मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १७ बिहीबार
  • Thursday, 29 February, 2024
सिराहाको धनगढीमाई नगरपालिका–६ कट्टीटोलस्थित सन्तोषकुमार यादवको झुपडी जहाँ उनका बुबाआमा र एक भाइ बस्छन्
२०७९ चैत ६ सोमबार ०६:३७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दलालले झुक्याएर भिजिट भिसामा पठाएका श्रमिकको शव ५६ दिनदेखि दुबईमा

बहिनीको विवाहमा लागेको सात लाख ऋण तिर्ने र झुपडीमा बसिरहेका आमाबुबालाई नयाँ घर बनाएर राख्ने सपनासहित थप ऋण काढेर दुबई उडेका सन्तोष यादव उतै अलप भए, बुबाआमा ५६ दिनदेखि शवको पर्खाइमा

Read Time : > 2 मिनेट
२०७९ चैत ६ सोमबार ०६:३७:००

सिराहाको धनगढीमाई नगरपालिका– ६ कट्टीटोलका ५४ वर्षीय किशोर यादव र उनकी पत्नी ४७ वर्षीया झुनियादेवीको आँखा नओभाएको झन्डै दुई महिना भयो । बहिनीको विवाहमा लागेको ऋण तिर्ने र झुपडीमा बसिरहेका आमाबुबालाई नयाँ घर बनाएर राख्ने सपनासहित दुबई उडेको जेठो छोरो सन्तोष कहिल्यै नफर्किने गरी उतै अलप भएपछि यादवदम्पतीको भोकप्यास हराएको छ । उनीहरू छोराको शवको पर्खाइमा छन्, तर ५६ दिन बितिसक्यो, शव कहिले आउँछ अझै टुंगो छैन । 

‘विदेशमा कमाएर ऋण तिर्छु, नयाँ घर बनाएर तपाईंहरूलाई राम्रो गरी राख्छु भन्थ्यो । फर्केपछि बिहे गरिदिने सोचेका थियौँ । तर, उतै बितेको खबर आयो । हामी अभागीले बुढेसकालमा छोराको मृत्युको खबर सुन्नुपर्‍यो,’ किशोरले भक्कानिँदै भने, ‘अहिलेसम्म शव पनि देख्न पाएका छैनौँ ।’ धनगढीमाई– ७ मा पर्ने अयोध्यानगर कसहा चोकदेखि करिब तीन किलोमिटर दक्षिण–पूर्व किशोरको छाप्रो छ, जहाँ पत्नी र कान्छो छोरा रामवरणसँगै उनी बस्छन् । सन्तोषको मृत्युको खबर आएदेखि यो सानो छाप्रोमा सन्नाटा छाएको छ । 

महोत्तरी बर्दिबासका म्यानपावर एजेन्ट शम्भु ठाकुरले दुबईमा राम्रो जागिर मिलाइदिने आश्वासन दिएपछि सन्तोष विदेश जान कस्सिएका थिए । ऋणबाट मुक्ति पाउन र परिवारको आर्थिक अवस्था सुधार्न उनीसँग अर्को विकल्प पनि थिएन । गाउँमै थप दुई लाख ३० हजार ऋण खोजे र विदेश जाने तयारी गरे । त्यसमध्ये एक लाख ८४ हजार एजेन्ट ठाकुरलाई बुझाएको सन्तोषका भाइ रामवरणले बताए । ‘बाँकी पैसा पासपोर्ट बनाउनुका साथै लत्ताकपडा किन्न र काठमाडौं ओहोरदोहोर गर्नमा सकियो,’ उनले भने । ठाकुरले काठमाडौंको सामाखुसीस्थित न्युलाइट इन्टरनेसनल म्यानपावरमार्फत सन्तोषलाई दुबई पठाएका थिए । 

ठाकुरले ०७७ कात्तिकमा सन्तोषलाई झुक्याउँदै भिजिट भिसामा दुबई उडाएका थिए । ८ कात्तिकमा दुबई पुगेका सन्तोषले श्रम स्वीकृति नभएका कारण तत्काल काम पाएनन् । तीन महिना नबित्दै घरमा फोन गरेर उनले आफूलाई दलालले ठगेको र घर फर्किन चाहेको सुनाएका थिए । तर, ऋण खोजेर दुबई पुगेका उनी फर्किन पनि सकेनन् । किनभने सात वर्षअघि बहिनी सतिलाको विवाह गर्दा सयकडा तीनका दरले लिएको सात लाख ऋण थियो । त्यसमाथि विदेश जाँदा दुई लाख ३० हजार थपिएको थियो । ‘राम्रो कमाइ हुन्छ भनेर दलालले छोरालाई दुबई पु¥यायो । छोरो उतै बिलायो,’ आमा झुनियादेवीले भनिन् । 

