१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
निर्माणाधीन नारायणगढ–बुटवल सडकको कावासेती–लौकाहा खण्डमा गिटी, बालुवा बेवारिसे अवस्थामा छाडिएको छ । तस्बिर : रामकुमार श्रेष्ठ/नयाँ पत्रिका
२०७९ चैत ११ शनिबार ०९:५०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुटवल–नारायणगढ सडक : चार वर्षमा २७ प्रतिशत मात्रै प्रगति

Read Time : > 2 मिनेट
२०७९ चैत ११ शनिबार ०९:५०:००

४४ महिनामा सम्पन्न गर्ने गरी सम्झौता, सात महिनाअगाडि नै म्याद सकिएपछि थपिएको समय सकिन पनि पाँच महिना मात्रै बाँकी

गत साउन महिनाभित्रै सक्ने गरी चार वर्षअगाडि विस्तार थालिएको बुटवल–नारायणगढ सडकको काम बल्ल २७ प्रतिशत सकिएको छ । ४४ महिनामा सम्पन्न गर्ने गरी विस्तारको कामका लागि भएको सम्झौताको म्याद सात महिनाअगाडि नै सकिएको थियो । निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । थपिएको समय सकिन अब पाँच महिना पनि बाँकी छैन, तर कामले अझै गति लिएको छैन ।

थपिएको समयमा काम सम्पन्न गर्न कामको गति प्रतिमहिना १० प्रतिशतमा पुर्‍याउनुपर्छ । तर, अहिले कामको गति महिनामा २ प्रतिशत सम्पन्न गर्ने गरी भइरहेको छ । नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत बुटवल–बर्दघाट सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीपराज शाक्यका अनुसार थपिएको म्याद साउन २२ सम्म रहेको छ ।

विस्तारको कामका क्रममा हाल कालोपत्रे भइरहेको उनले बताए । यो सडक आयोजनालाई बुटवल–बर्दघाट र बर्दघाट–नारायणगढ गरी दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । त्यसमध्ये बुटवल–बर्दघाट खण्डमा २५.७५ प्रतिशत र बर्दघाट–नारायणढ खण्डमा २७.५० प्रतिशत काम सकिएको छ । समग्रमा २७ प्रतिशत काम सम्पन्न भएको शाक्यले बताए ।

यो सडक आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ८ चैत ०७५ मा विस्तारको शिलान्यास गरेका थिए । सुुरु भएको ४४ महिनामा काम सक्ने भन्दै ओलीले बुटवलबाट शिलान्यास गरेको सडकको म्याद नाघिसक्दा पनि कहिले बनिसक्ने भन्ने टुंगो लागेको छैन ।

नारायणगढ–बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । कुल एक सय १३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको थियो । दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले लिएको छ ।

यो सडकको ४२.७ किलोमिटर खण्ड चार लेनमा तथा सहरी क्षेत्रको करिब १७.६ किलोमिटरमा चार लेनका अतिरिक्त दुवैतर्फ ६–६ मिटरको सर्भिस लेनसमेत निर्माण हुने गरी सम्झौता भएको छ । 

त्यस्तै, दाउन्नेको ४.१ किलोमिटर सडक भने तीन लेनमा मात्रै विस्तार गर्ने भनिएको थियो । जटिल भौगोलिक अवस्थाका कारण दाउन्नेको सडक चार लेनमा विस्तार गर्न नसकिने भएकाले तीन लेनमा मात्रै विस्तार गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

१६ अर्ब रुपैयाँ कुल लागतमध्ये एडिबीले ८५ प्रतिशत ऋण लगानी गरेको छ भने बाँकी रकम सरकारले व्यहोर्ने गरी निर्माण अघि बढाइएको छ । एडिबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

नारायणगढ–दाउन्ने ६५ र दाउन्ने–बुटवल ५० किमिका दुई खण्ड छन् । विस्तारको काम नथाल्दै बुटवलबाट नारायणगढसम्म पुग्न करिब तीन घन्टा लाग्ने यो सडक विस्तार सम्पन्न भएपछि समय कम लाग्ने आयोजनाको दाबी छ । तर, अहिले विस्तारको काम भइरहेकाले यो सडकखण्डको यात्रा कष्टकर छ । 

साढे दुई वर्षमा एक सय नौको मृत्यु
जताततै डाइभर्सन भएका कारण यो सडकखण्डमा दुर्घटनाको जोखिम दिनहुँ बढ्दै  गएको छ । नवलपुरमा मात्र पछिल्लो साढे दुई वर्षमा दुई सय ६५ दुर्घटना भएको र उक्त दुर्घटनामा परी एक सय नौजनाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय, नवलपुरका सूचना अधिकारी लेखनाथ पुरीले जानकारी दिए ।

राजमार्गको भद्रगोल अवस्थाले पर्यटन क्षेत्रमा समेत असर परेको नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सुराम महतोको भनाइ छ । यो सडकखण्डमा वन्यजन्तुका लागि ३५ ‘अन्डरपास’ निर्माण हुने भएको छ । सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वीखण्ड (गैँडाकोट–दाउन्ने)मा २२ र पश्चिमखण्ड (दाउन्ने–बुटवल)मा १३ गरेर जम्मा ३५ अन्डरपास तयार हुने आयोजनाका प्रबन्धक राकेश झाले बताए ।

वन्यजन्तुका कारण हुने सडक दुर्घटनामा कमी ल्याउन तथा दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउन साना र ठूला अन्डरपास निर्माण गरिने झाले बताए । पुल र ठूला कल्भर्ट नभएका स्थानमा अन्डरपासकै संरचना बनाइनेछ । यसरी निर्माण गरिने अन्डरपास तीनदेखि १२ मिटरसम्म उचाइ र १६ मिटरसम्म फराकिलो हुने झाले जानकारी दिए ।