Skip This
रणजी ट्रफीमा नेपाली खेलाडीलाई मौका दिनुपर्छ : देसाई
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ८ बुधबार
  • Tuesday, 13 May, 2025
२o७९ चैत ८ बुधबार o७:४५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रणजी ट्रफीमा नेपाली खेलाडीलाई मौका दिनुपर्छ : देसाई

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् र भारतीय क्रिकेट कन्ट्रोल बोर्डसँग नेपाली टोलीलाई भारतमा खेल्ने वातावरण मिलाउन आग्रह गरेको प्रशिक्षक देसाईले बताए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ८ बुधबार o७:४५:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईले नेपाली खेलाडीलाई भारतको प्रतिष्ठित क्रिकेट प्रतियोतिगा रणजी ट्रफीमा मौका दिनुपर्ने बताएका छन् । ‘नेपाली खेलाडीलाई कम्तीमा भारतको रणजी ट्रफीमा मौका दिनुपर्छ,’ भारतको चर्चित अनलाइन क्रिकबजसँग कुराकानी गर्दै नेपालका प्रशिक्षक देसाईले भनेका छन् । देसाईको आगमनमा नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै एकदिवसीय विश्वकपको सीधै ग्लोबल छनोटमा स्थान पक्का गरेको थियो । 

गत साता नेपालले विश्वकप लिग–२ को १४०औँ खेलमा युएईलाई डकवर्थ लेविस नियममा नौ रनले हराउँदै ग्लोबल छनोट स्थान पक्का गरेको थियो । विश्वकप लिग–२ मा नेपालले ३६ खेलबाट ४० अंक बटुल्दै तेस्रो स्थान पक्का गरेको थियो । आइसिसीले विश्वकप लिग–२ का शीर्ष तीन टोली जिम्बावेमा हुने ग्लोबल छनोटमा सहभागी हुने जनाएको छ ।

देसाईले मुख्य प्रशिक्षकको जिम्मेवारी पाउनुअघि नेपाल विश्वकप लिग–२ को नाजुक अवस्थामा थियो । चार महिनाअघिसम्म नेपाल १८ अंकका साथ छैटौँ स्थानमा थियो । तर, देसाईको आगमनपछि नेपालले १२ मध्ये ११ खेलमा उत्कृष्ट जित निकाल्यो । यसक्रममा नेपालले त्रिवि क्रिकेट मैदानमा दुईवटा सिरिजमाथि क्लिन स्विप परेको थियो ।

देसाईको प्रशिक्षणमा १२ मध्ये ११ खेलमा जित
नेपाली क्रिकेटरले पछिल्ला १२ खेलमा देखाएको प्रदर्शनका आधारमा उनीहरूलाई रणजी ट्रफीमा मौका दिनुपर्ने धारणा प्रशिक्षक देसाईले राखेका हुन् । यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)सँग नेपाली टिमलाई भारतमा खेल्ने वातावरण मिलाउन आग्रह गरेको उनले बताएका छन् ।

 ‘यसबीचमा आइसिसी र बिसिसिआईका सचिव तथा एसिसी अध्यक्ष जयसँग कुरा गरेको छु,’ क्रिकबजसँगको अन्तर्वार्तामा देसाईले भने, ‘स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीले इंग्ल्यान्डमा खेलिरहेका छन्, हाम्रो टोलीलाई पनि भारतमा खेल्न दिइनुपर्छ, त्यो पनि रणजी ट्रफीमा ।’ नेपाली खेलाडीले रणजी ट्रफीमा खेल्न अवसर पाउँदा आउने चार वर्षमा नेपाल टेस्ट खेल्ने राष्ट्र हुने दाबी उनले गरेका छन् । 

‘नेपालले रणजी ट्रफीमा खेल्न मौका पाएको खण्डमा हामी आगामी ४ वर्षमा टेस्ट खेल्ने राष्ट्र बन्न सक्छौँ,’ उनले भनेका छन् । अन्तर्वार्ताका क्रममा नेपालपछि क्रिकेट सुरु गरेको राष्ट्र अफगानिस्तान आइसिसीको पूर्ण सदस्य बनेको प्रसंग उठाएका छन् । उनी भन्छन्, ‘अफगानिस्तानजस्तै हाम्रा छिमेकी देशहरू आइसिसीका पूर्ण सदस्य छन्, अफगानिस्तान र नेपालको क्रिकेट यात्रा एकै समयमा सुरु भएको हो ।’

यसैबीचमा देसाईले नेपाली क्रिकेट समर्थकको खुबै प्रशंसा गरेका छन् । नेपाली समर्थकबीच देखेको क्रेज आफूले अरू देशमा नपाएको उनको भनाइ छ । ‘ड्रेसिङ रुमबाट रूखमा प्रशंसकहरूलाई देख्दा अचम्मित र चिन्तित भएँ,’ उनले भने, ‘प्रशंसक रूखको हाँगादेखि घरका छतहरूमा थिए, मलाई एक समय रूखका हाँगा भाँचिन्छ जस्तो लागेको थियो ।’