मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत ८ बुधबार ०८:४९:००
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

बागमतीका मुख्यमन्त्री पुनः विश्वासको मत लिँदै : सरकारमै रहेको एमाले अन्योलमा, मुख्यमन्त्रीमा कांग्रेसको दाबीले जम्कट्टेल दबाबमा

Read Time : > 3 मिनेट
२०७९ चैत ८ बुधबार ०८:४९:००

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बुधबार दोस्रोपटक विश्वासको मत लिँदैछन् । तर, न अहिलेको सत्तासाझेदार दल एमालेले मत दिने देखिन्छ, न केन्द्रीय सरकारको साझेदार कांग्रेसले नै मत दिने निर्णय गरेको छ । आवश्यक गृहकार्यबिनै प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न लागेका जम्कट्टेले दबाबमा देखिएका छन् । बुधबार मध्याह्नसम्म पनि विश्वासको मत पाउने आधार स्पष्ट हुन नसके उनले प्रदेशसभामा प्रस्ताव पेस गर्न अर्को मिति तय गर्न सक्ने सम्भावना देखिएको छ । 

केन्द्रमा प्रतिपक्षमा बसिसकेको एमाले बागमती प्रदेशमा सत्तापक्ष नै छ । तर, उसले मंगलबारसम्म पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने–नदिने निर्णय गरिसकेको छैन । सरकारबाहिर रहँदा पनि यसअघि विश्वासको मत दिएको कांग्रेसले पनि मंगलबारसम्म कुनै निर्णय गरेको छैन । केन्द्रमा समीकरण बदलिएकाले बागमती प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बताएका छन् । मुख्यमन्त्रीले हतारमा विश्वासको मत लिन लागेको भन्दै एक–दुई दिन पर सारेर नयाँ सहमति टुंगो लगाउनुपर्ने उनको भनाइ छ । प्रदेशसभाका यी प्रमुख दुईमध्ये कुनै एक दलको सहयोगबिना मुख्यमन्त्रीले विश्वासको मत आर्जन गर्नसक्ने अवस्था छैन । त्यसैले जम्कट्टेल दबाबमा परेका हुन् । 

बहादुरसिंह लामा, दलका नेता कांग्रेस बागमती प्रदेश

हामीले पार्टीमा आन्तरिक छलफल गर्न भ्याएका छैनौँ । केन्द्रमा समीकरण परिवर्तन भएपछि उहाँले विश्वासको मत लिने विषयमा हामीसँग छलफल गर्नुपर्ने थियो । तर, छलफलविनै मुख्यमन्त्रीले विश्वासको मत लिने मिति तय गर्नुभयो । एक–दुई दिन अझै पर सारेर पहिले अन्य विषयमा छलफल गरौँं भनेका छौँ ।

गत २५ पुसमा एमाले र राप्रपासमेतको समर्थनमा माओवादी संसदीय दलका नेता जम्कट्टेल मुख्यमन्त्री बनेका थिए भने ३ माघमा उनले विश्वासको मत लिएका थिए । त्यसक्रममा उनलाई कांग्रेसको समेत समर्थन प्राप्त भएको थियो । तर, राष्ट्रपति निर्वाचनको दौरान नयाँ समीकरण बन्ने टुंगो लागेपछि १३ फागुनमा सत्तासाझेदार दल राप्रपा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि जम्कट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् । 

मुख्यमन्त्री जम्कट्टेलले बुधबार विश्वासको मत लिने तयारीका लागि प्रदेश सभा सचिवालयलाई पत्रसमेत पठाइसकेका छन् । उनले नेपालको संविधानको धारा १८८ को २ बमोजिम संसद्बाट विश्वासको मत लिने तयारी गरेका हुन् । सोहीअनुसार प्रदेशसभा सचिवालयले ८ चैत दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

केन्द्रमा परिवर्तन भएको सत्तासमीकरणको पूर्ण प्रभाव भने अहिलेसम्म बागमती प्रदेशमा परेको छैन । राप्रपाले सरकार छाडे पनि एमाले सरकारमै छ । संघीय सरकारमा एमाले प्रमुख प्रतिपक्षी दल बनेको छ । तर, बुधबार बागमती प्रदेशको हकमा एमालेले के गर्छ भन्ने चासो छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले सरकार छोड्ने कि नछोड्ने र विश्वासको मत दिने कि नदिने भन्ने विषयमा बुधबार मात्रै निर्णय गर्ने बताए । ‘यो सरकार हामीले समर्थन गरेर बनेको हो । यसलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा भोलि मात्रै निर्णय गर्छौँ । हामी पार्टीको आन्तरिक छलफलमै छौँ,’ उनले भने, ‘हामी सरकारको नेतृत्व गरिरहेको माओवादीसँग पनि छलफलमै छौँ ।’ केन्द्रदेखि नै सत्तासमीकरणमा धेरै कुरा परिवर्तन भइसकेकाले केन्द्रको निर्णयले पनि महत्व राख्ने भएकाले आफूहरू केन्द्रीय निर्णयको पर्खाइमा रहेको पनि उनले बताए । 

