मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका तिलोत्तमा
२०७९ चैत ८ बुधबार ०८:३७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा मनाङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, तिलोत्तमा
२०७९ चैत ८ बुधबार ०८:३७:००

मनाङ मस्र्याङ्दी क्लब २२औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताको मंगलबारको खेलमा चारपटकको विजेता नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो ।मनाङको जितमा प्रसन्न श्रेष्ठ र चेतनकुमार थारूले एक–एक गोल गरेका थिए । पुलिसका लागि बुद्धबल तामाङले एक गोल फर्काए । खेलअवधिभर प्राप्त अवसरमा गोल गर्न नसक्दा पुलिस क्वार्टरफाइनलबाट बाहिरिएको हो । 

मनाङले पुलिसमाथि काउन्टर एट्याकमा दबाब राखेको थियो । खेलको ३२औँ मिनेटमा प्रसन्नले पुलिसको डिफेन्स तोड्दै डिबक्सबाट मनाङलाई १–० को अग्रता दिलाए । पहिलो हाफको दोस्रो इन्जुरी समयमा चेतनले मनाङलाई २–० को स्थितिमा राखे । उनले रिबाउन्डमा सहजै पहिलो बारमा गोल गरेका हुन् । 

पहिलो हाफको तुलनामा पुलिस मध्यान्तरपछि कमजोर देखियो । मनाङले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरे पनि थप गोल गर्न सकेन । दोस्रो हाफको १६औँ मिनेटमा बुद्धबहादुरले पोस्टभन्दा १८ यार्ड टाढाबाट पुलिसका लागि २–१ को गोलअन्तरका लागि गोल गरे । एक गोल फर्काएको पुलिसले खेल केही समय पडकमा लिएको थियो । यद्यपि, पुलिसका खेलाडीले अर्को गोल थप्न सकेनन् । खेलको अन्तिम समयमा पुलिसले प्राप्त फ्रिकिकमा गोल गर्न चुक्यो । 

चारपटकको विजेता पुलिस
पुलिसले ०३५, ०५१, ०५४ र ०५५ सालमा तिलोत्तमा गोल्डकप जितेको थियो । तिलोत्तमा गोल्डकपमा गर्विलो इतिहास बनाएको पुलिस ०७४ र ०७५ सालमा उपविजेता बनेको थियो । २०औँ संस्करणमा पुलिस थ्री स्टारसँग २–० ले पराजित भएको थियो । सेमिफाइनल स्थान बनाएको मनाङले अहिलेसम्म तिलोत्तमा गोल्डकपको उपाधि जित्न सकेको छैन । मनाङले अब फाइनल प्रवेशका लागि बिहीबार फ्रेन्ड्स क्लबको सामना गर्नेछ । 

फ्रेन्ड्सले सेमिफाइनल स्थान पक्का गर्ने क्रममा एपिएफलाई २–१ ले हराएको थियो । प्रतियोगिताअन्तर्गत बुधबार सुदूरपश्चिम ११ र थ्री स्टार क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ । सुदूरपश्चिमले उद्घाटन खेलमा रूपन्देही ११ लाई हराएको थियो । थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई पाखा लगाउँदै अन्तिम चारको स्थान सुरक्षित गरेको थियो ।