१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख ३१ सोमबार o६:२४:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

बेसहारालाई सहयोगको नाममा ऋण दिँदै जालसाजी गरेर घरजग्गा हडप्दै

Read Time : > 5 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:२४:oo

सर्लाहीको लालबन्दी, ईश्वरपुर, चन्द्रनगर नगरपालिकामा विपन्न परिवारलाई अनेक लोभलालच र जालझेलमा पारेर भएभरको सम्पत्ति ठगी गर्ने क्रम बढेको छ । मिटरब्याजीबाट सयौँ मानिस घरबारविहीन बनेको घटना सेलाउन नपाउँदै जिल्लाका विभिन्न ठाउँमा फेरि साहुकार र आफन्तबाटै श्रीसम्पत्ति गुमाउनेको संख्या बढेको पाइएको हो ।

लालबन्दी नगरपालिका– ५ मेजरगन्ज बस्ने ४६ वर्षीय नागेश्वर महतोसँग केही समयअघिसम्म करोडबराबरको सम्पत्ति थियो । तर, अहिले उनी सुकुमबासीको अवस्थामा आइपुगेका छन् । आफू बिरामी हुँदा उपचार गर्न साहुसँग लिएको ऋणकै कारण अहिले उनी सडकमा आइपुगेका छन् ।

महतोका दुई छोरा र दुई छोरी छन् । एउटी छोरीको विवाह भइसकेको छ । एउटा छोरा बाहिरै बस्छन् । एक छोरा र एक छोरी पढ्दै छन् । ड्राइभरी काम गर्ने उनले सुरुमा बस र पछि लालबन्दी तरकारी बजारमा गाडी चलाउँथे । तीन दाजुभाइमध्ये नागेश्वर जेठा हुन् । बुबाआमाको निधनपछि पनि नागेश्वरका दाजुभाइबीच अंशबन्डा भएको थिएन । पुख्र्यौली सम्पत्ति सगोलमै थियो । 

नागेश्वरले भाइहरू नन्दलाल र लालबाबुसँग अंशबन्डा गर्ने निर्णय गरे । नगरपालिकाको न्यायिक समितिदेखि प्रहरीचौकीसम्म धाए । यो विषयले दाजुभाइबीच पटक–पटक झैँझगडासमेत भयो । केही उपाय नलागेपछि उनले जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता गरे । सोही दिन नागेश्वरमाथि उनकै जेठो छोरोसहित नचिनेका मानिसले आक्रमण गरे । कुटपिटबाट गम्भीर घाइते भएका उनको दुई दिनपछि मात्र होस खुल्यो । होस खुलेपछि नागेश्वर आफैँ नजिकैको एक अस्पतालमा पुगेर उपचार गराए । कुटपिटबाट उनको खुट्टामा तीन ठाउँमा हड्डी भाँचिएको छ । अझै उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । 

सात महिना घरमै थला परेपछि चरम आर्थिक अभाव झेलेका उनले राम्रोसँग उपचारसमेत गर्न सकेनन् । केही समयपछि नागेश्वरकी श्रीमती पनि बिरामी भइन् । लालबन्दीस्थित एक अस्पतालमा उपचार भयो । उपचार खर्च ३५ हजार पुग्यो । परिवारको आर्थिक अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको थियो । अस्पतालबाट निस्कने वेलामा तिर्ने पैसासमेत नभएपछि नागेश्वरले चिनेजानेका सँग ऋण खोजे । सोही क्रममा उनको किशनपुरका शिवचन्द्र पासवानसँग भेट भयो ।

पासवानले भक्तपुर नखेल– ९, घर भई लालबन्दी बस्दै आएकी चिनिमाया लामासँग नागेश्वरको भेट गराए । चिनिमायाले तत्काल नागेश्वरलाई ३० हजार ऋण दिइन् । नागेश्वर अस्पतालमा उपचार खर्च तिरेर घर फर्किए । केही समयपछि चिनिमायाले नागेश्वरसँग पैसा माग्न थालिन् । उनले पैसा नभएको बताए । भएको जग्गा अंशबन्डा नभएको सुनाए ।

चिनिमायाले नागेश्वरलाई सहयोग गर्ने मान्छे छ भन्दै ब्रह्मपुरी गाउँपालिका–२ का चुनचुन ठाकुरसँग भेट गराइन् । 
यसबीचमा नागेश्वर र चिनिमायाको सम्बन्ध प्रगाढ भइसकेको थियो । उनले नागेश्वरलाई भाइ बनाएर राखी बाँध्नेदेखि माछामासु ल्याएर खुवाउनेसमेत गर्थिन् ।

