१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धवलागिरि क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२८:oo

बागलुङको धवलागिरि बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनिनयको निर्वाचन तत्काल गर्न विद्यार्थीहरूले माग गरेका छन् । क्याम्पसमा अध्ययनरत विद्यार्थीले तत्काल निर्वाचन गर्न क्याम्पस प्रशासनसँग माग गरेका हुन् ।

त्रिविले चैत ५ गतेका लागि निर्वाचन तोके पनि क्याम्पसमा क्रियाशील केही विद्यार्थी संगठनको तालाबन्दी र आन्दोलनका कारण निर्वाचन हुन सकेको छैन । चार सय ७९ विद्यार्थीले सामूहिक हस्ताक्षर संकलन गरेर क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायलाई बुझाउँदै यस विषयमा ध्यानाकर्षण गराएका छन् । 

विद्यार्थीले चैत ५ गते सम्पन्न हुनुपर्ने निर्वाचनलाई प्रभाव पार्ने गरी विभिन्न क्रियाकलाप भएको भन्दै त्यसप्रति ध्यानाकर्षण गराएका हुन् । उनीहरूले विज्ञप्तिमार्फत संविधानप्रदत्त मौलिक हकको रूपमा रहेको मतदान गर्ने अधिकारबाट आमविद्यार्थीलाई वञ्चित गर्न खोज्ने गतिविधिप्रति घोर भर्त्सना गरेका छन्  ।

विद्यार्थीका मौलिक हकलाई स्थापित गर्न जुनसुकै आन्दोलन गर्न पनि तयार रहेको क्याम्पस प्रमुखलाई बुझाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । परिचयपत्रको विषयलाई लिएर केही विद्यार्थी संगठनले चुनाव बिथोल्न खोजेको भन्दै उनीहरूले ‘हामी अवैध विद्यार्थी होइनौँ’ भन्दै असन्तुष्टि जनाएका छन् । 

‘हामी कुनै विद्यार्थी संगठनको पक्षमा छैनौँ । केवल आमविद्यार्थीको मागलाई मध्यनजर गरेर क्याम्पस प्रशासनलाई ध्यानकर्षण गराएका हौँ,’ क्याम्पसको बिबिएस तेस्रो वर्षमा अध्ययनरत विजय गौतमले भने, ‘केही विद्यार्थी संगठन निर्वाचन गर्नुपर्छ भन्ने माग गरिरहँदा केहीले यसलाई भित्रैभित्र भाँड्ने रणनीति तय गरेको देखियो ।’ आमविद्यार्थीको मागलाई बेवास्ता गरे कडा आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन्। 

क्याम्पस प्रशासनले १८ चैतमा निर्वाचन गर्न मंगलबार निर्वाचन कार्यतालिका प्रकाशन गर्ने निर्णय गरे पनि निर्वाचन कार्यतालिका प्रकाशित भएन । केही विद्यार्थी संगठनले आफूहरूको अनुपस्थितिमा कार्यतालिका तय गरेको भन्दै उक्त निर्णय मान्य नहुने बताएका छन् ।

यद्यपि, क्याम्पस प्रशासनले भने चैत १८ गते नै निर्वाचन हुने बताएको छ । ‘११ गते मनोनयन दर्ताको समय छ । त्यो वेलासम्म सहमति होला । सबै साथीलाई राखेर निचोड निकालेर हामी निर्वाचन गरेरै छाड्छौँ,’ क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्यायले भने । त्रिविले पनि चैत ५ गते निर्वाचन नभएका क्याम्पसमा तक्काल निर्वाचन गर्न आग्रह गरेकाले १८ गते नै निर्वाचन हुने उनको भनाइ छ ।

यसअघि चैत ५ गतेका लागि निर्वाचन कार्यतालिका प्रकाशित भएपछि अनेरास्ववियु, अखिल क्रान्तिकारी, विप्लव र बहुमत निकट अखिल क्रान्तिकारी तथा अखिल संयुक्तले क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए । परिचयपत्रलगायतका विषयमा माग सम्बोधन हुनुपर्ने भन्दै लगाइएको ताला नेविसंघले फुटाएको थियो । तर, तोकिएको मितिमा निर्वाचन हुन सकेन । क्याम्पसले असन्तुष्ट पक्षको मागलाई सम्बोधन गरेर अगाडि बढ्ने जनाएको छ ।