
इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड बल क्रिकेट प्रतियोगितामा नेपालका लेग स्पिनर सन्दीप लामिछाने लगातार दोस्रोपटक अनसोल्ड
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड बल’मा बिकेनन् । सन्दीपसँगै अन्तिम ड्राफ्टमा परेका नेपालका विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद पनि द हन्ड्रेड बलमा छनोट भएनन् । बिहीबार राति तेस्रो द हन्ड्रेड बल क्रिकेट प्रतियोगिताका खेलाडी किनबेच भएको थियो ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप पहिलो संस्करणको द हन्ड्रेड बलमा अनुबन्ध भएका थिए । सन् २०२१ मा सन्दीपलाई ओभल इन्भिन्सबलले ६० हजार पाउन्डमा अनुबन्ध गरेको थियो । यद्यपि, भिसाको समस्याका कारण सन्दीप प्रतियोगितामा सहभागी हुन पाएनन् ।
अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा सन्दीपले नेपालको प्रतिनिधित्व गरी उत्कृष्ट प्रदर्शन गरेका छन् । उनी विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आइपिए), अस्ट्रेलियाको बिगबास लिग तथा क्यारेबियन लिगमा खेलिसकेका छन् । सन्दीप दोस्रो र तेस्रो संस्करणको द हन्ड्रेड बलको अक्सनमा पनि अनसोल्ड भएका छन् । यसपटक द हन्ड्रेडको ड्राफ्टमा तीन सय ६८ जना खेलाडी थिए ।