मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अव्यवस्थित तार हटाउने विषयमा इन्टरनेट सेवा प्रदायक कम्पनी र अन्य निकायसँग छलफल गर्दै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन । 
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २ बिहीबार ०८:१२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ललितपुर महानगरले सात दिनमै हटायो अव्यवस्थित तार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २ बिहीबार ०८:१२:००

ललितपुर महानगरपालिकाले तोकिएको क्षेत्रको तार व्यवस्थापन समयअगावै सकाएको छ । महानगरपालिकाले चार स्थानको अव्यवस्थित तार १० दिनमा हटाउने योजना बनाए पनि सात दिनमै सकाएको हो ।

महानगरद्वारा जारी विज्ञप्तिमा पहिलो चरणको काम सफल भएको उल्लेख छ । ‘सहरलाई असुरक्षित बनाउने र सुन्दरतामा आँच पुग्ने गरी टाँगिएका तार व्यवस्थापन गर्न महानगरले गरेको प्रारम्भिक प्रयास सफल भएको छ । फलस्वरूप अव्यवस्थित तारको व्यवस्थापन भएको छ । तार व्यवस्थापनपछि ती क्षेत्र सफा र सुन्दर देखिएका छन्,’ विज्ञप्तिमा भनिएको छ । महानगरले पहिलो चरणमा महानगरभित्रका चार क्षेत्र अशोक स्तुपा क्षेत्र, कुम्भेरश्वर मन्दिर परिसर, पाटन दरबार क्षेत्रवरपर र रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने ठाउँ पुल्चोकस्थित रथखेलमा टाँगिएका तार १० दिनभित्र हटाउन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन (आइएसपिए)लाई निर्देशन दिएको थियो । तर, ती स्थानका तार सात दिनमै हटेको छ । 

महानगरपालिकाले १७ फागुनमा इन्टरनेट सेवा प्रदायक कम्पनी, नेपाल टेलिकम, विद्युत् प्राधिकरणलगायत निकायलाई बोलाएर अव्यवस्थित तार व्यवस्थित गर्ने अभियान सुरु गर्ने निर्णय भएको जनाएको थियो । महानगरपालिकाले १८ फागुनदेखि अभियान सुरु गरेको थियो । ‘अव्यवस्थित तारका कारण आगलागी, दुर्घटना, सहर नै कुरूप देखियो । यहीकारण तार हटाउन अभियान सुरु गरेका हौँ । अभियानले फेरि निरन्तरता पाउनेछ,’ महानगरपालिका सूचना अधिकारी देवप्रसाद गुरागाईंले भने । महानगरले अव्यवस्थित तार व्यवस्थापनका लागि यसअघि नै सार्वजनिक सूचनासमेत जारी गरेको थियो ।