Skip This
ध्वनि प्रदूषण नियन्त्रण गर्न डिजे बाजालाई प्रतिबन्ध लगाउने विराटनगर महानगरको तयारी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १ बुधबार
  • Friday, 25 October, 2024
गणेश लम्साल विराटनगर
२o७९ चैत १ बुधबार १२:१४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ध्वनि प्रदूषण नियन्त्रण गर्न डिजे बाजालाई प्रतिबन्ध लगाउने विराटनगर महानगरको तयारी 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ चैत १ बुधबार १२:१४:oo

विराटनगर महानगरपालिकाले चर्को ध्वनि प्रदूषण नियन्त्रण गर्न डिजे बाजालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । विभिन्न धार्मिक कार्यक्रम, सामाजिक उत्सव र डिजेसहितका सांगीतिक कार्यक्रमहरूबाट उत्पन्न ध्वनिले नागरिक स्वास्थ्यमा प्रतिकूल असर पारेको गुनासो बढेपछि विराटनगरलाई ध्वनि प्रदूषणमुक्त बनाउन महानगरले यस्तो योजना बनाउन लागेको हो ।

विराटनगरमा चर्को डिजे बाजा बजाएर उत्सव मनाउने प्रचलन ह्वात्तै बढेर गएको छ । यसबाहेक धार्मिक र सामाजिक कार्यक्रमहरूमा पनि चर्को माइक र साउन्डबक्स बजाएर ध्वनि प्रदूषण गर्ने गरिएको छ । जसले गर्दा  मुटुका रोगी, ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिका मात्र नभएर अध्ययन–अनुसन्धानमा संलग्नहरूमा समेत असर पर्ने गरेको छ ।

विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत धार्मिक, सामाजिक र सांगीतिक कार्यक्रमहरूमा चर्को बाजा बजाएर उत्पन्न गरिँदै आएको ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न महानगरले अभियान थाल्न लागेको मेयर नागेश कोइरालाले बताए । उनका अनुसार ध्वनि प्रदूषण नियन्त्रणका लागि पहिलो चरणमा महानगरले धार्मिक र नागरिक समाजका अगुवाहरूसँग चर्को ध्वनि प्रदूषण नियन्त्रण गर्नेबारे सुझाव संकलन गरिसकेको छ । त्यसबारे महानगरवासीको पनि सुझाव संकलन गरिने बताइएको छ । त्यसपछि नीति बनाएर महानगर ध्वनि प्रदूषण नियन्त्रणमा उत्रनेछ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला सडक नै ढाकेर वरिपरि माइक लगाएर विवाह र धार्मिक कार्यक्रम गर्ने कार्यलाई पनि महानगरले व्यवस्थापन गर्न लागेको बताउँछन् । अधिकृत कोइरालाले भने, ‘ध्वनि नियन्त्रण अभियानको थालनी भएको छ, यसलाई अझै ग्रासरुटसम्म छलफल चलाएपछि हामी एक्सनमा जानेछौँ ।’

ध्वनि प्रदूषण नियन्त्रण अभियानमा महानगरलाई सबैको साथ
विराटनगर महानगरले सुरु गरेको अभियानमा धार्मिक र नागरिक समाजका अगुवा सबैले साथ दिने भएका छन् । छोयलिङ बौद्ध गुम्बा रानीका कोषाध्यक्ष अनुपकुमार स्याङ्बो, इसाई समाज विराटनगरका अध्यक्ष सुरज मल्ल, मुस्लिम समुदायको जमियत उलामा ए–नेपालका अध्यक्ष अब्दुल सुब्हानलगायतले महानगरको  ध्वनि प्रदूषण नियन्त्रणमा पूर्ण रूपमा साथ दिने प्रतिबद्धता गरेका छन् ।

ओसो ध्यान केन्द्रका संयोजक दिलीपकुमार मण्डल महानगरको कदमसँग सहमत छन् । सामाजिक र धार्मिक उत्सवहरूमा रात–दिन बजाउने चर्को बाजाले व्यक्ति मात्र नभएर सिँगो समाज नै प्रभावित हुने भएकाले महानगरको अभियानलाई सबैले साथ दिनुपर्ने नागरिक अभियन्ता उत्तम ढुंगेल बताउँछन् ।