१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १५:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस अनुपस्थित हुने भएपछि बागमती प्रदेश सभाको आजको बैठक अन्याेलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:३६:oo

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिन आजका लागि आह्वान गरेको प्रदेश सभा बैठक अन्योलमा परेको छ ।

प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस उपस्थित नहुने भएपछि प्रदेश सभा बैठक र मुख्यमन्त्री जम्कट्टेलले आज लिने भनिएको विश्वासको मत अन्योलमा परेको हो ।  प्रदेश सभा बैठक आज ३ बजेका लागि बोलाइएको थियो ।

बागमती प्रदेश कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले आफूहरू आजको बैठकमा कुनै पनि हालतमा उपस्थित हुन नसक्ने बताए । उनले कांग्रेसका सम्पूर्ण प्रदेश सांसद काठमाडौंमा रहेको जानकारी दिए । कांग्रेसको प्रदेश संसदीय दलको बैठक आज काठमाडौंमा राखिएको थियो । मुख्यमन्त्री जम्कट्टेलले गठबन्धनको प्रमुख दल कांग्रेससँग छलफल नै नगरी विश्वासको मत लिन खोजेको भन्दै कांग्रेसका नेताहरू असन्तुष्ट छन् ।

‘मुख्यमन्त्रीले हामीसँग सल्लाह नै नगरी विश्वासको मतसम्बन्धी निर्णय लिनुभयो । हामीले पार्टीभित्रै पनि राम्रोसँग छलफल गर्न पाएका छैनौँ,’ उपनेता चित्रकारले भने, ‘हामीले मुख्यमन्त्रीसँग विश्वासको मतका लागि बैठक केही दिन पर सार्न आग्रह गरेका थियौँ । तर, उहाँले मान्नुभएन । हामी आजै हेटौँडा आउन सक्ने अवस्थामा छैनौँ ।’ कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा कुनै द्विविधा नभएको बताउँदै उनले गठबन्धन दलहरूबीच प्याकेजमा सहमति हुनुपर्ने स्पष्ट पारे ।

यता बैठकको विषयमा जानकारी लिन खोज्दा प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले आफूलाई कुनै पनि किसिमको थप निर्देशन नआएको बताए । अहिलेसम्म बैठक स्थगित गर्ने खबर नआएको उनको भनाइ छ ।

ad
ad