Skip This
आर्थिक संकटमा बार्सिलोना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Saturday, 27 July, 2024
एजेन्सी लन्डन
२o७९ चैत ६ सोमबार o८:१६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्थिक संकटमा बार्सिलोना

आर्थिक समस्याका कारण बार्सिलोनाले खेलाडी किनबेच सिजनमा एकजना खेलाडी पनि अनुबन्ध गर्न सकेन

Read Time : > 1 मिनेट
एजेन्सी, लन्डन
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार o८:१६:oo

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा छ । मैदानभित्र खेलाडीहरूले कडा मिहिनेत गरिरहेका छन् । बार्सिलोनालाई स्पेनिस ला लिगा च्याम्पियन बनाउने अभियानमा खेलाडी कस्सिएका छन् । मैदानभित्र उनीहरू खुसी देखिन्छन् । तर, उनीहरूको यो खुसी केवल देखावटी मात्र हो । मैदानबाहिर बार्सिलोना व्यवस्थापन यति कमजोर छ, तीन वर्षपछि बार्सिलोना फेरि एकपटक आर्थिक संकटमा परेको छ । यो सिजनको खेलाडी किनबेच समयमा बार्सिलोनाले एकजना पनि नयाँ खेलाडी भित्र्याउन सकेन । 

कोभिडको समयमा जस्तै बार्सिलोनाको आर्थिक अवस्था निकै नाजुक रहेको स्पेनिस मिडियाहरूले जनाएका छन् । बार्सिलोनाको ठूलो समस्या नै खेलाडीहरूको पारिश्रमिक हो । यो सिजनमै खेलाडीलाई १८० मिलियन पाउन्ड बार्सिलोनाले दिन बाँकी छ । यो रकम शून्यमा नझरेसम्म बार्सिलोना आर्थिक रूपमा बलियो नहुने तर्क स्पेनिस मिडियाहरूले गरेका छन् । बार्सिलोनाले समग्रमा खेलाडीलाई पाँच सय ८२ मिलियन पाउन्ड दिन बाँकी छ ।

दुई वर्षअघि आर्थिक समस्याकै कारण प्लेमेकर लियोनल मेसीले बार्सिलोना छाडेका थिए । १७ वर्ष बार्सिलोनामा रहेका मेसीले फ्रेन्च पेरिस सेन्ट जर्मेन (पिएसजी)मा बाध्यतावश जानुपरेको बताएका थिए । आधा तलब दिँदा पनि बार्सिलोनामै बस्ने घोषणा गर्दा पनि मेसीलाई क्लबको व्यवस्थापनले राख्न सकेन ।

 त्यसै समयमा बार्सिलोनामा आर्थिक भ्रष्टाचार भएको थियो । सन् २०१८ को आर्थिक घोटालालाई लिएर गत साता मात्र अदालतमा मुद्दा दायर भएको छ । यही मुद्दाले अब बार्सिलोनाको व्यवस्थापकलाई समस्यामा राख्न सक्छ । अदालतमा मुद्दा छिनोफानो नहुँदासम्म बार्सिलोनाको व्यवस्थापनले धेरै किसिमको झन्झट खेप्नुपर्ने स्पेनिस लिगका अध्यक्ष जाभियर टेवासले बताएका छन् । 

जाभियरले गत साता लन्डनमा दिएको एक अन्तर्वार्तामा बार्सिलोनाले नयाँ सिजनमा खेलाडी अनुबन्ध गर्न नसक्ने दाबी गरेका थिए । ‘जबसम्म पुराना मुद्दा किनारा लाग्दैन, त्यसवेलासम्म बार्सिलोनाले नयाँ खेलाडी भित्र्याउन सक्दैन,’ जाभियरले भने, ‘यसकारण नै अहिले बार्सिलोनामा आर्थिक संकट फेरि एकपटक देखिएको हो ।’ 

अर्कोतिर, बार्सिलोनाका अध्यक्ष जुआन लापार्टोले बारम्बार क्लबमा नयाँ खेलाडीको आगमन छिटै हुने आश्वासन दिइरहेका छन् । अहिले बार्सिलोनामा सेन्टर ब्याक, राइट ब्याक तथा विश्वस्तरीय स्ट्राइकरको अभाव छ । ‘हामीलाई आवश्यक पर्ने खेलाडी छिटै अनुबन्ध हुनेछन्,’ बार्सिलोनाका अध्यक्ष जुआनले भनेका छन्, ‘क्लबमा भएका समस्याबीच पनि नयाँ खेलाडी आउनेछन् ।’

आर्थिक समस्या समाधान गर्न बार्सिलोनासँग खेलाडी बिक्रीबाहेक अन्य कुनै विकल्प नभएको स्पेनिस लिगका अध्यक्ष जाभियरले बताए । ‘राम्रा खेलाडी बिक्रीबाट मात्र आर्थिक पक्ष सुधार गर्न सकिन्छ, यद्यपि क्लबसँग अहिले त्यो स्तरका खेलाडी छैनन्,’ उनले भने, ‘नयाँ युवा खेलाडी अनुबन्ध गर्न पनि ठूलो रकम चाहिन्छ, बार्सिलोनासँग वर्तमान समयमा त्यो सामथ्र्य छैन ।’