१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १७:३१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

योग तथा प्राकृतिक चिकित्साका लागि  पाठ्यक्रम बनाउँदै मनमोहन विश्वविद्यालय

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १७:३१:oo

आगामी वर्षदेखि स्नातक तहमा पठनपाठन सुरु गर्ने योजनासहित मनमोहन प्राविधिक विश्वविद्यालयले योग तथा  प्राकृतिक शिक्षाका लागि पाठ्यक्रम निर्माण थालेको छ।

विश्वभर प्राकृतिक स्वास्थ्यको बढ्दो मागलाई ख्याल गर्दै कोसी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले देशमै पहिलोपटक उच्च शिक्षामा पढाइ सुरु गराउनका लागि योग तथा प्राकृतिक चिकित्साबारे पाठ्यक्रम निर्माण थालेको हो।

पाठ्यक्रम निर्माणपछि तुरुन्तै अनुमति प्राप्त गरेर प्राकृतिक स्वास्थ्यबारे पहिले स्नातक तहको र त्यसपछि क्रमशः स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने तयारी भइसकेको विश्वविद्यालयका उपकुलपति डा. सुभासश्री पोखरेलले बताए। उनका अनुसार प्राकृतिक चिकित्सामा विश्वभर विश्वास बढेको तर सोअनुसार दक्ष जनशक्तिको चरम अभाव भएकाले देशमै पहिलोपटक मनमोहनले पढाइ सुरु गर्न लागेको हो। उपकुलपति पोखरेलले भने, ‘हामीले  प्राकृतिक स्वास्थ्य शिक्षाका लागि नेपाल र भारतका विज्ञहरूबाट पाठयक्रम निर्माण गराउन थालिसकेका छौँ। आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्ने तयारीमा लागेका छौँ।’ 

मनमोहन विश्विद्यालयका कुलपति तथा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मनमोहनले निर्माण गर्न लागेको प्राकृतिक स्वास्थ्य शिक्षा नीति अत्यन्तै समयसापेक्ष रहेकाले आफूले पनि चाँडो पाठयक्रम निर्माण गरेर कक्षा सञ्चालन गराउन निर्देशन दिइसकेको बताए।

प्राकृतिक स्वास्थ्यविज्ञ डा. जनक बस्नेतले दक्ष जनशक्ति नहुँदा नेपालमा खुलेका प्राकृतिक अस्पतालहरूले दक्ष जनशक्तिको चरम अभाव झेल्नुपरिरहेको बताए। उनका अनुसार हाल नेपालमा खुलेका नेचुरोप्याथी अस्पतालहरू भारतबाट चिकित्सक र अन्य जनशक्ति ल्याउन बाध्य छन्। काठमाडौंमा प्राकृतिक अस्पतालसमेत सञ्चालन गरिरहेका डा. बस्नेतका अनुसार  भारतमा ४० भन्दा बढी शिक्षालयमा प्राकृतिक स्वास्थ्यबारे उच्च शिक्षा तहको पढाइ भइरहेको छ। तर, नेपालमा भने विश्वविद्यालय तहमा समेत अझै यसको पठनपाठन सुरु हुन सकेको छैन।

प्राकृतिक स्वास्थ्य चिकित्साले मानिसलाई बढ्दो मानसिक समस्याबाट जोगाउन र आत्महत्या गर्नुपर्नेजस्ता बाध्यताबाट जोगाउन पनि सहयोग गर्ने डा. बस्नेत बताउँछन्। प्राकृतिक चिकित्सा औषधिरहित उपचार गर्ने विधि हो।