१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अस्पताल भर्ना भएका बिरामी खोलामा मृत फेला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५४:oo

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना भएर उपचाररत बिरामी जुगाडखोलामा मृत भेटिएका छन्।

६ दिनदेखि अस्पतालमा भर्ना भएका तातोपानी गाउँपालिका– ५ लाम्राका ७३ वर्षीय लल्लु सार्की अस्पतालनजिकै रहेको जुगाडखोलामा मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार राति साढे १२ बजेको समयमा बिरामी अस्पतालको कम्पाउन्डदेखि बाहिर निस्किएका थिए।

प्रहरी निरीक्षक यामबहादुर बुढामगरले बिरामीको हातमा क्यानलग भएको बताए। उनले भने, ‘बिरामी अस्पतालबाहिर निस्केर लडेर बेहोस भएको र खोलामै बसिरहँदा मृत्यु भएको हुन सक्ने अनुमान छ।’

बिरामी हराएको खबर प्राप्त हुनेबित्तिकै जिल्ला प्रहरी कार्यालय जुम्लाले टोली परिचालन गरेको थियो। तर, बिरामीका आफन्तले भर्ना भएको बिरामी अस्पतालबाहिर निस्किएर खोलामा मृत भेटिनु राम्रो नभएको बताएका छन्। 

उनीहरूले अस्पतालबाट बाहिर निस्कँदा वार्डमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूदेखि गेटमा रहेका सुरक्षागार्डहरूले समेत वास्ता नगर्नु ठूलो समस्या भएको बताएका छन्।

बिरामी लल्लु अस्पतालको दुई तलामा रहेको ४ नम्बर बेडमा भर्ना भएका थिए। लल्लु अस्पतालबाहिर निस्केको कुरुवा रहेकी उनकी श्रीमतीले समेत थाहा पाइनन्।
 
बिरामी भर्ना भएको वार्डबाट बाहिर निस्कँदा झन्डै तीनवटा गेट पार गर्नुपर्छ। तर, कुनै पनि गेटमा उनलाई निगरानी नराख्नु लापरबाही भएको बिरामीका आफन्तले आरोप लगाएका छन्।

यता अस्पतालले पौने ११ बजे नै बिरामी नहुँदा कुरुवा बसेकी उनकी श्रीमती गोवीधरा सार्कीलाई सोधेको बताएको छ। उनले बिरामी ट्वाइलेट गएको भनेकी थिइन्। 

ट्वाइलेटमा समेत नभेटाएपछि बिरामीको खोजी अस्पतालले पनि सुरु गरेको थियो। डक्टर र नर्सहरूले उनलाई नियमित रूपमा रेखदेखदेखि औषधि–उपचार गराइरहेका थिए।

मृतक सार्कीको परिवार दुई हप्ताअघि मात्रै काठमाडौंदेखि जुम्ला आएका थिए। उनका तीन छोरा र एक छोरी छन्। उनीहरू सबै काठमाडौं बस्छन्। 

बिरामी खोज्न गाउँदेखि २ बजे नै आफन्तहरू सदरमुकाम खलंगा पुगिसकेका थिए। मृतकका भाइ कैलो सार्कीले अस्पतालको लापरबाहीका लागि आफ्नो दाजुको मृत्यु भएको बताएका छन्।