
आइसिसी विश्वकप लिग– २ को अन्तिम खेलमा नेपालले युएईलाई नाै रनले पराजित गरेको छ। जितसँगै नेपाल लिगकाे तेस्रो स्थानमा उक्लिएको छ। र, ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ।
ब्याडलाइटको कारण बाँकी ओभरको खेल सम्पन्न हुन नसकेपछि डिएलएस नियमअनुसार नेपाल विजयी भएको हो।
४४औँ ओभरमा खेल रोकिँदा नेपालले ६ विकेट गुमाएर दुई सय ६९ रन बनाएको थियो। ४२औँ ओभरसम्म पनि नेपाल डिएलएस नियमअनुसार निर्णय हुँदा नेपाल पछाडि परिरहेको थियो। पछिल्ला केही ओभरमा युएईले बलिङमा ढिलाइ गरिरहेको थियो। तर, एकै ओभरमा गुल्सन झाले एक छक्का र तीन चौकासहित २० रन प्रहार गरेपछि नेपाल खेलमा फर्किएको हो।
यो ऐतिहासिक जितसँगै नेपालले आगामी वर्ष भारतमा आयोजना हुने विश्वकपमा सहभागी हुनका लागि खेलिने ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। साथै, लिग २ को अन्तिम सिरिज पनि नेपालले क्लिन स्विप गरेको छ। यसैगरी, पछिल्ला १२ मध्ये ११ मा जित हासिल गरेर उत्कृष्ट फर्ममा रहेको सन्देश दिएको छ।