१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २९ सोमबार ०८:१३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्ववियु चुनावमा देखिएन विगतमा जस्तो अस्वाभाविक भर्ना

विद्यार्थी संगठनले भोट बढाउन अस्वाभाविक रूपमा विद्यार्थी भर्ना गर्ने पुरानो शैली यसपटक देखिएको छैन, केही क्याम्पसमा भर्नाकै कारण विवाद भने निम्तिएको छ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २९ सोमबार ०८:१३:००

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावलाई लक्षित गरी विगतमा विद्यार्थी संगठनले एकमुस्ट ठूलो संख्यामा विद्यार्थी भर्ना गर्ने गरेकोमा यसपटक भने अस्वाभाविक भर्ना देखिएको छैन । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा भर्नाकै कारण देखाएर निर्वाचन कार्यतालिका प्रभावित भएका वेला अधिकांश क्याम्पसमा वार्षिक प्रणालीको स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्ना संख्या अघिल्ला वर्षभन्दा कम देखिएको छ ।

 त्रिविका आंगिक क्याम्पसमा सञ्चालन भएका ‘प्राइभेट’ कार्यक्रममा सीमित कोटा भएकाले थप भर्ना हुने सम्भावना नै रहँदैन । भर्ना विवाद निकालेर चुनावी कार्यक्रम नै प्रभावित पारिएको काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा स्नातक पहिलो वर्षमा अघिल्लो वर्षभन्दा झन्डै आधा मात्र विद्यार्थी भर्ना भएका छन् ।

रत्नराज्यमा आइतबार केही संगठनले मनोनयन दर्ता गरेपछि विद्यार्थी भर्ना अस्वाभाविक भएको भन्दै दिनभर तनाव भएको थियो । समस्याका कारण निर्वाचन समितिले सोमबार १२ बजेसम्मका लागि मनोनयन कार्यतालिका सार्वजनिक गरेको छ । आरआरका सहायक क्याम्पस प्रमुख राम कार्कीले अघिल्लो वर्ष एक हजार चार सय विद्यार्थी बिए प्रथम वर्षमा भर्ना भएकामा यस वर्ष सात सय ५० को हारहारीमा मात्र भर्ना भएको बताए । उनले भने, ‘बिए प्रथम वर्षमा साढे सात सय भर्ना भए, वार्षिक प्रणालीको कार्यक्रममा पछिसम्म पनि भर्ना हुन्छन्, अघिल्लो वर्ष १४ सय विद्यार्थी भर्ना भएका थिए ।’

आइतबार मनोनयन दर्ता भएको त्रिविकै अर्को आंगिक ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा पनि विद्यार्थी भर्ना विगतको भन्दा बढेको छैन । क्याम्पस प्रमुख डा. गोलमान गुरुङका अनुसार अघिल्लो वर्ष बिबिए, बिएजस्ता वार्षिक प्रणालीका कार्यक्रममा १५ सयको हाराहारीमा विद्यार्थी भर्ना भएकोमा अहिले पनि त्यसभन्दा बढेको छैन । त्यस्तै, एमबिएसमा अघिल्लो वर्षजत्तिकै दुई सय ५० को हारहारीमा विद्यार्थी भर्ना भएको उनले बताए । ‘हामीले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले बनाएको मापदण्ड र निर्देशनअनुसार भर्नालगायत काम गर्‍यौँ, कसैले पनि एकमुस्ट भर्ना गरेको छैन,’ क्याम्पस प्रमुख गुरुङले भने, ‘संगठनहरूले को–को छुटे भनेर भर्नाको प्रयास गरेका थिए, चुनावपछि भर्ना गर्नुहोला भनेपछि सबै सहमत भए र चुनावको वातावरण बन्यो ।’ सरस्वती क्याम्पसमा सभापतिमा स्वतन्त्रसहित पाँचजनाको उम्मेदवारी परेको छ । 

पकनाजोलस्थित पब्लिक युथ क्याम्पसमा त अघिल्लो वर्षभन्दा कम विद्यार्थी भर्ना भएका छन् । क्याम्पस प्रमुख बलराम थापाका अनुसार वार्षिक प्रणालीका कार्यक्रममा अघिल्लो वर्ष स्नातक तह प्रथम वर्षमा १४ सय भर्ना भएकामा यस वर्ष अहिलेसम्म आठ सय ३२ विद्यार्थी भर्ना भएका छन् । ‘विद्यार्थी संख्या अहिलेसम्म अघिल्लो वर्षभन्दा कम छ, स्ववियु चुनावलक्षित भर्ना पनि भएको छैन,’ क्याम्पस प्रमुख थापाले भने, ‘वार्षिक प्रणालीलक्षित कार्यक्रममा पछिसम्म भर्ना हुने चलन छ, चुनावपछि फेरि विद्यार्थी आउँछन् भन्ने अपेक्षा छ ।’ 

ललितपुरको पाटन संयुक्त क्याम्पसको अवस्था पनि उस्तै छ । क्याम्पस प्रमुख प्रा. लक्ष्मण कुँवरका अनुसार अघिल्लो वर्ष बिएको बिहान र दिउँसो सिफ्टमा गरी एक हजारको हारहारीमा विद्यार्थी भर्ना भएकामा यसपालि अहिलेसम्म बिहानी सिफ्टका लागि पाँच सय पनि भर्ना भएका छैनन् । त्यस्तै, बिबिएसमा १२ सयको हारहारीमा अघिल्लो वर्ष भर्ना भएका थिए, यसपालि अहिलेसम्म सात सय ८० मात्र भर्ना भएका छन् । मास्टर्सका कार्यक्रममा पनि विद्यार्थी कम रहेको उनले बताए । 

