Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ चैत ९ बिहीबार १९:०३:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

उमेर नपुग्दै विवाह, उमेर पुगेपछि सम्बन्धविच्छेद

Read Time : > 3 मिनेट
२०७९ चैत ९ बिहीबार १९:०३:००

कानुनले बालविवाहलाई बर्जित गरे पनि जुम्लामा याे डरलाग्दो रूपमा छ। स्कुल पढ्दै गर्दा विवाह हुने र वर्षदिनमै आमा बन्नुपर्ने बाध्यताले जुम्लाका धेरै किशोरीआमाले आफ्ना सपना बीचमै मार्नुपरेको छ। 

कलिलो उमेरमै आमा बनेका अधिकांशले पढाइ बीचैमा छोडेका छन् । सानै उमेरमा आमा बन्दा उनीहरूमा घरधन्दा, अभिभाकत्वको बोझ थपिएको छ।

सानै उमेरमा एकल अभिभावकत्वको जिम्मेवारी 

सिँजा गाउँपालिका– ६ की नन्दा १४ वर्षको उमेरमै एक सन्तानकी आमा बनिन् । १३ वर्षको कलिलो उमेरमै बिहे गरेकी नन्दामा अहिले विभिन्न स्वास्थ्य समस्या देखिन थालेको बताउँछिन्। ‘सानै उमेरमा विवाह गर्दा सन्तानको पालनपोषणमा समस्या छ,’ उनले भनिन्, ‘बच्चाको पठनपाठन पनि राम्रो बन्न सकेको छैन।’

हिमा गाउँपालिका– २ ओदी गाउँकी वसन्ती रोकाया २३ वर्षकी भइन्। उनको काखमा अहिले दुई छोरा र एक वर्षको छोरी छन्। कक्षा ८ मा पढ्दै गर्दा उनको विवाह भएको हो। 

१५ वर्षमा बिहे गरेकी वसन्ती एक वर्षपछि आमा बनिन्। परम्परा र सामाजिक संस्कारका कारण वसन्तीजस्तै जुम्लाका धेरै किशोरी आमा बनेर अभिभावकत्वको जिम्मेवारीमा छन्।

कक्षा १२ पास गरेर लोकसेवा आयोगको परीक्षाका लागि तयारी गरिरहेकी शाही बालविवाहले आफू आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्यका क्षेत्रमा पछाडि परेको बताउँछिन्। उनी लैंगिक दृष्टिले सचेत देखिन्छिन्। वैवाहिक जीवनसँग जोडिएको भेदभावलाई बुझ्ने पनि भएकी छिन्।

‘आफूसँगैका केटा साथीले पढेर प्रगति गरिसके,’ शाही थकथकाउँदै भन्छिन्, ‘बालविवाहका कारण मेरो पढाइ थन्कियो। बिहे गरेको घरबाट पनि टाढिनुपर्‍याे।’

यसैगरी, ईश्वरी रावत भन्छिन्, ‘पढ्दै गर्दा बिहे गरेका कारण विद्यालय छोड्नुपर्‍याे। १७ वर्षमा बिहे गरेँ। २८ वर्षमा सम्बन्धविच्छेद भइदियो।’ जाजरकोट जिल्लाको कुशे गाउँपालिका– ८ पैंककी रावतको एसएलसी पास गर्नेबित्तिकै १७ वर्षको उमेरमा तातोपानी गाउँपालिका– ८ डोंग्रीका युवकसँग विवाह भएको थियो।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख धनराज शाही बालविवाह बाल अधिकार, महिला अधिकार, मानव अधिकारको हनन मात्र नभएर विकास र समृद्धिकै बाधक ठान्छन्। 

उनी भन्छन्, ‘बालविवाहबाट बालिका र किशोरीलाई जोगाउन जरुरी छ। स्थानीय, प्रदेश र संघीय सरकारले चाहेमा यो सम्भव छ। अन्य सरोकारवालाले पनि यसमा हातेमालो गर्नुपर्छ। बालविवाह राेक्न सके २५–३० वर्ष पुग्दा नपुग्दै हुने सम्बन्धविच्छेदलाई पनि घटाउन सकिन्छ। बालविवाह रोक्न सके कसैले पनि कम उमेरमै सन्तान जन्माउनुपर्दैन र बालबालिकाले जोखिममा विभिन्न खालका विभेद व्यहार्नुपर्दैन।’ 

उमेर नपुग्दै बिहे गरेर बच्चा जन्माएको देख्दा दुःख लाग्ने गरेको सिँजा गाउँपालिका– ६ जोडु गाउँकी महिला स्वास्थ्य स्वयंसेविका धनसरी बुढाले बताइन्। लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका नाताले आफूले समाजमा बालविवाह रोक्न र कम उमेरमा आमा नबन्न सबैलाई सल्लाह दिँदै आएको उनको भनाइ छ।

बढ्दो सम्बन्धविच्छेद

सहरबजारमा मात्रै नभएर विकट गाउँमा समेत उमेर नपुग्दै विवाह, उमेर पुगेपछि सम्बन्धविच्छेदको घटना बढ्दै गएका छन्। 

तिला गाउँपालिका– ७ तुहीगाउँकी २३ वर्षीया रमिता रावत (बुढा)ले सानै उमेरमा विवाह गरिन्। घरेलु हिंसापीडित रमिता अहिले श्रीमानसँग सम्बन्धविच्छेद गर्दै छिन्। सानै उमेरमा विवाह गरेकी रमिताको सम्बन्धविच्छेदको मुद्दा अहिले अदालतमा चालू प्रक्रियामा छ।

