मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एलबी सप्लायर्सले हवाईमार्गबाट हुम्ला लैजान लागेको चामल नेपालगन्जमा थन्किएको छ
२०७९ चैत १ बुधबार ०८:१५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ढुवानीकर्ताको लापरबाहीले खाद्यान्न संकट व्यहोर्दै हुम्लावासी

Read Time : > 2 मिनेट
२०७९ चैत १ बुधबार ०८:१५:००

साढे ११ सय क्विन्टल चामल नेपालगन्जमै रोकियो, सरकारले समयमा कोटा थप गरी ढुवानीको व्यवस्था नगरे हुम्लामा खाद्यान्न संकट निम्तिने

चालू आर्थिक वर्षका लागि हुम्लामा १५ हजार क्विन्टल चामल आवश्यक छ । तर, अहिले २७ सय क्विन्टल चामल मात्र मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए । उनले मौज्दात रहेको चामल ७–१५ चैतसम्म वितरण गर्दा सकिने बताए । ‘यो पर्यटनको समय हो । पर्यटक आउनेबित्तिकै खाद्यान्न संकट आउन सक्छ,’ उनले भने । 

हुम्लाका किसानले भदौपछि मात्र हिउँदेबाली भित्र्याउने भएकाले वैशाख, जेठमा खाद्यान्न संकट आउने अधिकारीको भनाइ छ । सरकारले समयमा कोटा थप गरी ढुवानीको व्यवस्था नगरे हुम्लामा खाद्यान्न संकट निम्तिने उनले दाबी गरे । ‘समयमा व्यवस्था नगरे अघिल्लो वर्षजस्तै यो वर्ष पनि खाद्य संकट आउने निश्चित छ । सरकारले हुम्लाका लागि कोटा थपोस् र ढुवानीको व्यवस्था मिलाओस्,’ उनले भने । 

सरकारले हुम्लामा खाद्यान्न संकट हुन नदिन चामलको कोटा निर्धारण गरेको छ । सहज, सरल र छिटो पुर्‍याउन सरकारले हवाई तथा स्थलमार्गबाट ढुवानी गर्ने व्यवस्था मिलाएको छ । हवाईमार्गबाट १० हजार क्विन्टल चामल ढुवानी गर्ने व्यवस्था मिलाइएको कार्यालय प्रमुख अधिकारीले बताए । नेपालगन्ज, राजापुर, सुर्खेत र धनगढीबाट एक–एक हजार गरी चार हजार क्विन्टल चामल स्थलमार्गबाट हुम्ला लैजाने व्यवस्था मिलाइएको छ । 

उनले नेपालगन्जबाट चार हजार र सुर्खेतबाट ६ हजार क्विन्टल चामल कार्गोमार्फत हुम्ला लैजान सप्लायर्ससँग ठेक्का सम्झौता भएको बताए । ‘हवाईमार्गबाट १२ सय क्विन्टल मात्र ढुवानी गर्न बाँकी छ, तर, स्थलमार्गबाट ढुवानी गर्नुपर्ने चार हजार क्विन्टलमध्ये नौ सय क्विन्टल मात्र ढुवानी भएको छ,’ उनले भने । 

स्थलमार्गबाट चामल ढुवानी गर्न सप्लायर्सले ढुवानी गर्न ठेक्का सम्झौता गर्छन् । सरकारले खोलेको टेन्डरमा न्यूनतम मूल्य राखेर ढुवानी गर्न राजी हुन्छन् । न्यूनतम मूल्य राखेर ठेक्का सकार गरेका सप्लायर्सहरूलाई घाटा हुन थालेपछि ढुवानी नगरी चामल थन्क्याउने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाका प्रमुख अधिकारीले बताए । उनले नेपालगन्जबाट प्रतिकिलो ४६ रुपैयाँका दरले एलबी कम्पनीले ठेक्का लिएको बताए । तर, नेपालगन्जबाट स्थलमार्ग भएर ढुवानी गर्दा प्रतिकिलो सय रूपैयाँ खर्च लाग्छ । उनले सडकका कारण नभई ढुवानीकर्ताको लापरबाहीका कारण स्थलमार्गबाट चामल ढुवानी हुन नसकेको स्पष्ट पारे । ‘ठेक्का पाउन कम दरमा ढुवानी गर्छु भन्दै ठेक्का सम्झौता गर्नेहरू घाटा लाग्न थालेपछि विभिन्न बहाना बनाएर ढुवानी गर्दैनन् । सडक दोषी होइन, ढुवानीकर्ताको लापरवाही हो,’ उनले भने । 

