मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत १० शुक्रबार ०६:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन कांग्रेस तयार

Read Time : < 1 मिनेट
२०७९ चैत १० शुक्रबार ०६:५६:००

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस तयार देखिएको छ । गठबन्धनभित्रको मुख्य दल कांग्रेसका सांसदहरूको अनुपस्थितिका कारण बुधबार रोकिएको थियो । तर, शुक्रबारको बैठकमा भने कांग्रेस उपस्थित भएर विश्वासको मत दिने भएको छ । 

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बाहादुरसिंह लामाले शुक्रबारको बैठकमा उपस्थित भएर मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने बताए । ‘हामीले शुक्रबारको बैठकमा उपस्थित भएर मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छौँ । कांग्रेसको प्रदेश समिति र संसदीय दल दुवै बैठकबाट मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको छ । हामी सोहीअनुरूप प्रदेश सभामा उपस्थित भएर विश्वासको मत दिन्छौँ,’ उनले भने ।तत्काल प्रदेश सरकारलाई वैधानिकता दिनुपर्ने भएकाले विश्वासको मत दिन लागेको पनि लामाले स्पष्ट पारे । तर, उनले प्रदेश सरकारको नेतृत्वमा कांग्रेसको दाबी भने कायमै रहेको बताए । 

‘सरकारको वैधानिकताका लागि सरकारलाई विश्वासको मत दिन्छौँ । तर, सरकारको नेतृत्वमा हाम्रो दाबी छ । प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले सरकारको नेतृत्व पाउनुपर्छ । यो शक्ति पृथकीकरणको सिद्धान्त पनि हो,’ उनले भने । नेता लामाले केन्द्रमा माओवादी नेतृत्वको सरकार हुँदा बागमती प्रदेशमा सबैभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्न पाउनुपर्ने स्वाभाविक रहेको बताए । 

बागमती प्रदेश सरकारमा रहेको एमालेले शुक्रबारबाट सरकार छोड्ने भएको छ । एमाले बागमती प्रदेश संसदीय दलका सचेतक मधुसूदन पौडेलले एमालेका मन्त्रीहरूले शुक्रबारको बैठकमा उपस्थित भएर आफ्नो धारणासहित सरकारबाट बाहिरिएको घोषणा गर्ने जानकारी दिए । 

बुधबारको बैठक स्थगित भएकोप्रति असन्तुष्टि व्यक्त गर्दै पौडेलले एमालेका सीमित सांसद र मन्त्रीहरू मात्रै बैठकमा सहभागी हुने जानकारी दिए । ‘बुधबारको संसद् बैठक स्थगित हुनु बेठीक थियो । नयाँ गठबन्धन दलहरूबीच नै बैठक राख्ने विषयमा छलफल नभएको देखियो ।  हामीले औपचारिक रूपमै पत्रमार्फत जानकारी गराएका छौँ,’ उनले भने ।