Skip This
चिनियाँ लगानीलाई सहयोग गर्छौँ : प्रधानमन्त्री
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १ बुधबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १ बुधबार १o:३५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चिनियाँ लगानीलाई सहयोग गर्छौँ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १ बुधबार १o:३५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न चाहने चिनियाँ लगानी तथा कम्पनीहरूलाई सहयोग गर्ने घोषणा गरेका छन् । मंगलबार नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)को संयुक्त रूपमा आयोजित नेपाल–चाइना बिजनेस फोरम– २०२३ लाई सम्बोधन गर्दै उनले सहयोग गर्ने घोषणा गरेका हुन् ।

नेपालले राखेको २०३० सम्ममा मध्यम आय भएको देश बन्ने लक्ष्य प्राप्त गर्न चिनियाँ लगानी अपरिहार्य रहेको उनले बताए । ‘२०२६ को अन्त्यसम्ममा एलडिसीको स्थितिबाट उत्तीर्ण हुने लक्ष्य राखेका छौँ । यी लक्ष्यहरू पूरा गर्न हामीलाई पूर्वाधार विकासमा महत्वपूर्ण लगानी र प्रविधिको अधिकतम उपयोग गर्न आवश्यक छ । त्यो अवस्थामा प्राथमिकता क्षेत्रहरूमा चिनियाँ लगानीको पनि आशा गर्छाैँ,’ उनले भने, ‘साथै, हामी नेपालमा लगानी गर्न चाहने चिनियाँ कम्पनीहरूलाई सहयोग गर्न पनि तयार छौँ ।’

यस्तै, चीनले पर्यटनका लागि नेपाललाई प्राथमिकतामा राख्दा नेपाली पर्यटन उद्योगमा राम्रो प्रभाव परेको प्रधानमन्त्रीले बताए । ‘कोभिड महामारीको पीडादायी अवधिपछि हाम्रो अर्थतन्त्र क्रमशः सुधार हुँदै छ । तर, चुनौती अझै कायम छन् । महामारीको समयमा पर्यटन क्षेत्रले ठूलो नोक्सान व्यहोर्नुपरेको छ,’ उनले भने, ‘त्यो अवस्थामा चीनले बाह्य भ्रमणमा लगाइएको प्रतिबन्ध हटाउने निर्णयले हामी खुसी छौँ । यसले नेपाली पर्यटन उद्योगमा राम्रो प्रभाव पार्ने विश्वास छ ।’

यस्तै, उनले नेपालमा वैदेशिक लगानीको वातावरण तयार भएको पनि बताए । ‘हामीले लगानी प्रणालीमा ठूला सुधारहरू गरेका छौँ, जसले प्रत्यक्ष विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन र संरक्षण गर्छ,’ उनले भने, ‘नेपालको कानुनले लगानीबाट कमाएको आम्दानी पूर्ण रूपमा लैजान दिन्छ । नेपालमा दर्ता भएका विदेशी कम्पनीहरूले जग्गा खरिद, स्वामित्व र बिक्री गर्न सक्नेछन् । स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै भेदभाव गरिँदैन ।’ नेपालमा  जलविद्युत्, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानीलगायतका क्षेत्रमा लगानी गरेर बढी प्रतिफल कमाउन सक्ने उनले बताए ।

 नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले यस कार्यक्रमले दुई देशका व्यवसायीबीच समस्या समाधान र आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने बताए । सिसिपिआइटीका उपाध्यक्ष चाङ साओहाङले नेपालबाट चीनमा हुने निर्यात बढाउने सहयोग गरेको उनको भनाइ थियो । चीनका पर्यटक नेपाल भ्रमण गर्न सक्ने बताउँदै उनले त्यसबाट नेपालको अर्थतन्त्रमा सहयोग पुग्ने अध्यक्ष अग्रवालले बताए । यसैगरी, नेपालका लागि चीनका राजदूत छेन साङले पनि नेपालको पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।