Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कलंकी–बल्खु खण्डको एक किलोमिटर सर्भिस लेन धसिएपछि पुनः मर्मतका लागि भत्काइँदै ।
शिवहरि घिमिरे काठमाडाैं
२०७९ चैत १३ सोमबार ०७:५९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

३४ करोडमा बनेको चक्रपथको सर्भिस लेन तीन वर्षमै धसियो

विश्व बैंकको तीन करोड ५० लाख सहुलियत ऋणमा मर्मत हुँदै, २० दिनभित्र बनिसक्ने

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ चैत १३ सोमबार ०७:५९:००

चक्रपथ सुधार आयोजनाले तीन वर्षअघि ३४ करोडमा निर्माण गरेको कलंकी–बल्खु खण्डको एक किलोमिटर सर्भिस लेन धसिएको छ । कलंकीदेखि बल्खुको खसीबजारसम्मको सर्भिस लेन चर्किनुका साथै धसिएपछि पुनः मर्मतका लागि सडक डिभिजन कार्यालय काठमाडौंले उक्त सडक भत्काएको छ ।

कार्यालयका अनुसार एक किलोमिटर सडकमा ‘फल्ट’ देखिएको छ । तीन वर्षअघि यो सडक बनाउँदा करिब ३४ करोड २९ हजार खर्च भएको थियो । उक्त सडक मर्मतका लागि अहिले तीन करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । पहिला सडक निर्माण गर्दा कालोपत्रेमुनिको सतह नमिलेकाले धसिएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ । धसिएको खण्ड बनाएर पुनः कालोपत्रे गर्न लागिएको हो । पुनः निर्माणको जिम्मेवारी वल्र्डवाइड–पिआर–एसके जेभीलाई दिइएको छ । यही कम्पनीले लैनचौर–महाराजगन्ज, लैनचौर रिङरोडदेखि बालाजु बाइपास, साँखु–लप्सीफेदी–भोटेचौरको सडक कालोपत्रे गर्दै छ । कम्पनीले पहिलो खण्डमा धसिएको कलंकीतर्फको सडक बनाउनेछ ।

 विश्व बैंकको अनुदान ऋणमा पुनर्निर्माण सुरु
सडक धसिएको र चर्किएको गुनासो आएपछि डिभिजन कार्यालयको इन्जिनियरले अध्ययन गरेका थिए । अध्ययनका क्रममा कालोपत्रेमुनिको बेसमा त्रुटि फेला परेको थियो । उक्त त्रुटि सच्याउँदै पुनः निर्माणका लागि विश्व बैंकले सहुलियत ऋण दिएको डिभिजन कार्यालय प्रमुख नारायण निहुरेले जानकारी दिए । उनका अनुसार त्यतिवेलाको डिजाइन फल्ट पनि देखिएको छ । ‘सडकको डिजाइनदेखि स्ट्रक्चरसम्ममा कमजोरी देखियो, चर्केने, फुट्ने र धसिने भएपछि मर्मत थालेका हौँ,’ उनले भने, ‘२० दिनभित्र कालोपत्रे भइसक्छ ।’

चक्रपथ विस्तार आयोजनाले कन्टेक–खरी ढुंगा जेभीलाई २८ असार ०७४ मा ठेक्का दिएको थियो । दुईपटक म्याद थपेर उक्त कम्पनीले ६ असार ०७६ मा निर्माण सकेको थियो । त्यतिवेला आयोजनाले सडकको क्षेत्रफल र निर्माणको गुणस्तर नापजाँच गरी ठेकेदार कम्पनीलाई अन्तिम भुक्तानी गरेको थियो । तर, एक दशमलव सात किलोमिटर उक्त सर्भिस लेनको एक किमि भने तीन वर्षमै ‘फेलियर’ भयो । 

आयोजनाकी सूचना अधिकारी सुमित्रा अधिकारीले चिनियाँ कम्पनीकै डिजाइनअनुसार सर्भिस लेन निर्माण गरिएको दाबी गरिन् । ‘हाल भत्काइएको खण्ड पनि चिनियाँ डिजाइनअनुसार नै काम भएको हो, तर तीन वर्षमै चर्कियो,’ उनले भनिन् । उनले पुरानो ठेकेदारलाई कारबाही गर्ने र त्यतिवेलाको निर्माण प्रक्रियाबारे आफूलाई थाहा नभएको बताइन् ।

 मुआब्जाको विवादले रोकियो साइड लेन विस्तार
सातदोबाटो–कलंकी खण्डको चक्रपथ विस्तारका क्रममा मुआब्जा नदिई घर भत्काउन थालेपछि स्थानीयले अदालतमा निवेदन दर्ता गरेका थिए । उच्च अदालत पाटनले मुआब्जा नदिई साइड लेन विस्तार नगर्न तत्काल आदेश जारी गरेको थियो । 

यस खण्डमा साइड लेन विस्तार हुन नसक्नुको कारण मुआब्जा विवाद र बजेट अभाव रहेको आयोजनाले जनाएको छ । आयोजनाकी सूचना अधिकारी सुमित्रा अधिकारीले साइड क्लियर नहुँदा विस्तार गर्न नसकिएको जानकारी दिइन् । साइड लेन विस्तार गर्न कम्तीमा २० करोड बजेट लाग्छ । आयोजनाले यसका लागि बजेट नै नछुट्याएको उनले बताइन ।

सातदोबाटो क्षेत्रमा २० घर र बल्खु–कलंकी क्षेत्रमा पाँचवटा घरको मुआब्जा दिन बाँकी छ । आयोजनाले कलंकी–महाराजगन्ज क्षेत्रमा भने काम सुरु गरेको छ । चिनियाँ पक्षले भित्री लेन निर्माण सुरु गर्ने सहमति जनाएपछि नेपाल पक्षले साइड लेन, वाल लगाउने, ढल व्यवस्थित गर्नेलगायत काम सुरु गरेको हो । साइड लेन विस्तार नहुनु र मुख्य सडकको पिच पनि भत्काउँदा यतिवेला चक्रपथ अस्तव्यस्त बनेको छ । त्यस्तै, यही सडकमा ‘फ्लाई ओभर’ राख्न ग्वार्को–बालकुमारीको मुख्य लेन भत्काइएको छ ।