मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत २ बिहीबार ११:३२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकले ल्यायो जीवन बिमा सुविधासहितको मुद्दती खाता योजना

Read Time : < 1 मिनेट
२०७९ चैत २ बिहीबार ११:३२:००

कुमारी बैंकले जीवन बिमा सुविधासहितको मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकको मुद्दती रकम २ गुणा वृद्धि हुनुका साथै आवधिक जीवन बिमामार्फत जोखिम व्यवस्थापन गर्ने अवसरसमेत प्रदान गर्ने सेवा ल्याएको हो ।

जीवन बिमा सुविधासहितकोे मुद्दती निक्षेप योजना नेपालमै पहिलोपटक भएको बैंकको दाबी छ । बैंकले कुमारी जीवन बिमा दुई गुणा मुद्दती खाता प्लसमा ६ वर्ष आठ महिना नौ दिनमा मुद्दती रकम दुई गुणा हुने व्यवस्था गरेको जनाएको छ ।

योजनाअन्तर्गत मुद्दती रकमबराबरको आवधिक जीवन बिमा सुविधाबापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्ने जनाइएको छ ।
यस योजनामा १८ देखि ५० वर्ष उमेर समूहका ग्राहकले न्यूनतम ५० हजार रुपैयाँ वा सोभन्दा माथिको मुद्दती खाता खोल्न सक्ने जनाइएको छ ।

योजनाअन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँसम्मको जीवन बिमा सुविधा प्राप्त गर्न सक्ने उल्लेख छ । ग्राहकहरूले निक्षेप अवधिसम्मका लागि जीवन बिमा सुरक्षण प्राप्त गर्नुका साथै सोही अवधिमा मुद्दती रकम दुई गुणा वृद्धि हुने बैंकले जनाएको छ । योजनाको बिमा प्रदायक कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको उल्लेख छ । 

हाल बैंकले देशभरमा तीन सय चार शाखा, दुई सय ९४ एटिएम, ६२ शाखारहित बैंकिङ एकाइ तथा ४९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।