क सेवा र विशेषज्ञ भेट्न बुटवल अथवा काठमाडाैं पुग्दा थुप्रै रकम खर्च हुने भएकाले विपन्नका लागि निकै उपयोगी भएको प्रतिक्रिया दिए।