१२ माघ ०७७ मा दुबईस्थित सुप्रिमो हस्पिटालिटी सर्भिसेज प्रालिका सुमन परियारले आफूलाई क्लिनरको काम गर्ने गरी कम्पनीमा राखेको जानकारी सन्तोषले परिवारलाई गराएका थिए । बुबा किशोरका अनुसार उनले कार धुने काम गर्थे । तर, कति तलब पाइन्छ, कसरी बसेका थिए परिवारलाई केही थाहा थिएन । विदेश गएपछि सन्तोषले दुईपटक गरी ६७ हजार रुपैयाँ भने घर पठाएको भाइ रामवरणले बताए ।

यसैबीच गत पुसको दोस्रो साता सन्तोषको मृत्यु भएको खबर घर पुग्यो । युएईको स्वास्थ्य मन्त्रालयअन्तर्गत उम अल क्युवेन जिल्लास्थित प्रिभोन्टिभ विभागबाट जारी गरिएको मृत्यु प्रमाणपत्रमा १० पुस ०७९ (२३ जनवरी २०२३)मा उनको मृत्यु भएको उल्लेख छ । खाना र औषधि नपाएर छोरो बितेको खबर आए पनि त्यसबाहेक आफूलाई कुनै जानकारी नभएको बुबा किशोरले बताए ।

काठमाडौंमा रहेर सन्तोषको शव झिकाउन दौडधुप गरिरहेका आफन्त धीरू यादवका अनुसार सुप्रिमो कम्पनीमा काम गर्दागर्दै ढलेपछि मस्तिष्कमा पानी जमेको पाइएको थियो । शल्यक्रिया गरेको केही महिनापछि सन्तोष काममा पनि फर्किएका थिए । तर, पछि काम गर्दागर्दै निधन भएको खबर आयो । शव झिकाउन दूतावासका अधिकारी, वैदेशिक रोजगार बोर्डमा दौडधुप गर्दै आवश्यक निवेदन दिए पनि दुबई प्रहरीले छानबिन गरिरहेको भन्दै फकाईएको धीरूले बताए । 

सन्तोषका बुबा र आमा

सन्तोषलाई विदेश पठाउने एजेन्ट शम्भु ठाकुरले फोन नै ब्लक गरिदिएको भाइ रामवरणले बताए । ‘सुुरुमा फोन गर्दा शव ल्याउन पहल गर्दै छौँ भन्थ्यो, तर अहिले त फोन नै ब्लक गरेको छ,’ उनले भने । नयाँ पत्रिकाको सम्पर्कमा आएका ठाकुरले भने आफूले म्यानपावर कम्पनीले भनेअनुसार प्लेनको टिकट मात्रै बुक गराएको दाबी गरे । 

युएईस्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीनबन्धु सुवेदीले सन्तोषको घटना सम्बन्धमा दूतावासले नो अब्जेक्सन लेटर (एनओसी) जारी गरिसकेको भए पनि घटना अनुसन्धानका क्रममा रहेकाले शव पठाउन नसकिएको बताए । ‘सन्तोष यादवको निधनको घटना उम अल क्युवेनको प्रशासनले अनुसन्धान गरिरहेको छ । प्रहरी रिपोर्ट आउनेबित्तिकै शव नेपाल पठाइनेछ,’ उनले भने, ‘स्थानीय प्रहरीबाट क्लेअरेन्स (सफाइ) सर्टिफिकेटको प्रतीक्षा छ । दूतावास निरन्तर सम्पर्कमा छ ।’

रामवरणका अनुसार सन्तोषको निधनपश्चात् ७० वर्षीय हजुरबुबा हरि यादवको १० पुसमा निधन भएको छ । तर, दाइको शव नआएकाले हजुरबुबाको काजकिरियासमेत गर्न नपाएको उनले बताए । दाहसंस्कार भने भइसकेको छ । ‘हजुरबुबाभन्दा अगाडि नातिको निधन भएको थियो । तर, शव पनि नआएकाले कसरी काजकिरिया गर्ने भन्ने कुरा उठेपछि दुवैको काजकिरिया भएको छैन,’ उनले भने । रामवरणले हालै मात्र कक्षा १२ उत्तीर्ण गरेका छन् । तर, विदेशमा दाइको ज्यान गएपछि उनी स्नातक भर्ना हुन सकेका छैनन् ।