मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ चैत २ बिहीबार ०६:११:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ चैत २ बिहीबार ०६:११:००

एकपटक सन्त रामदास भिक्षा माग्दै एक घरको मूल ढोकाअगाडि पुगे र भिक्षाका लागि आवाज दिए । ढोकाबाट एक महिला बाहिर निस्किइन् । उनले सन्तको झोलीमा भिक्षा खन्याइसकेपछि भनिन्– सन्त महाराज, मलाई कुनै उपदेश दिनुहोस् । उपदेशामृत पान गरेर तृप्त हुन चाहन्छु । सन्तले भने– आज होइन, म भोलि तिमीलाई उपदेश दिनेछु । 

भोलिपल्ट उनै सन्तले सोही घरमा पुगेर पुनः भिक्षाका लागि आवाज दिए । तिनै महिला हातमा मगमग बास्ना आइरहेको खिरको कचौरा लिएर बाहिर आइन् । सन्तले आफ्नो कमण्डलु अघि सारे । कमण्डलुमा खिर खन्याउनै लाग्दा महिला अचानक रोकिइन् । किनकि, कमण्डलुमा गोबर थियो । उनले भनिन्– सन्त महाराज, कमण्डलुमा त गोबर रहेछ । ल्याउनुहोस् म माझेर ल्याउँछु अनि खिर हालौँला । 

सन्तले भने– केही छैन, गोबर भए पनि खिर यहीँ खन्याइदेऊ । महिलाले भनिन्– होइन महाराज, यो कमण्डलु सफा नगरी यहाँ खिर हालियो भने त्यो खानयोग्य रहँदैन । त्यसैले, म पहिले यो कमण्डलु सफा गरेर शुद्ध बनाउँछु अनि मात्र खिर हाल्छु । महिलाको कुरा सुनेपछि सन्तले प्रश्न गरे– भनेपछि यो कमण्डलु सफा नगरी तिमी यसमा खिर हाल्दिनौ ? महिलाले जवाफ दिइन्– हजुर महाराज ! 

महिलाको जवाफ सुनेपछि मुसुक्क मुस्कुराउँदै सन्तले भने– हो, तिमीलाई मेरो उपदेश यही हो । जबसम्म चिन्ता, ईष्र्या, लोभ तथा घमण्डरूपी गोबर र कुसंस्कारले दिमाग भरिभराउ भइरहन्छ, तबसम्म उपदेशको कुनै लाभ हुँदैन । यदि उपदेशामृत पान गर्ने हो भने पहिले आफ्नो मन शुद्ध बनाउनु जरुरी छ । यसका लागि चिन्ता, ईष्र्या, लोभ तथा घमण्डरूपी गोबर र कुसंस्कारको त्याग गर्न सक्नुपर्छ ।