
कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ओखलढुंगाका दुईवटा सवारीसाधन दुर्घटनामा परी आठजनाको ज्यान गएको र घाइते भएकाहरूको खर्चको अभावमा उपचार गर्न कठिनाइ भइरहेको भन्दै सरकारसँग सो माग गरेका हुन्।
सांसद खतिवडाले सबै बसहरूमा यात्रुहरूका लागि स्वास्थ्य बिमाको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
सांसद खतिवडाले उच्च तहका व्यक्तिलाई भने राज्यले स्वास्थ्य उपचारको नाममा ठूलो धनराशि खर्च गर्दै आएको, तर सर्वसाधारणले भने खर्चको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले ढिलाइ गर्न नहुने बताए।