
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरूले देखाएको बाटोमा वर्तमान कांग्रेस नेताहरू हिँड्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा पूर्वमन्त्री स्व. नवीन्द्रराज जोशीको सालिक अनावरण कार्यक्रममा बोल्दै नेता सिंहले मूल्य–मान्यता र आदर्शको राजनीतिमा नेताहरू हिँड्न आवश्यक रहेको बताएका हुन् ।
उनले ०४६ सम्म मूल्य–मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरूले दिएको उल्लेख गर्दै ०४६ को परिवर्तनपछि संस्थापक नेताहरूले देखाएको बाटोमा कांग्रेस नेताहरू कत्तिको हिँडेका छौँ भन्ने कुराको मनन गर्न आवश्यक रहेको बताए ।
उनले शक्तिकेन्द्रित राजनीतिमा आफ्नो सिद्धान्तको ख्याल गरिएको छ कि छैन भन्ने कुरामा सोच्न जरुरी रहेको बताए। नेता सिंहले स्व. जोशीले देशमा प्रजातन्त्र ल्याउन र पुनर्वहाली गराउन गरेको देन समाजले सम्झिरहने बताए ।