उपाधि दाबेदार मानिएको थ्री स्टार क्लबलाई १–० को झिनो अन्तरले हराउँदै सुदूरपश्चिम–११ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनलमा थ्री स्टार र सुदूरपश्चिमले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा दुवै टोलीले गोलका लागि मिहिनेत गरेका थिए ।
थ्री स्टारले प्रतिस्पर्धामा प्राप्त गोल अवसर चुकाएको थियो । सुदूरपश्चिमले थ्री स्टारमाथि काउन्टर एट्याकमा दबाब राखेको थियो । मध्यान्तरपछि थ्री स्टारको खेलमा सुधार आयो । खेलको ८६औँ मिनेटमा सुदूरपश्चिमले अप्रत्याशित रूपमा १–० को अग्रता लियो । सुदूरपश्चिमका लागि एक मात्र विजयी गोल फागुराम थारूले गरेका थिए ।
प्रतिस्पर्धामा थप गोल भएन । थारूको एक मात्र गोलको सहयोगमा सुदूरपश्चिमले अन्तिम दुईको स्थान पक्का गरेको हो । अब सुदूरपश्चिमले उपाधिका लागि बिहीबार मनाङ मस्र्याङ्दी र फ्रेन्ड्स क्लबबीचको विजेताविरुद्ध शनिबार प्रतिस्पर्धा गर्नेछ ।
सुदूरपश्चिम–११ ले उद्घाटन खेलमा रुपन्देही–११ लाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । त्यस्तै, थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोलले हराएर अन्तिम चार स्थान पक्का पार्यो । थ्री स्टारले मोफसलमा सञ्चालन भइरहेका गोल्डकप फुटबल प्रतियोगितामा गतिलो नतिजा निकाल्न सकेको छैन ।