मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ६ सोमबार ०९:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारबाट बाहिरिएको २० दिनपछि एमाले प्रमुख प्रतिपक्ष भूमिकामा

प्रतिपक्षी मोर्चा बलियो बनाउन अन्य दलसँग पनि सहकार्यको नीति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ६ सोमबार ०९:०९:००

सरकारबाट बाहिरिएको २० दिनपछि एमालेले संसद्मा प्रमुख प्रतिपक्षी दलको भूमिका सम्हालेको छ । आइतबारको संसद् बैठकमा सभामुख देवराज घिमिरेको बायाँतर्फको आसनमा सिट व्यवस्थापन भएसँगै आसनमा बसेर एमाले प्रमुख प्रतिपक्षी दलको जिम्मेवारीमा देखिएको हो ।१५ फागुनमा विश्वासको मत फिर्ता लिएर एमाले सरकारबाट बाहिरिएको थियो । कांग्रेसले प्रमुख प्रतिपक्षको आसन नछाडेपछि अन्योलका कारण १७ फागुनको संसद् बैठक सूचना टाँस गरी स्थगित भएको थियो । 

प्रमुख प्रतिपक्षको भूमिका सम्हाल्दै एमालेले तत्कालका लागि सरकारलाई संसद्प्रति जिम्मेवार र जवाफदेही बनाउन दबाब र खबरदारीको प्रमुख प्रतिपक्षीय परम्परागत भूमिकालाई प्राथमिकता दिने नीति अख्तियार गर्ने भएको छ । प्रमुख सचेतक तथा पूर्वमन्त्री पदम गिरीले तत्कालका लागि पार्टीले सदनमा जनताले आफ्नो आवाज सम्बोधन भएको अनुभूति दिलाउने गरी काम गर्ने बताए । 

‘मूल रूपमा प्रमुख प्रतिपक्षी दलका रूपमा तत्कालका लागि हामी जनताका मुद्दालाई, आवाजलाई सदनमा सशक्त र प्रखर ढंगले उठाउँछौँ । राम्रो काम गर्दा सरकारलाई सहयोग गर्छौँ, गलत काम गर्दा खबरदारी गर्छौँ र सरकारलाई जनताप्रति, सदनप्रति जवाफदेही र उत्तरदायी बनाउने गरी अघि बढ्छौँ,’ गिरीले नयाँ पत्रिकासँग भने, ‘समस्या र अप्ठ्यारोमा एमालेले हाम्रा आवाज सम्बोधनका लागि सदनमा भूमिका खेलेर साथ दिएको छ भन्ने जनतालाई अनुभूति दिलाउने गरी प्रखर रूपमा प्रस्तुत हुन्छौँ ।’ 

संसद्मा प्रतिनिधित्व गर्ने नौ दलले सरकारलाई विश्वासको मत दिने तयारी गरिरहेका छन् । दोस्रो ठूलो दल एमालेसँगै पाँचौँ दल राप्रपा र नेमकिपा प्रतिपक्षी भूमिकामा रहने करिब निश्चित छ । गिरीले सरकारले गलत काम गर्दा कतिपय मुद्दामा प्रतिपक्षमा रहने ती दलहरूसँग पनि भविष्यमा सहकार्य गरेर जान सक्ने विषयलाई एमालेले खुला राखेको बताए । ‘गलत काम र जनविरोधी कदमविरुद्ध सरकारलाई दबाब दिन प्रतिपक्षमा बस्ने दलहरूसँग कतिपय मुद्दामा मिलेर जान सकिन्छ,’ गिरीले भने । 

आइतबारको बैठकमा सचेतक महेश बर्तौलाले सरकारले अनुदान कटौती गरेर किसानको ढाड सेक्ने गरी मलमा मूल्यवृद्धि गरेकोमा विरोध गर्दै फिर्ता लिन माग गरेका थिए । ‘यो सरकार कसका लागि काम गरिरहेको छ ? नेपालका किसानलाई समयमा एक बोरा मलसमेत उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड सेक्ने गरी, ढाड भाँच्ने गरी मलमा मूल्य वृद्धि गरेको छ । मलमा दिँदै आएको अनुदान कटौती गरेको छ । कहिलेसम्म किसानले सरकारबाट यस खालको ज्यादतीपूर्ण अन्याय सहनुपर्ने हो ? बर्तौलाले प्रश्न गरे । 

आइतबारै एमालेले मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै प्रेस विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । किसानले मल किन्नै नसक्ने अवस्था बनेको र त्यसको प्रभाव उत्पादनमा परेको भन्दै एमालेले मूल्यवृद्धि फिर्ता गर्न माग गरेको हो ।