१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शान्ति तामाङ काठमाडाैं
२०७९ फाल्गुण २९ सोमबार ०८:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरको झारा टार्ने सार्वजनिक सुनुवाइ

तीन लाख मतदाता भएको पालिकाको सार्वजनिक सुनुवाइमा ५० जना उपस्थित, मेयर नै अनुपस्थित

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७९ फाल्गुण २९ सोमबार ०८:०७:००

देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकाले सार्वजनिक सुनुवाइ कसरी आयोजना गर्छ होला ? सुनुवाइ कार्यक्रमका सहभागीहरूले जनप्रतिनिधिलाई कस्ता प्रश्न गर्छन् होला ? जनप्रतिनिधिले कसरी जवाफ फर्काउँछन् होला ? भन्नेजस्ता कुतूहलता महानगरका मतदातालाई मात्रै होइन, आमसर्वसाधारणमा समेत हुने गर्छ । तर, आइतबार सम्पन्न महानगरको सार्वजनिक सुनुवाइले यी सबै कुतूहलतालाई बेवास्ता गरेको छ । 

राष्ट्रिय सभागृहमा दिउँसो एक बजेका लागि तय भएको सार्वजनिक सुनुवाइ डेढ घन्टा ढिला गरी सुरु भयो । डेढ घन्टा ढिलो गरी सुरु भएको कार्यक्रममा करिब ५० जनाको उपस्थिति थियो । कार्यक्रममा महानगरका मेयर बालेन्द्र साह नै उपस्थित थिएनन् । 

तीन लाखभन्दा बढी मतदाता रहेको काठमाडौं महानगरको सार्वजनिक सुनुवाइमा प्रश्न गर्नेहरू जम्मा ६ जना थिए । उनीहरूले गरेका प्रश्नको जवाफ पनि प्रमुख प्रशासकीय अधिकृतले दिएका थिए । महानगरले १९ फागुनमा तोकेको सुनुवाइ आइतबारका लागि सारेको हो । 

 प्रश्नबाट भाग्दै बालेन 
सहभागीहरूले पूर्वाधारका विकाससम्बन्धी प्रश्नको जवाफ मेयर साहबाट आओस् भन्ने चाहेका थिए । तर, त्यसको जवाफ कसैले पनि दिएनन् । सार्वजनिक सुनुवाइमा सहभागी विश्वनाथ श्रेष्ठले मेयर साहसँगै गुनासो राख्ने इच्छा गरेका थिए । मेयर नभएका कारण उपमेयर सुनीता डंगोलमार्फत लिखित प्रश्न हस्तान्तरण गरे ।

‘म एकदम आशावादी थिएँ । हाम्रा मेयरज्यू पनि उपस्थित हुनुहोला भनेर । तर, प्रश्नबाट घेरिनुपर्ला भनेर आउनु नै भएन । उहाँ धेरै चलाख हुनुहुन्छ,’ उनले भने । कार्यक्रमका अर्का सहभागी विक्रान्त कार्कीले महानगरभित्रका भद्रगोल तार र डिजिटल होर्डिङ बोर्डसम्बन्धी समस्याबारे प्रश्न गरे ।‘टेलिकम होस् वा अन्य निकायको तार व्यवस्थापनका लागि के हुँदै छ । अहिलेसम्म किन व्यवस्थापनको काम हुन सकेन,’ कार्कीले भने, ‘डिजिटल बोर्डका कारण रात्रिकालीन यात्रा असहज भएको छ ।’ 

सार्वजनिक सुनुवाइको अध्यक्षता उपमेयर डंगोलले गरे पनि सबै प्रश्नको जवाफ भने प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले दिए । ‘कर तिर्न ३२ वटै वडामा व्यवस्था गरिएको छ । अनलाइन कर प्रणाली पनि सुरु गरेका छौँ । नक्सापास पनि घरबाटै गर्न सकिने अवस्थामा पुगेका छौँ,’ अधिकारीले भने, ‘तार व्यवस्थापनको काम सुरु भइसकेको छ ।’

 के भन्छन् सहभागी ?
सुनुवाइका सहभागी गोविन्द्रप्रसाद भुसालले वडामा कर तिर्न जाँदा दुई बजेसम्मको मात्र समयको व्यवस्था भएकाले यो समय बढाएर तीन बजेसम्म पुर्‍याउन अनुरोध गरे । कर्मचारीले ठाडो र रुखो व्यवहार गरेकोमा दुखेसो पोखे । ‘वडामा कर तिर्न जाँदा दुई बजेसम्मको मात्र समयको व्यवस्था भएकाले यो समय बढाएर तीन बजेसम्मको समय बनाइदिनुहोला,’ उनले भने ।

मनीष मानवले निजी पार्किङ समस्या समाधानका लागि पहल गर्नुपर्नेबारे प्रश्न गरे । ‘निजी शौचालयमा सर्वसाधारणको पहुँचका लागि पहल गरेजसरी नै निजी क्षेत्रको पार्किङका लागि पहल गर्नुपर्‍यो, बरु सामान्य शुल्कको व्यवस्था गरौँ,’ उनले भने, ‘पार्किङका लागि खुलामञ्च प्रयोग गर्ने भन्ने नियत राम्रै होला, तर त्यहाँ भूमिगत पार्किङ बनाउन हुँदैन ।’ कालोपुल बस्ने कुलनारायण डंगोलका अनुसार वर्षायाम सुरु हुनेबित्तिकै सडककै पानी जम्ने, ढल निकासको काम पैसा तिरेअनुसार राम्रो भएन । ढल जाम भयो भनेर निवेदन दिँदा वडाले धेरै समय लगाइदिने गरेको उनको भनाइ छ ।

 उपमेयर डंगोल भन्छिन्– जनताको सेवाप्रति प्रतिबद्ध छौँ
उपप्रमुख डंगोलले आमनागरिकले महानगरको काम, कर्तव्य र प्रगतिलाई कसरी लिएका छन्, त्यसबारे जानौँ र नागरिकको जिज्ञासा सम्बोधनका लागि यो कार्यक्रम आयोजना गरेको बताइन् । ‘जनप्रतिनिधिको मुख्य दायित्व जनताको सेवा गर्नु हो । हामी यसप्रति प्रतिबद्ध छौँ,’ उपप्रमुख डंगोलले नेपाल भाषाको पाठ्यपुस्तक अझै सरल बनाउनुपर्ने जिज्ञासाको उत्तरमा भनिन्, ‘ती पाठ्यपुस्तकबाट भाषा पढाउनेभन्दा काठमाडौंको मौलिकतालाई आमनागरिकको जानकारीमा पुर्‍याउने लक्ष्य राखिएको छ ।’