
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा’ योजना सार्वजनिक गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहबीच बिहीबार कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले योजना सार्वजनिक गरेका हुन् ।
आफू तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना गर्न नपरोस् र आफ्नो वृद्ध अवस्थासम्म पनि आर्थिक रूपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसात् गर्दे एकै बिमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी सो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात’ भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरिएको हो । यो जीवन बिमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बिमा (मुनाफामा सरिक हुने) हो, जसमा बिमितको प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्ष रहने तथा बिमा शुल्क भुक्तानी अवधि न्यूनतम पाँच वर्षदेखि अधिकतम ३५ वर्षसम्म हुनेछ । कम्पनीका अनुसार यो योजनाको न्यूनतम बिमांक रकम रु. २५ हजार तथा अधिकतम बिमांक रकम आयस्राेतको आधारमा निर्धारण गर्न सकिनेछ ।