Skip This
विजयखर्क लिफ्टिङ खानेपानीमा गुणस्तरहीन काम गरेका ठेकेदारको वडाध्यक्षद्वारा बचाउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ५ आइतबार
  • Saturday, 27 July, 2024
समाचार डिजिटल संस्करण

विजयखर्क लिफ्टिङ खानेपानीमा गुणस्तरहीन काम गरेका ठेकेदारको वडाध्यक्षद्वारा बचाउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ५ आइतबार ११:३६:oo

दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका– १५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको गुणस्तरहीन भौतिक पूर्वाधार निर्माणमा वडाध्यक्षले ठेकेदारको बचाउ गरेका छन्। 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खोटाङबाट सञ्चालित ‘साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’को निर्माणाधीन ट्यांकी गुणस्तरहीन भएको विषय सार्वजनिक भएपछि वडाध्यक्ष रामबहादुर कटवालले ध्यानाकार्षणपत्र जारी गर्दै ठेकेदारको बचाउ गरेका हुन्। 

ठेकेदार कम्पनी सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी प्रा.लि. काठमाडौंले आफ्नो कमजोरी स्विकारेर गुणस्तरहीन ट्यांकी भत्काउन थालेको पर्सिपल्ट वडाध्यक्ष कटवालले वडा कार्यालयको लेटरप्याडमा ध्यानाकर्षणपत्र जारी गर्दै आपत्ति भएको जनाएका छन्।

वडामा सञ्चालित विकासे आयोजनाका काममा आफूहरूको निगरानी भइरहेको जानकारी दिँदै स्थानीय नरेन्द्र ढकाललगायतले झुटो प्रचार गरेर आयोजनाको काम प्रभावित पार्न खोजेको ध्यानाकर्षणपत्रमा उल्लेख छ। 

लिफ्टिङ खानेपानी आयोजनाको मेनलाइनअन्तर्गत फूलमतीडाँडा र जुरेथुम्काडाँडामा निर्माणाधीन ट्यांकीको प्लास्टर उप्काएर सामाजिक सञ्जालमा हाल्दै झुटो प्रचार गरेको ध्यानाकर्षणपत्रमा उल्लेख छ। 

‘निर्माणाधीन ट्यांकी प्लास्टर गरेको २४ घन्टा नपुग्दै काँटी र रड प्रयोग गरेर उप्काइएको छ,’ वडाध्यक्ष कटवालले जारी गरेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘सामाजिक सञ्जालमा राखिएको भिडियोमा कुनै सत्यता छैन। आयोजनाको कामलाई गुणस्तरीय हामी आम वडावासीको दायित्व हो। आयोजना प्रभावित पार्ने तरिकाले अनधिकृत व्यक्तिले निर्माणाधीन संरचना भत्काउने एवं क्षति पुर्‍याउने काम नगर्न–नगराउन हार्दिक अपिल गर्दछौँ।’  

लिफ्टिङ खानेपानी आयोजनाको ट्यांकी निर्माणका क्रममा भएको कमजोरी सच्याउन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय र निर्माण कम्पनीलाई मौखिक निर्देशन दिइएको नगर प्रमुख तीर्थराज भट्टराई बताएका छन्। 

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय, खोटाङको निर्देशनमा उपभोक्ता समिति र निर्माण कम्पनी आफैँले फागुन १ गते स्वास्थ्यचौकीडाँडाभन्दा माथि फिरफिरेमा निर्माणाधीन गुणस्तरहीन ट्यांकी ह्याम्मर र स्क्स्काभेटर लगाएर फुटाएका थिए। 

लिफ्टिङ खानेपानी आयोजनाका लागि वितरणलाइनतर्फ पाँचवटा फेरोसिमेन्ट ट्यांकी बनाउनुपर्ने सम्झौतामा उल्लेख छ। पहिलो ट्यांकी कमजोर बनेपछि सबै वितरणलाइनको ट्यांकी आरसिसी ढलान बनाउन निर्देशन दिइएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हीराकाजी महर्जनले बताएका छन्। 

विजयखर्कका सात सय २५ घरधुरीलाई पानीको सुविधा दिने गरी ०७९ साउन ५ गतेदेखि आयोजनाको काम सुरु गरिएको थियो। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, दिक्तेल, खोटाङमार्फत भ्याट तथा पिएससहित रु. २९ करोड १३ लाख ९८ हजार नाै सय ९० लागतमा सक्ने गरी लिफ्टिङ खानेपानी आयोजनाको ठेक्का लागेको हो। 

०८१ साउन ४ गतेसम्ममा सक्ने गरी उक्त निर्माण कम्पनीले ०७९ असार २२ गते आयोजनाको सम्झौता गरेको थियो । बस्तीनजिक र सबैको नजर पर्ने ठाउँमै कमजोर संरचना बनाएको ठेकेदारले बस्तीभन्दा तल जंगल र खोला आसपासका संरचना निर्माणका क्रममा झनै लापरबाही गरेको स्थानीयको दाबी छ। 

लिफ्टिङ खानेपानी आयोजनाको मेनलाइनतर्फको ट्यांकीको गुणस्तरमा पनि स्थानीय बासिन्दाले प्रश्न उठाएका छन्। स्थानीयले फलामको काँटीले कोतर्दा ह्वारह्वार्ती ट्यांकीको प्लास्टर कोतरिएर झरेको भिडियो बुधबार सामाजिक सञ्जालमा राखेपछि चौतर्फी विरोध भइरहेको छ।

ट्यांकी निर्माणका क्रममा खोलाको माटो मिसिएको बालुवा प्रयोग गरिएको, नियमित क्युरिङ (पानीले भिजाउने काम) नगरिएको स्थानीय बासिन्दाले बताएका छन्। लिफ्टिङ खानेपानी आयोजनाको करिब ३३ प्रतिशत काम सकिएको उपभोक्ता समितिका अध्यक्ष सरोज राईले जानकारी दिएका छन्।

वितरण लाइनमा २० हजार लिटरको दुई, १४ हजार, १२ हजार र दश हजार लिटरको एक–एकवटा ट्यांकी निर्माण गरेर उपभोक्ताको घरघरमा खानेपानीको धारा पुर्‍याउने गरी डिपिआर बनेको छ। 

मेनलाइनअन्तर्गत साप्सुखोलामा एक लाख लिटर, फूलमतीमा २० हजार, जुरेथुम्का २० हजार, बागेढुंगा २० हजार, स्वास्थ्यचौकीडाँडामा २० हजार र सहदेवगढीमा ५० हजार लिटरको ट्यांकी निर्माणको काम भइरहेका छन्।