१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ चैत ९ बिहीबार ०९:२५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दमकको चियाबगानमा पूर्वराजासँग राप्रपा नेतृत्वको भेटवार्ता

Read Time : < 1 मिनेट
२०७९ चैत ९ बिहीबार ०९:२५:००

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सहभागी नभएको राष्ट्रिय प्रजातन्त्र पार्टीको शीर्ष नेतृत्व पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न झापा पुगेको छ । पूर्वराजालाई भेट्न राप्रपाका शीर्ष नेताहरू बुधबार दमकस्थित उनको चियाबगानमै पुगेका हुन् ।

पूर्वराजा भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, वरिष्ठ नेता प्रकाशचन्द्र लोहनी र महामन्त्री धवलशमशेर राणा काठमाडौंबाट झापा पुगेका थिए । हिमालय टी गार्डेनको चिया पिउँदै करिब दुई घन्टा भएको भेटवार्तामा हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको पुनस्र्थापना, देशको बिग्रँदो  आर्थिक अवस्थालगायत समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको अध्यक्ष लिङ्देनले बताए ।

नियमितजसो भइरहने ‘शिष्टाचार’ भेटघाट भन्दै राप्रपाका शीर्ष नेताले कुराकानीबारे विस्तृतमा खुलाउन भने चाहेनन् । यद्यपि, पूर्वराजाको राजनीतिक चासो बढिरहेका वेला भएको यो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ‘सामान्य शिष्टाचार भेटघाट भएको हो,’ लिङ्देनले भने, ‘म सरकारमा गएपछि नभेटेको धेरै भएको थियो, त्यसैले भेटौँ भनेर दुवैतर्फको पहलमा भेट भएको हो । करिब तीन महिनापछि भेट भएको थियो । त्यस्तो विशेष कुराकानी केही भएको छैन ।

भेटघाटमा समसामयिक राजनीतिक विषयमा सामान्य समीक्षा भएको हो ।’ पूर्वराजा शाहले सदाझैँ देशको बिग्रँदो  अर्थतन्त्रप्रति चासो र चिन्ता प्रकट गरेको उनले बताए । ‘अर्थतन्त्र निरन्तर ओरालो लागेकोप्रति उहाँको बढी चिन्ता थियो,’ उनले भने । भेटघाटपछि लिङ्देनबाहेक सबै नेताहरू बुधबार नै काठमाडौं फर्किसकेका छन् । लिङ्देन भने बिहीबार फर्किने तयारीमा छन् ।