तिला गाउँपालिका– ७ तुही गाउँका २५ वर्षीय गोपाल बुढासँग ०७४ सालमा प्रेमविवाह भई ०७५ कात्तिक १५ गते छोरा युवराज बुढाको जन्म भएको हो। उनले जिल्ला अदालत जुम्लामा ०७९ जेठ ३१ गते सम्बन्धविच्छेद मुद्दा दर्ता गरेकी हुन्।

०७८ चैत मसान्तमा घरका सामान र छोरासमेतलाई घर निकाला गरेको पीडित रमिताले बताइन्। उनले भनिन्, ‘घर निकाला गरेदेखि छोरासहित तिला गाउँपालिका– ९ राँसागाउँ माइती घरमै बस्दै आएकी छु।’

तातोपानी गाउँपालिकाकी ईश्वरी रावतले घरपरिवारको किचलो र श्रीमानले गर्ने गरेको हिंसा सहन नसकेर जुम्लाको जिल्ला अदालतमा ०७६ सालमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन्। अदालतले छोरा र छोरीको पालनपोषण बाबुले गर्ने गरी सम्बन्धविच्छेद गरिदियो। व्यवहारमा बाबु जिम्मेवार देखिएनन्। उनीहरूका छोराछाेरी बिचल्लीमा परे।

जिल्लाको तातोपानी गाउँपालिका– ८ डोंग्रीकी भगवती शाहीको २० वर्षको उमेरमा सम्बन्धविच्छेद भयो। एसएलसी पास गर्नेबित्तिकै १६ वर्षको उमेरमा जुम्लाकै चन्दननाथ नगरपालिका– १० का आफूसँगै पढ्ने केटासँग उनले विवाह गरेकी थिइन्। तर, उनको वैवाहिक सम्बन्धले पाँच वर्ष नपुग्दै सम्बन्धविच्छेद गर्नुपर्‍याे। मुलुकी अपराध संहिताले विवाह गर्न गराउन अनुमति दिएको २० वर्षे उमेरमा पुग्दासम्म त उनको सम्बन्धविच्छेद नै भइसकेको थियो।

बालविवाहका कारण किशोरीहरूको पढाइलेखाइ सानै उमेरमा बन्द हुन्छ। भगवती शाही आफ्ना श्रीमान् र घरपरिवारले आफूलाई पढाइलेखाइमा सहयोग नगरेर उल्टै शंका गर्ने गरेका कारण सम्बन्धविच्छेद गर्नुपरेको बताउँछिन्।

यी प्रतिनिधि घटना मात्र हुन्। बालविवाहजन्य विकृतिको असर सम्बन्धविच्छेद र बालबालिकाको भविष्यमा परेको देखिन्छ। एउटा हिंसाबाट मुक्त भएका किशोरीले सम्बन्धविच्छेदपछि पनि समाजमा विभिन्न लाञ्छना सहनुपरेको छ।

यस्तो छ तथ्यांक

जिल्ला अदालत जुम्लामा आर्थिक वर्ष ०७८–७९ मा चालू रहेका सम्बन्धविच्छेदका १६ वटा मुद्दामा आठवटा मुद्दा २५ वर्षमुनिका नवयुवतीको रहेको सो अदालतबाट थाहा भएको छ। 

यसको अर्थ सम्बन्धविच्छेदका चालू मुद्दामा ५० प्रतिशत मुद्दाका पक्ष वा विपक्षी महिला २५ वर्षमुनिका छन्। जिल्ला अदालत जुम्लाका सुपरिटेन्डेन्ट अष्ट अधिकारीका अनुसार सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउन आउनेमा ३२ वर्षमुनिका महिला धेरै छन्। 

उनका अनुसार पतिले घरेलु हिंसा गरेकाले न्याय माग्न आएको बताउने ती महिला ३२ वर्ष पुग्दा नपुग्दै तीन–चार बच्चाका आमा पनि बनिसकेका हुन्छन्। यसमध्ये कतिपय त बहुविवाहपीडित पनि हुन्छन्।

सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईंका अनुसार श्रीमान घरकी श्रीमती छोडेर अरू महिलासँग लाग्ने, घरमा श्रीमतीलाई यातना दिने गरेका कारण महिला सम्बन्धविच्छेद गर्न बाध्य हुने गरेका छन्। बालविवाहले बहुविवाहको पनि समस्या निम्त्याएको चौलागाईंको धारणा छ।

बहुविवाह यस्तो एउटा जटिल समस्या देखिएको छ, जुन सम्बन्धविच्छेद गराउने कारण मात्र नभएर सम्बन्धविच्छेदपछिको जीवनका लागि अपनाउन सकिने सम्बन्धको एउटा बाटो पनि हो। यसबाट बालबालिका पनि प्रभावित हुन पुग्छन्।

सम्बन्धविच्छेदको परिणाम श्रीमान्–श्रीमतीबीचको सम्बन्धविच्छेद हुनुमा मात्र सीमित रहँदैन। यसले महिला खासगरी किशोरीको जीवनमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ। अझ पूर्वदम्पतीको सन्तानको लालनपालन र भविष्य निर्माणमा समेत असर पार्दछ।