जम्कट्टेललाई कांग्रेस र एकीकृत समाजवादीको समर्थनले पुग्ने
सात दलको प्रतिनिधित्व रहेको बागमतीमा एक सय १० सांसद छन् । एक सय १० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ५६ जना सांसदको समर्थक आवश्यक पर्छ । यसअघि ३ माघमा प्रदेशसभाबाट विश्वासको मत लिएका मुख्यमन्त्री जम्कट्टेललाई ६ दलका एक सय पाँचजना सांसदले विश्वसको मत दिएका थिए । गत २५ पुसमा ५ दलका ७० जना सांसदहरूको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका तीनजना सांसदले भने विश्वासको मत दिएका थिएनन् । प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुईजना सांसद रहेका छन् । मुख्यमन्त्री जम्कट्टेललाई केन्द्रीय सत्तासमीकरणमा रहेका दलहरू कांग्रेस, माओवादी र एकीकृत समाजवादीका सांसदहरूले मात्रै विश्वासको मत दिए पुग्छ ।

मुख्यमन्त्रीमा कांग्रेसको पनि दाबी
केन्द्रमा सत्तासमीकरण बदलिएसँगै विश्वासको मत लिन लागेका मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले मत दिने नदिने अझै टुंगो भइसकेको छैन । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले केन्द्रमा सत्तासमीकरण परिवर्तन भएसँगै बागमती प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेसको दाबी रहेको बताएकाले अवस्था अझै स्पष्ट हुन नसकेको हो । नयाँ पत्रिकासँग कुरा गर्दै उनले प्रदेशमा ठूलो दलको हैसियतमा बागमतीमा सरकारको नेतृत्व कांग्रेसले पाउनु स्वाभाविक भएको बताए । ‘यस विषषमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग पनि कुरा भइसकेको छ । उहाँले पहिले आफ्नो सरकारलाई विश्वासको मत दिएर वैधानिकता दिन आग्रह गर्नुभएको छ । त्यसपछि नेतृत्व परिवर्तनको विषयमा पनि छलफल गरौँला भन्नुभएको छ,’ नेता लामाले भने । 

नेता लामाले मुख्यमन्त्रीसँग विश्वासको मत लिने दिन अझै एक–दुई दिन पर सार्न आग्रह गरेको पनि बताए। उनले विश्वासको मत लिने विषयमा छलफल नै नगरी मुख्यमन्त्री जम्कट्टेलले मिति तय गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । ‘हामीले पार्टीमा आन्तरिक छलफल गर्न भ्याएका छैनौँ। केन्द्रमा सत्तासमीकरण परिवर्तन भएपछि उहाँले विश्वासको मत लिने विषयमा हामीसँग छलफल गर्नुपर्ने थियो । तर, छलफलविनै मुख्यमन्त्रीले विश्वासको मत लिने मिति तय गर्नुभयो,’ उनले भने,  ‘हामीले आठ गतेभन्दा एक–दुई दिन अझै पर सारेर पहिले अन्य विषयमा छलफल गरौँ भनेका छौँ ।’ उनले प्रदेशमा अहिले पनि एमाले सरकारमा रहेकोले अन्योल भएको बताए । 

मुख्यमन्त्री भन्छन्– पहिले विश्वासको मत, नेतृत्व परिवर्तनमा केन्द्रको निर्णय

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भने पहिले विश्वासको मत लिएर मात्रै बाँकी कुरामा छलफल हुने बताएका छन् । प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा केन्द्रीय सहमतिअनुसार नै हुने भएकाले आफू केन्द्रको निर्णय मान्न तयार रहेको बताए । ‘सरकारको नेतृत्व परिवर्तनको विषयमा केन्द्रले जे निर्णय गर्छ त्यही हुन्छ । तर, पहिला विश्वासको मत लिने काम सक्नुपर्छ । हामीले गठबन्धन दलहरूसँग यही विषयमा कुराकानी गरेका छौँ,’ उनले भने, ‘केन्द्रमा समीकरण परिवर्तन भएसँगै स्वाभाविकै रूपमा यसको प्रभाव प्रदेशमा पर्ने भएकाले हामी तयारी अवस्थामै छौँ ।’ जम्कट्टेलले चैत १३ गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेकाले पहिला विश्वासको मत लिन चाहेको बताए । विश्वासको मत लिने विषयमा पनि सबै दलसँग छलफल भइरहेको जानकारी दिए । उनले कांग्रेसले विश्वासको मत लिने दिन केही सार्न प्रस्ताव गरेको बताए ।