
बिवाइडी अटो इन्डस्ट्रिज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले प्रभु बैंकसँग वित्तीय सम्झौता गरेको छ । कम्पनीले ग्राहकलाई बिवाइडी ब्रान्डको विद्युतीय सवारीसाधन खरिद गर्न सजिलो कर्जा प्रदान गराउने उद्देश्यसहित सम्झौता गरेको हो ।
विद्युतीय सवारीसाधनको लोकप्रियता नेपालमा बढिरहेको र सोहीअनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न प्रभु बैंकले आफ्ना देशभरका सबै शाखाबाट सहज रूपमा बिवाइडी ब्रान्डका सवारीसाधन खरिदका लागि सवारीसाधन कर्जा उपलब्ध गराउने जनाइएको छ ।
साइमेक्स इंकका प्रमुख वित्त अधिकारी मेमन धौगोडाले प्रभु बैंकसँगको साझेदारीले ‘विद्युतीय सवारीलाई नेपालमा उपभोक्तामाझ थप पहुँचयोग्य बनाउन मद्दत गर्ने बताए । बिवाइडीका विद्युतीय सवारीसाधन विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित रहेको उनको भनाइ थियो ।
प्रभु बैंकका उपभोक्ता बैंकिङ प्रमुख वीरेन्द्र भट्टले आफूहरू दिगो विकासलाई समर्थन गर्न प्रतिबद्घ रहेको बताए । बिवाइडीसँग बैंकको साझेदारीले विद्युतीय सवारीसाधनमा स्विच गर्न चाहने ग्राहकको आवश्यकताअनुरूप वित्तीय समाधानहरू प्रदान गर्न सक्षम बनाउने उनको भनाइ थियो ।
सम्झौताअनुसार ग्राहकले नेपालका कुनै पनि बिवाइडी डिलरबाट सवारीसाधन खरिद गर्दा प्रभु बैंकबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने जनाइएको छ । उक्त कर्जा पाँच वर्ष अवधिसम्मको हुने व्यवस्था गरिएको उल्लेख छ । साइमेक्सले बिवाइडीका उत्पादन एट्टो थ्री ६४ लाख ९० हजार रुपैयाँ, अल–न्यु इसिक्स ५९ लाख रुपैयाँ मूल्य तोकेको छ ।
सम्झौताअनुसार ग्राहकले एट्टो थ्री १२ लाख ९८ हजार रुपैयाँ र अल–न्यु इसिक्स ११ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्टमा लिन सक्ने जनाइएको छ । बैंकले हाल देशभरमा तीन सय ६५ शाखा, ७१ एक्सटेन्सन काउन्टर र तीन सय नौ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।