Skip This
संगठनको साख र स्वाभिमान गुम्न दिन्नँ : महानिरीक्षक कुँवर 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १२ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १२ आइतबार १७:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

संगठनको साख र स्वाभिमान गुम्न दिन्नँ : महानिरीक्षक कुँवर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १२ आइतबार १७:२९:oo

नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी संगठनको साख र स्वाभिमान गुम्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार प्रहरी प्रधान कार्यालयमा पदबहालीपछि निर्देशन दिँदै यसका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए।

‘म यो संगठनको स्वाभिमान र साख गुम्न नदिन यहाँहरू सबैसँग आ–आफ्नो क्षेत्रबाट रचनात्मक क्रियाशीलताको अपेक्षा गर्दछु। संगठनको हित प्रति केन्द्रित यहाँहरूको प्रयास र योजनाका लागि मेरो ढोका सदैव खुला रहने विश्वास दिलाउन चाहन्छु,’ उनले भने, ‘क्षमता गुमेपछि आत्मविश्वास गुम्छ, आत्मविश्वास गुमाएपछि त्यो संगठनमा आबद्ध व्यक्तिहरूको स्वाभिमान गुम्छ भन्ने कुरा सबैले मनन गर्नुपर्छ।’ 

कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धीकरण आफ्नो कार्यकालको पहिलो र मूल प्राथमिकता रहेको बताएका छन्। 

अहिले संगठनका सामु समस्याका चाङहरू रहेको, संगठनको दुर्बल र सबल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका निदानका उपायहरू अवलम्बन गर्नुको टड्कारो आवश्यकता रहेको बताउँदै नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने र यसका लागि सामूहिक प्रयास एवं सामूहिक प्रतिबद्धता जरुरी रहेको उनले बताए।

व्यावसायिकता, पारदर्शिता एवं आर्थिक अनुशासन कायम राख्दै सभ्य तथा शिष्ट तवरबाट नागरिकलाई प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू संकल्पित हुनुपर्ने उनको निर्देशन छ। 

नेपाल प्रहरी नागरिक प्रशासनको सबैभन्दा संवेदनशील संस्था भएको, संगठन सदैव जनमुखी, पारदर्शी र कानुनले निर्देशित गरेको मूल्यमान्यताका आधारमा सञ्चालित हुनुको अर्को विकल्प नभएको उल्लेख उनको भनाइ थियो। 

मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणाअनुरूप नेपालको संविधान, प्रचलित ऐन–कानुनहरू र नेपाल सरकारको नीति निर्देशनबमोजिम परिचालित हुनु नेपाल प्रहरीको मूल दायित्व रहेको उनले बताए।   

गैर व्यावसायिक आचरण र व्यवहार कुनै हालतमा सह्य नहुने बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भने ‘अपराधीहरूलाई कानुनको दायरामा ल्याउनेलगायतका जिम्मेवारी बहनको सिलसिलामा प्रहरी कर्मचारीबाट अकर्मण्यता, लापरबाही र उदासीनता भएमा त्यो कुनै पनि हालतमा क्षम्य हुनेछैन।’ 

साथै, सहकर्मी अधिकृतहरूलाई कुनै पनि पूर्वाग्रह र स्वार्थबिना एकै साथ मिलेर, एक ढिक्का भएर संगठनको गरिमालाई थप उचाइमा पुर्‍याउन एकमतको सांगठनिक दूरदृष्टि बनाएर हरेक कदमसँगै हिँड्नसमेत अनुरोध गरेका छन्। 

संगठनमा रहेका मातहत दर्जाका प्रहरी कर्मचारीहरूको भलाइका लागि गर्न सकिने सम्पूर्ण प्रयास गर्ने र जुनसुकै प्रहरी कर्मचारीले बिनाहिच्किचाहट र व्यवधानका साथ आफ्नो वास्तविकता संगठन प्रमुखसमक्ष राख्न सक्ने मैत्रीपूर्ण व्यवहार र वातावरणको सुनिश्चतता हुने उनको प्रतिबद्धता छ।