१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format ११:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वन कार्यालयले उपलब्ध गरायो सेना र प्रहरीलाई डढेलो नियन्त्रण गर्ने औजार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५९:oo

डिभिजन वन कार्यालय खोटाङले नेपाली सेना र नेपाल प्रहरीलाई डढेलो नियन्त्रण गर्ने औजार उपलब्ध गराएको छ। वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह कार्यक्रम समापनको अवसर पारेर डिभिजन वन कार्यालयले गोरखनाथ गण मुडे ब्यारेक र जिल्ला प्रहरी कार्यालय खोटाङलाई डढेलो नियन्त्रणका क्रममा उपयोग हुने विभिन्न प्रकारका औजार उपलब्ध गराएको हो । 

रेक, स्वाटर, एक्स–हो, रेक–हो, ब्याग प्याक पम्प, साभेल, हेल्मेट, बुट र ड्रेसको अलग–अलग सेट प्रदान गरिएको डिभिजन वन प्रमुख जगदीश रेग्मीले जानकारी दिए । डिभिजन वन कार्यालय खोटाङले उपलब्ध गराएको औजार मंगलबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले सेना र प्रहरीलाई हस्तान्तरण गरेका हुन् । 

जागरण सप्ताह समापन कार्यक्रमको अवसरमा जिल्ला अग्नि नियन्त्रण सञ्जालसमेत गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख एवं प्रतिनिधि संयोजक रहेको ११ सदस्यीय अग्नि नियन्त्रण सञ्जाल गठन गरिएको हो । 

डिभिजन वन कार्यालय सदस्यसचिव रहेको सञ्जालको सदस्यमा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल रेडक्रस सोसाइटी, नगरपालिका, निजी तथा पारिवारिक वन सञ्जाल, नेपाल विद्युत् प्राधिकरण कार्यालयलगायतलाई चयन गरिएको छ । 

वन तथा वातावरण मन्त्रालयको निर्देशनअनुसार खोटाङमा विभिन्न कार्यक्रम गर्दै चैत १ गतेदेखि सुरु गरिएको वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह समापन गरिएको छ । वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह कार्यक्रम समापनको अवसरमा दिक्तेलस्थित रत्नपार्कदेखि सल्लेरी टोलस्थित वाणिज्य बैंकको शाखा कार्यालयसम्म र्‍याली निकालिएको थियो । 

र्‍यालीपछि जिल्ला समन्वय समितिको समीक्षालय हलमा आयोजित कार्यक्रममा डिभिजन वन अधिकृत रेग्मीले डढेलो लाग्ने कारण, नियन्त्रणका उपाय, नीतिगत तथा कानुनी व्यवस्था र योजनाबारे प्रस्तुति दिएका थिए । दश स्थानीय तह रहेको खोटाङ डढेलोको उच्च जोखिममा रहेको जनाइएको छ ।