Skip This
कांग्रेसलाई अब भाग्ने छुट छैन : उपसभापति गुरुङ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत ११ शनिबार
  • Wednesday, 17 September, 2025
२o७९ चैत ११ शनिबार १६:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसलाई अब भाग्ने छुट छैन : उपसभापति गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ११ शनिबार १६:४२:oo

कांग्रेस उपसभापति धनराज गुरुङले देशमा राजनीतिक तरलता छ भनेर कांग्रेसलाई भाग्ने छुट अब नभएको बताएका छन्। उनले अहिलेका १० राजनीतिक दललाई नेतृत्व गरेको कांग्रेसले स्थायी सरकार दिएर देशलाई पाँचै वर्ष नेतृत्व प्रदान गर्नुपर्ने बताए।

हेटौँडामा शनिबारबाट सुरु भएको नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै संघीय सांसदसमेत रहेका गुरुङले सरकारमा गएपछि काम गर्न सकिएन भन्ने छुट कांग्रेसका मन्त्रीहरूलाई नहुने बताए। ‘अरू पार्टीका नेता मन्त्रीहरूलाई काम गर्न सकिएन भन्ने छुट होला। तर, कांग्रेसबाट मन्त्री बन्नेहरूलाई हुँदैन। कांग्रेसबाट खाली झन्डा हल्लाउनका लागि र हल्लेर हिंड्नका लागि मन्त्री हुने हैन। काम गर्नका लागि हुने हो,’ उनले भने।

उपसभापति गुरुङले काम नगर्ने मन्त्रीहरूलाई पार्टीले तत्काल फिर्ता बोलाउने प्रस्ट पारे। उनले यो अन्तिम अवसर हुन सक्ने भन्दै सचते बन्न पनि आग्रह गरे। मुलुक आर्थिक संकटउन्मुख भइरहेको संकेत गर्दै यसबाट मुलुकलाई बाहिर निकाल्न नसके आफूहरू नालायक साबित हुने बताए।

‘नालायकहरूले देश चलाइरहनुपर्छ, सिंहदरबार गइरहनुपर्छ भन्ने मलाई लाग्दैन। इतिहासमा कांग्रेसलाई नालायक बन्न दिन्नौँ भन्ने पनि उत्तिकै हामीसँग प्रण छ,’ उनले भने,  ‘जसले भ्रष्टाचारजस्ता अनैतिक कार्य गर्छ, त्यस्तालाई हायर एन्ड फायर गर्ने छुट कांग्रेसको नेतृत्वलाई छ र गर्छ।’

उनले सबै पेसा सम्मानित भए पनि पछिल्लो समय सबैजसो क्षेत्रका पेसाकर्मीमा नैतिकता हराएकोमा चिन्ता व्यक्त गरे। ‘हामी नेताहरू कस्ता भयौँ? पाठ्यक्रम बनाउँछौँ। तर, पाठ्यक्रमबाट नैतिक शिक्षा हटाउँछौँ। सायद नेताहरूको नैतिकता नभएर होला नैतिक शिक्षालाई अहिले पढाउन छाडियो। त्यही भएर मुलुक भ्रष्टाचारतिर गैरहेको छ,’ उनले भने।