मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १ बुधबार १५:२९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १ बुधबार १५:२९:००

चालू आर्थिक वर्ष ०७९/८० को आठ महिनामा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून देखिएको छ। 

आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो।

दोस्रो चौमासिकसम्ममा विभागले रु. तीन खर्ब ५३ अर्ब ९१ करोड ४७ लाखबराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, यो अवधिको लक्ष्यको तुलनामा ७९.७८ प्रतिशत अर्थात् रु. दुई खर्ब ८१ अर्ब ९९ करोड ३० लाख मात्रै उठेको हो। 

गत आवको फागुनसम्मको तुलनामा चालू आवको सोही अवधिको तुलनामा राजस्व असुली एक प्रतिशत बिन्दुले कम हो । विभागले गत आवको आठ महिनामा रु. दुई खर्ब ८५ अर्ब १२ करोड दुई लाखबराबर राजस्व उठाएको थियो। हालसम्म उठेको आन्तरिक राजस्वको अवस्था हेर्दा शिक्षा करबाहेक सबै क्षेत्रमा न्यून असुली भएको छ।

फागुन मसान्तसम्म रु. एक खर्ब ५८ अर्ब २५ करोड चार लाखबराबर आयकर उठाउने लक्ष्य राखेको विभागले रु. एक खर्ब १७ अर्ब सात करोड १९ लाख मात्रै असुली गरेको छ । यो अवधिको आयकर लक्ष्यको ७३.९८ प्रतिशत अर्थात् लक्ष्यको तुलनामा आयकर संकलन करिब १६ प्रतिशत विन्दुले कम हो।

मूल्य अभिवृद्धि कर (भ्याट) संकलन पनि लक्ष्यभन्दा निकै न्यून छ। फागुन मसान्तसम्ममा रु. ८२ अर्ब ४३ करोड ३८ लाख भ्याट उठाउने लक्ष्य राखिएकोमा रु. ६८ अर्ब ७७ करोड ३८ लाख मात्रै संकलन भएको छ। 

जुन असुली लक्ष्यको ८३.३२ प्रतिशतबराबर हो। त्यस्तै, गत वर्षको यही अवधिको तुलनामा आयकर संकलन तीन प्रतिशत विन्दुले न्यून हो। गत वर्ष फागुन मसान्तसम्ममा विभागले रु. ७० अर्ब ७५ करोड ८४ लाखबराबर भ्याट उठाएको थियो।
 
अन्तःशुल्क गत वर्षको तुलनामा केही बढेको देखिए पनि यस वर्षको लक्ष्यअनुसार भने उठेको देखिँदैन। विभागका अनुसार फागुन मसान्तसम्म रु. ७६ अर्ब ८२ करोड ४० लाख अन्तःशुल्क लक्ष्य लिइएकोमा ८४.३६ प्रतिशत अर्थात् रु. ६४ अर्ब ८१ करोड ६ लाख संकलन भएको छ।

गत वर्ष फागुनसम्मको तुलनामा यस वर्षको सोही अवधिमा अन्तःशुल्क चार प्रतिशत विन्दुले बढेको छ।
  
दोस्रो चौमासिक अवधिमा घरबहाल कर ७८.८१ प्रतिशत संकलन भएको छ। फागुन मसान्तसम्मका लागि रु. दुई अर्ब १४ करोड ८८ लाखबराबर घरबहाल कर उठाउने लक्ष्य राखिएकोमा रु. एक अर्ब ६९ करोड ३५ लाखबराबर मात्रै उठेको हो।

गत वर्षको यही अवधिको तुलनामा घरबहाल कर १० प्रतिशत विन्दुले घटेको छ। गत वर्ष रु. एक अर्ब ८७ करोड २७ लाखबराबर उठेको थियो।
      
त्यस्तै, स्वास्थ्य सेवा कर असुली लक्ष्यको ९७.११ प्रतिशत मात्रै देखिन्छ। विभागले फागुन मसान्तसम्ममा रु. चार अर्ब ८५ करोड स्वास्थ्य कर उठाउने लक्ष्य राखेकोमा रु. चार अर्ब ७१ करोडबराबर मात्रै संकलन भएको देखिएको हो। 

यही अवधिमा शिक्षा कर भने लक्ष्यभन्दा बढी उठेको छ। आठ महिना अवधिमा रु. एक अर्ब ४२ लाख शिक्षा कर उठाउने लक्ष्य राखिएकोमा रु. एक अर्ब ६ करोड ४० लाखबराबर उठेको हो।