हामीले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले बनाएको मापदण्ड र निर्देशनअनुसार भर्नालगायत काम गर्‍यौँ, कसैले पनि एकमुस्ट भर्ना गरेको छैन । संगठनहरूले को–को छुटे भनेर भर्नाको प्रयास गरेका थिए, चुनावपछि भर्ना गर्नुहोला भनेपछि सबै सहमत भए र चुनावको वातावरण बन्यो ।

डा. गोलमान गुरुङ, प्रमुख, सरस्वती बहुमुखी क्याम्पस

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख प्रा.डा. पशुपति अधिकारीले विगतमा जस्तो एकमुस्ट विद्यार्थी भर्ना गर्ने अवस्था नरहेको बताए । एकमुस्ट भर्ना गर्ने विगतको जस्तो प्रवृत्तिलाई निरुत्साहित गरी एक विद्यार्थीले एउटा भौचरमा भर्ना हुुनुपर्ने व्यवस्था गरेकाले पनि यस्तो अवस्था रोकिएको उनको दाबी छ । त्यस्तै, अहिले तुलनात्मक रूपमा स्ववियु प्रयोजनकै लागि पनि भर्ना गर्न शुल्क बढी रहेकाले सहज नभएको अधिकारी बताउँछन् । केही ठाउँमा भर्ना गर्ने प्रयास रहेको तर अस्वाभाविक भर्ना नदेखिएको उनको दाबी छ । 

 त्रिचन्द्र क्याम्पसमा एकमुस्ट भर्नाको विवाद 
एकमुस्ट रकम बैंकमा जम्मा गरेर त्रिविको आंगिक घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा विद्यार्थी भर्ना गरेपछि विवाद चुलिएको छ । त्रिचन्द्र क्याम्पस स्रोतका अनुसार भर्नाको समय सकिनै लाग्दा क्युआर कोडमार्फत दुई लाख जम्मा गरी विद्यार्थी भर्ना गरेको विषयमा विवाद चर्किएको हो । 

नेविसंघमा आबद्ध व्यक्तिले उक्त रकम जम्मा गरी ३१ जना विद्यार्थी भर्ना गर्न पाउनुपर्ने माग राखेका छन् भने अन्य संगठनले विरोध जनाएका छन् । यही विवादका कारण मतदाता नामावलीसमेत प्रकाशित हुन सकेको छैन । विवाद बढेसँगै निर्वाचन अधिकृतले राजीनामासमेत दिएका छन् । त्रिवि निर्देशिकामा एकमुस्ट विद्यार्थी भर्नालाई मान्यता नदिने व्यवस्था छ । निर्देशिकाअनुसार एउटा विद्यार्थीले एउटा भौचर प्रयोग गरी भर्ना हुनुपर्छ । 

 मास्टर्समा मानविकीको प्रवेश परीक्षामा देशभरमा दुई हजार बढे
त्रिविले स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सुरु भएपछि प्रवेश परीक्षासमेत लिने गरेको छ । गत २९ माघमा भएको मानविकी तथा सामाजिक शास्त्र संकायको प्रवेश परीक्षामा देशभरमा अघिल्लो वर्षभन्दा झन्डै दुई हजारभन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए । मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन प्रा.डा. तारा भुसालले अघिल्लो वर्ष नौ हजारले प्रवेश परीक्षा दिएकामा यस वर्ष ११ हजार सहभागी भएको बताए । उनले भने, ‘मानविकी तथा सामाजिक शास्त्र संकायमा प्रवेश परीक्षा दिने केही बढेका छन्, तर भर्ना कति भए भन्ने यकिन डाटा आइसकेको छैन ।’

 यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका 
२९ फागुनमा उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरी ५ चैतमा मतदान गर्ने कार्यक्रम तय गरेको छ । उम्मेदवारहरूले २९ फागुनदेखि २ चैत राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् र त्यसपछि मौन अवधि सुरु हुनेछ । २८ वर्ष नकटेका विद्यार्थीले मात्र स्ववियु निर्वाचनमा भाग लिन पाउनेछन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख प्रा.डा. पशुपति अधिकारीले त्रिविबाट जारी निर्देशिकाअनुसार काम गरेमा कुनै समस्या नआउने र चुनावी वातावरण बन्ने बताए । उनले अहिलेसम्म कसैले पनि चुनावी कार्यक्रमलाई बिथोल्ने क्रियाकलाप नगरेको बताए । 

स्ववियु कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ, तर कुनै कारणले निर्धारित मितिमा निर्वाचन हुन नसकेमा ६–६ महिनामा त्रिवि कार्यकारी परिषद्ले समय थप गर्न सक्नेछ । कार्यसमितिको संख्या विद्यार्थीको संख्याअनुसार फरक छ । दुई सयजनासम्म विद्यार्थी हुने क्याम्पसमा ११ सदस्यीय, दुई सय एकदेखि हजारसम्मको हकमा १५ सदस्यीय, एक हजार एकदेखि तीन हजारसम्म विद्यार्थी भएकामा १९ सदस्यीय तथा तीन हजारभन्दा धेरै विद्यार्थी भएका क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ ।