१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ बैशाख २४ सोमबार २o:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चार उपसचिवसहित यातायातका ९ कर्मचारी भ्रष्टाचार अभियोगमा दोषी ठहर

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:४२:oo

विशेष अदालतले चारजना उपसचिवसहित नौजनामाथि भ्रष्टाचारको कसुर ठहर गर्दै सजाय निर्धारण मिति तोकेको छ । 

मंगलबार विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले उनीहरूको सजाय निर्धारणका लागि पेसी तोकेको हो । 

यातायात व्यवस्था कार्यालय कोसी इटहरी कार्यालयमा राजस्व रकम हिनामिना भएको भन्दै दुई फरक मितिमा अख्तियारले छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । 

यी दुवै मुद्दा लगाउमा राखी सुनुवाइ हुँदै आएकोमा बुधबार फैसला गर्दै कसुर कायम गरिएको हो । विशेषका अनुसार सजाय निर्धारण भने आठ चैतका लागि तोकेको हो । 

अख्तियारले यातायात व्यवस्था कार्यालय इटहरीको आर्थिक वर्ष ०७१/७२ देखि ०७३/७४ को फागुन मसान्तसम्मको राजस्व रकमबारे अनुसन्धान गरेकोमा ६१ करोड २१ लाख २८ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना भएको भेटिएको थियो । 

जसपछि उपसचिवहरू रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल र नयराज नेपालमाथि मुद्दा दायर भएको थियो । दाहालउपर १२ करोड ३० लाख, पौडेलउपर २३ करोड ७७ लाख र नेपालउपर २५ करोड १३ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो । 

साथै, सोही कार्यालयका लेखा अधिकृतहरू कुमार कटवालउपर दुई करोड १४ लाख र टीकाराम अधिकारीउपर ५७ करोेड २५ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भन्दै उति नै रकम बिगो मागदाबीसहित ४ असार २०७४ मा मुद्दा दायर भएको थियो । 

अर्का लेखा अधिकृत सुरेश अधिकारीमाथि भने ६१ करोड २१ लाख रुपैयाँ बिगो कायम थियो । यसैगरी, लेखापालहरू देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालमाथि २१ करोड ६३ लाख बिगो मागदाबी गरिएको थियो । 

सोही कार्यालयमा भएको अनियमितताका विषयमा पुनः अर्को मुद्दा पनि दायर भएको थियो । अख्तियारले १२ मंसिर २०७४ मा राजस्व रकम हिनामिना गरेको भन्दै विशेषमा मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष ०६९/७० देखि ०७०/७१ सम्म बैंक दाखिला गर्नुपर्ने ८ करोड ९६ लाख रुपैयाँभन्दा बढी रकम खाएको र मासेर हिनामिना गरेको अभियोगपत्रमा दाबी थियो । 

यस मुद्दामा पनि उपसचिवहरू पौडेल र होमनाथ भट्टराई प्रतिवादी बनाइएका थिए । उनीहरूउपर क्रमशः आठ करोड ८२ लाख र १४ लाख ५ हजार रुपैयाँ बिगो कायम गरिएको थियो । 

तत्कालीन लेखापाल सुरेश अधिकारी, मणिराज दाहाल र सहलेखापाल टंकबहादुर खड्कासमेतलाई प्रतिवादी बनाई दायर मुद्दामा जनही आठ करोड ९६ लाख रुपैयाँ बिगो मागदाबी थियो । यी दुवै मुद्दामा प्रतिवादी बनाइएका सबैमाथि कसुर ठहर भएको र ८ चैतमा सजाय निर्धारण हुने विशेषले जनाएको छ।

ad
ad