१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १o:२९:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बंगलादेशी गार्मेन्ट : पहिले बदनाम, अहिले श्रमिकमैत्री

हरित रूपान्तरणले पर्यावरणलाई फाइदा गर्नुका अतिरिक्त उद्योग सञ्चालन खर्च पनि घटाएको सञ्चालकहरू बताउँछन्

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:२९:oo

सेफाली अख्तर १९ वर्षको उमेरमा बंगलादेशको राजधानी ढाकानजिक एक गार्मेन्ट फ्याक्ट्रीमा काम गर्न थालेकी थिइन् । कठोर श्रम गर्नुपर्ने र कामअनुसारको तलब पनि नपाइने भएपछि एक वर्षपछि नै उनी काम छाडेर उत्तरी बंगलादेशस्थित आफ्नो गाउँ फर्किइन् ।

घर फर्किएको केही पछि उनी विवाह गरेर श्रीमान्सहित पुनः राजधानी फर्किइन् । यसपटक पनि उनी ढाकाको पश्चिम भेगमा रहेको गार्मेन्ट उद्योगमै काममा लागिन् । अख्तरले केही वर्षभित्रै केही गार्मेन्ट उद्योगको अवस्था निकै सुधार भएको पाइन् । हाल २६ वर्षकी अख्तर स्नोटेक्स ग्रुपको उद्योगमा काम गर्छिन् । त्यहाँ उनी मासिक १३,५०० टाका कमाउँछिन् । कामदाताले उनलाई साताको एक दिन बिदा, पोषणयुक्त निःशुल्क खाजा र ओभरटाइमको अतिरिक्त ज्याला दिन्छ ।

राम्रो भेन्टिलेसनयुक्त स्नोटेक्स ग्रुपका गार्मेन्ट उद्योगमा सौर्य पाता लगाइएको छ । जसले कम्पनीको ऊर्जा उपभोग आधाले घटेको छ । वर्षाको पानी भण्डारण संयन्त्र र अनावश्यक पानीको उपयोग कटौती गर्ने विधि लागू गरेपछि पानीको उपभोगसमेत ३० प्रतिशतले घटेको उद्योगका अधिकारीले भने । उद्योगवरपरको भाग रूखले भरिभराउ छ भने संयन्त्रभित्र तरकारीबारी पनि छ, जहाँबाट श्रमिकले सस्तोमा अग्र्यानिक टमाटर, बन्दा, काउली आदि किन्न सक्छन् ।

बंगलादेशको गार्मेन्ट उद्योग लामो समय श्रमिकलाई पेलाएर सस्तो गार्मेन्ट उत्पादन गर्ने उद्योगका लागि परिचित रह्यो । तर, सन् २०१३ मा ११३० को ज्यान जाने ‘राना प्लाजा गार्मेन्ट उद्योग दुर्घटना’पछि उत्पन्न अन्तर्राष्ट्रिय दबाब र घरेलु आलोचनापछि गार्मेन्ट उद्योगमा सुधार हुन थालेको थियो ।

बंगलादेशको गार्मेन्ट उद्योग लामो समय श्रमिकलाई पेलाएर सस्तो गार्मेन्ट उत्पादन गर्ने उद्योगका लागि परिचित रह्यो । तर, थप हरित तथा दिगो पहिरन निर्माणका लागि अन्तर्राष्ट्रिय दबाबले त्यसलाई बदल्न सुरु गरेको छ । बंगलादेशका १८६ उद्योगले अमेरिकाको ग्रिन बिल्डिङ काउन्सिलअन्तर्गतको लिडरसिप इन इनर्जी एन्ड इन्भाइरोमेन्ट डिजाइनले हरित संयन्त्र भन्ने प्रमाणपत्र पाएका छन्, जसको संख्या सन् २०१४ मा तीन मात्र थियो ।

यी उद्योगले कार्बन उत्सर्जन घटाउन, जल तथा ऊर्जा उपभोग कटौती गर्न र फोहोर कम गर्न गरेका प्रगतिका आधारमा उक्त प्रमाणपत्र हासिल गर्छन् । साथमा उद्योगले यो प्रमाणपत्र पाउन श्रमिकको स्वास्थ्य सुधार तथा कार्यक्षेत्रभित्रको वातावरणको गुणस्तर वृद्धिमा सुधार गरेको हुनुपर्छ । व्यावसायिक विश्लेषकका अनुसार सन् २०१३ मा ११३० को ज्यान जाने ‘राना प्लाजा गार्मेन्ट उद्योग दुर्घटना’पछि उत्पन्न अन्तर्राष्ट्रिय दबाब र घरेलु आलोचनापछि गार्मेन्ट उद्योगमा सुधार हुन थालेको थियो । यी सुधारको परिणामस्वरूप आज विश्वका गार्मेन्ट निर्यातकर्ता मुलुकहरूमध्ये बंगलादेशमा सबैभन्दा धेरै पर्यावरणमैत्री उद्योग छन् । 

