Skip This
नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माणमा विद्युत् प्राधिकरणको ताकेता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १२ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १२ आइतबार १२:४८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माणमा विद्युत् प्राधिकरणको ताकेता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १२ आइतबार १२:४८:oo

नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौं (२२०-४००) केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ।

चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा जोड्न नसकी खेर जाने अवस्था आउन नदिन प्राधिकरणले नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ। 

नयाँ खिम्तीमा (४००) केभी सबस्टेसन निर्माण र सबस्टेसनको क्षमता वृद्धिका लागि (२२०-१३२-३३) केभी, २०० एभिए क्षमताको थप पावर ट्रान्सफर्मर जडान कार्य जारी छ।

रामेछापकाे मन्थली नगरपालिका– १३ साँखे (फुलासी) स्थित नयाँ खिम्ती सबस्टेसन देखि सिन्धुपाल्चोकको बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ ४३ किलोमिटर छ।

रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला भएर जाने नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन खण्डमा पर्ने ११८ वटा टावरमध्ये ९३ वटा टावरको जग हालिएको छ। 

‘यो आयोजना सम्पन्न भएमा मध्यभोटेकोसीको विद्युत् सीधै जोड्न सकिने विकल्प देखिएको छ, निर्माण छिटो सम्पन्न गर्न आयोजनाको दातृ निकायबाट पनि बारम्बार ताकेता आइरहेको छ, वर्षायाम सुरु हुनुभन्दा अघिनै जनशक्ति तथा उपकरण थप गरी निर्माणमा तीव्रता दिनुहोस्, स्थानीय समस्या समाधान गरी आगामी साउनभित्र निर्माण सम्पन्न गरी काम गरौँ,’ घिसिङले  भने। 

नयाँ खिम्ती–बाह्रबिसे खण्ड प्रसारण लाइन निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङसी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमले ठेक्का पाएको थियो। तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो। 

यही कम्पनीहरूले नै २२० केभी बाह्रबिसे सबस्टेसन निर्माण गरिरहेको छ। प्राधिकरणले सबस्टेसन निर्माण आगामी असारभित्र सम्पन्न गर्ने समयसीमा दिएको छ। 

प्राधिकरणले चिनियाँ  कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात् १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको थियो। यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बैक जमानत पनि जफत गरिएको थियो।

त्यसपछि प्राधिकरणले गरेको नयाँ टेन्डरमा भारतीय कम्पनी केइसी इन्टरनेसनल लि.ले ठेक्का पाएको थियो। प्राधिकरण र कम्पनीबीच ०७६ को जेठमा ठेक्का सम्झौता भएको थियो।

तामाकोसी–काठमाडौं २२०-४०० केभी प्रसारण लाइन आयोजना बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र  बाह्रबिसेमा २२०-१३२-११ केभी सबस्टेसन निर्माणाधीन छन्। साथै, लप्सीफेदीमा ४००-२२०-१३२-११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ।

तामाकोसी तथा सुनकोसी नदी र ती नदीहरुका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौं प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न लागिएको हो। प्रसारण लाइनमा नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण रहेको छ। 

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले निर्माण गरेको २२०-१३२ केभी, १०० एभिए क्षमताको नयाँ खिम्ती सबस्टेसनको क्षमता विस्तारका लागि काम भइरहेको छ। 

खिम्ती र लिखु नदी करिडोरमा निजी क्षेत्रका जलविद्युत् आयोजनाका विद्युत् जोड्नका लागि नयाँ खिम्ती सबस्टेसनको हालको क्षमताले नधान्ने हुँदा क्षमता विस्तार गर्न लागिएको हो। यसका लागि सबस्टेसनमा ६६.६७ एमभिएका चारवटा, ३० एमभिएका दुईवटा र ६-८ एमभिएको एउटा पावर ट्रान्सफर्मर जडान कार्य भइरहेको छ।