ताकेता गर्दा पनि टेर्दैनन् ढुवानीकर्ता
स्थलमार्गबाट हुम्ला पठाउनुपर्ने एक हजार एक सय ५० क्विन्टल चामल नेपालगन्जमा रोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताए । उनले स्थलमार्गबाट एक हजार पाँच सय क्विन्टल चामल ढुवानी गर्न एलबी सप्लायर्सले जिम्मा पाएकोमा अहिलेसम्म तीन सय ५० क्विन्टल मात्र ढुवानी भएको जानकारी दिए । ‘ढुवानी गर्ने समयावधि आगामी असारमा सकिँदै छ, तर सप्लायर्सले अहिलेसम्म तीन सय क्विन्टल मात्र ढुवानी गरेको छ,’ उनले भने । 

चामल ढुवानी नभएको जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराएपछि सप्लायर्सले तीन सय क्विन्टल चामल हुम्ला पठाएको उनले बताए । ‘चामल ढुवानीका लागि सप्लायर्ससँग समन्वय गरिदिन हुम्लाका प्रमुख जिल्ला अधिकारीलाई तीन–चारपटक परिपत्र गर्‍यौँ, त्यसपछि सप्लायर्सले दुई सय क्विन्टल चामल ढुवानी गर्‍यो,’ उनले भने । 

हुम्लामा खाद्यान्न अभाव भएको गुनासोपछि सरकारले हवाईमार्गबाट दुई हजार क्विन्टल र स्थलमार्गबाट तीन हजार पाँच सय क्विन्टल चामल पठाउने निर्णय गरेको थियो । हवाईमार्गबाट ढुवानी गर्ने जिम्मा तारा एयरलायन्सले पाएको छ । ताराले अहिलेसम्म एक हजार ६ सय ५० क्विन्टल चामल ढुवानी गरिसकेको उनले बताए । ‘हवाईमार्गबाट चामल ढुवानी सन्तोषजनक भए पनि स्थलमार्गबाट हुन सकेको छैन,’ उनले भने, ‘लामो समयसम्म ताकेता गर्दा पनि स्थलमार्गबाट ढुवानी हुन सकेन ।’

ढुवानी नगर्ने सप्लायर्सलाई कालोसूचीमा राख्ने निर्णय
सप्लायर्सले समयमा चामल ढुवानी गर्न नसके कालोसूचीमा राख्ने निर्णय हुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निर्णय गरेको नेपालगन्ज प्रमुख लामिछानेले बताए । नेपालगन्जको गोदाममा एक हजार क्विन्टल चामल मौज्दात रहेको बताउँदै उनले हुम्ला पठाउने चामल माग हुनेबित्तिकै व्यवस्था गर्ने बताए । ‘४० हजार क्विन्टल चामल सप्लाई गर्ने कोटा नेपालगन्ज शाखालाई थियो । अहिलेसम्म ३० हजार क्विन्टल विभिन्न जिल्लामा सप्लाई भइसक्यो । आवश्यक परे अन्य जिल्ला शाखाबाट ल्याएर व्यवस्था गर्नेछौँ,’ उनले भने ।

सडक देखाउँदै पन्छिन खोज्छन् ढुवानीकर्ता
एलबी सप्लायर्सका प्रतिनिधि तिलक शाही भने हुम्ला जाने सडक बिग्रिएकाले चामल ढुवानी गर्न नसकिएको बताउँछन् । उनले सुर्खेत–हुम्ला सडकअन्तर्गत बाजुराको दुई ठाउँमा अवरुद्ध सडक समयमा सुचारु नहुँदा चामल ढुवानी गर्न ढिलाइ भएको बताए । उनले सडक राम्रो भए मात्र कोटाअनुसारको चामल हुम्ला ढुवानी गर्न सकिने बताए । ‘पुससम्म सडक थिएन । माघ र फागुनमा तीन ट्रक चामल हुम्ला पठायौँ,’ उनले भने, ‘सडकले साथ दिए असारअघि नै ढुवानी गरिसक्छौँ ।’ हवाईमार्गभन्दा स्थलमार्गबाट चामल ढुवानी गर्न गाह्रो हुने उनले बताए । मौसम खराब भए मात्र हवाई यातायात बन्द हुन्छ । सानो पानी पर्नेबित्तिकै सडक बिग्रिएर यातायात अवरुद्ध हुन्छ,’ शाहीले भने ।