स्नोटेक्स ग्रुप ढाकाको केन्द्रबाट २५ किमि पश्चिममा छ । आफ्ना श्रमिकलाई निःशुल्क पौष्टिक खाजा, अनलाइनमार्फत तलब भुक्तानी र राम्रो भेन्टिलेसन सुविधा दिएको ग्रुपका कार्यकारी निर्देशक एसएम खालिदले आफूहरू श्रमिकको सुरक्षाप्रति पूर्ण प्रतिबद्ध रहेको बताए । कोलम्बिया, डेकाथलोन र सी–एन्ड–ए जस्ता विश्व चर्चित ब्रान्डलाई सेवा दिने यस समूहमा १९ हजार श्रमिक काम गर्छन् । कम्पनीले २५ करोड डलरको वार्षिक कारोबार गर्छ । कार्यकारी निर्देशक खालिदका अनुसार श्रमिकले एक मोबाइल एममार्फत आफूले कामका क्रममा भोगेका समस्यालाई व्यवस्थापनलाई बताउन सक्छन् । ‘हामी आएका गुनासोलाई उच्च प्राथमिकता दिएर अनुसन्धान गर्छौं,’ खालिदले भने । 

बंगलादेशका १८६ उद्योगले ‘लिडरसिप इन इनर्जी एन्ड इन्भाइरोमेन्ट डिजाइन’ले दिने हरित संयन्त्र भन्ने प्रमाणपत्र पाएका छन्, जुन विश्वका गार्मेन्ट निर्यातक मुलुकहरूमध्ये सबैभन्दा धेरै हो

हरित उद्योगले पर्यावरणलाई फाइदा गर्नुका अतिरिक्त उद्योग सञ्चालन खर्च पनि कटौती गर्ने खालिदले बताए । स्नोटेक्स ग्रुपका उद्योगहरूमा परम्परागत उद्योगहरूको तुलनामा ५० प्रतिशत मात्र ऊर्जा खपत हुने उनले बताए । खालिदका अनुसार उनका उद्योगमा लगाइएका सौर्य पाताले मासिक २५ मेगावाट बिजुली उत्पादन गर्छन्, जसले उद्योगको कुल ऊर्जा मागको १० प्रतिशत पूरा गर्छ । बाँकी ८६ प्रतिशत ऊर्जा पनि अन्य सौर्य ऊर्जा प्रदायकहरूबाट लिइने र मात्र ४ प्रतिशत ऊर्जा मात्र डिजेलजस्तो खनिज इन्धनबाट आउने खालिदले बताए । हरित उद्योगको निर्माण परम्पारगत उद्योगभन्दा ३०–३५ प्रतिशत महँगो पर्ने, तर हरेक वर्ष तिनको सञ्चालन भने कम खर्चिलो पर्ने उनले औँल्याए । 

अन्य गार्मेन्ट उद्योगका सञ्चालकले पनि यही दिशामा परिवर्तन गरिरहेका छन् । फजलुल हकको नेतृत्वमा रहेको ‘प्लुम्मी फेसन्स’का उद्योग ढाकाको दक्षिणतर्फ छ । बंगलादेशका उद्योगहरूमा रहेकामध्ये सबैभन्दा ठूलो सौर्य संयन्त्र यही उद्योग परसरमा छ । उद्योगको पर्खाल पारदर्शी काँचको छ, जसले प्रकाश लागत घटाएको छ भने कामदारका लागि थप प्राकृतिक प्रकाश सिर्जना गरेको छ । यस्ता परिवर्तनले उद्योगको कार्बन उत्सर्जनलाई परम्परागत उद्योगको तुलनामा ३५ प्रतिशतले घटाएको छ भने वर्षाको पानी भण्डारण गर्ने जलाशयले तिनको पानीको माग ४० प्रतिशतले कम भएको हकले बताए । 

‘राना प्लाजा दुर्घटनाको खबरले मलाई स्तब्ध बनाएको थियो । त्यति वैलै मैले कुनै दिन गार्मेन्ट व्यवसाय गरेँ भने कारखाना भवन अग्लोभन्दा पनि हरित बनाउने संकल्प गरेको थिएँ,’ हकले भने । बढ्दो संख्यामा ब्रान्डहरूले जलवायुअनुकूल र श्रमिकमैत्री उत्पादन खोज्ने भएकाले पनि हरित लगानीले परम्परागत उद्योगलाई भन्दा आफूहरूलाई फाइदा गरेको हकले बताए । उनको कारखानाले केल्भिन क्लेन, टमी हिलफिगर र नेक्स्टजस्ता लोकप्रिय फेसन लेबलहरूका लागि उत्पादन गर्दै आएको छ । ‘ठूला ब्रान्डहरू हरित उद्योगबाट कपडा किन्न इच्छुक छन् । यस कारणले हामीजस्ता हरित लगानी गर्नेहरू फाइदाजनक स्थितिमा छौँ,’ हकले भने । 

ढाका विश्वविद्यालयका प्राध्यापक रिधवानुयल हकले चार दशकदेखि बंगलादेशी अर्थतन्त्रको मेरुदण्ड बनेको तयारी कपडा उद्योगमा आइरहेको हरित परिवर्तनले देशलाई आगामी प्रतिस्पर्धाका लागि तयार बनाएको बताए । साथै, यस परिवर्तनबाट बंगलादेशले ऊ आफैँले तय गरेको जलवायु लक्ष्य पूरा गर्न पनि मद्दत गरिरहेको प्राध्यापक हकले भने । 
– रोयर्टसबाट
 

ad
ad