मिटरब्याजी चुनचुन ठाकुर

नागेश्वरले पनि दिदीजस्तै मान्दै गए । चुनचुन र चिनिमायाले एक दिन नागेश्वरसँग ऋण पनि दिने र भाइहरूसँग अंशबन्डा पनि गराइदिने भनेर लोभ देखाए । त्यसबापत नागेश्वरले ऋणको ब्याज र मुद्दा मामिलामा लागेको खर्च मात्र व्यहोनुपर्ने सर्त राखे ।

उनले तत्काल स्वीकार गरे । नागेश्वरले गाडी किनेर चलाउने निधो गरे । र, १६ लाख ऋण मागे । चुनचुनले तुरुन्त नागेश्वरको खातामा ५० हजार हालिदिए । र, भोलिपल्ट कागजमा सहीछाप गराए । अनपढ नागेश्वरलाई के लेखिएको थियो, थाहा थिएन । चुनचुन र चिनिमायाले मुद्दा मिलिसकेपछि ऋणको ब्याज र अदालत खर्चबाहेक केही नलिने, सबै फिर्ता गर्ने भनेर फकाइफुल्याई गरे ।

चिनिमायाले नागेश्वरलाई दिएको ३० हजार ऋणको भन्दै पहिले नै एक लाख लिइसकिछन् । नागेश्वरको हातमा १५ लाख मात्र प¥यो । त्यसपछि चुनचुनले फेरि एकपटक नागेश्वरकी श्रीमतीको खातामा एक लाख हालिदिए । त्यसपछि नागेश्वरको चुनचुन र चिनिमायासँग कुनै आर्थिक लेनदेन भएको छैन ।

चुनचुनले अंश दाबीका लागि भन्दै नागेश्वरसँग नयाँ तमसुक गराए । चुनचुनले ३० चैत ०७४ मा नागेश्वरले आफूसँग ६० लाख ऋण लगेको तमसुक बनाएका रहेछन् । जसमा ०७५ साउन मसान्तसम्म सयकडा १० प्रतिशतले हुन आउने सावा र ब्याज तिर्ने गरी ऋण लगेको उल्लेख छ । मुद्दा अगाडि बढ्दै गयो । अंशबापतको पुख्र्याैली सम्पत्तिको तीन भागको एक भागबाट ऋण असुल गर्ने अदालतबाट फैसलासमेत भयो ।

त्यसपछि नागेश्वरले लागेको खर्च र १६ लाख ऋण तथा त्यसको ब्याज काटेर बाँकी जग्गा फिर्ता गरिदिन हारगुहार गरे । तर, उनको कुरा कसैले सुनेन । उनीहरूले मुद्दा मामिला बढ्दै जाने डर देखाउँदै तत्कालका लागि अरू कसैको नाममा जग्गा राखेको झुटो विवरण सुनाए । जग्गा फिर्ता गर्न ताकेता गरेपछि नागेश्वरको ६ कित्ताबाट आठ कट्ठा लिलाम गरेर चुनचुन र चिनिमायाले ६० लाख सावा ऋण, त्यसको ब्याज र अदालत खर्चसमेत गरेर ८८ लाख असुलउपर गरेको अदातबाट पछि मात्र उनले थाहा पाए । जिल्ला प्रशासनमा उनी आफूले ६० लाख नलिएको भन्दै निवेदन लिएर पुगे । तर, प्रशासनले आफैँले सहीछाप गरेको कुरा आफैँ मिलाउनु भन्दै फर्काइदिएको नागेश्वरले बताए । 

१६ लाख ऋण दिएर ६० लाख लगेको तमसुक, परिवारको उठीवास
सर्लाही ब्रह्मपुरी गाउँपालिका– २ का चुनचुन ठाकुर, किशनपुरका शिवचन्द्र पासवान र भक्तपुर नखेल– ९ घर भई लालबन्दी बस्दै आएकी चिनिमाया लामाबाट उठीवास लागेको लालबन्दी नगरपालिका– ५ मेजरगन्जका ४६ वर्षीय नागेश्वर महतोको परिवार (तस्बिरमा) । उनीहरूको यो घर रहेको जग्गासमेत लिलामी भइसकेको छ ।

नागेश्वरले रोजीरोटीका लागि गाडी किन्न चुनचुनसँग १६ लाख ऋण लिए । तर, चुनचुन समूहले तमसुक भने ६० लाखको बनायो, जसमा ब्याज सयकडा १० का दरले तिर्ने उल्लेख थियो । निरक्षर नागेश्वरले उनीहरूले बनाएको तमसुकमा ल्याप्चे लगाएका थिए । नागेश्वरको घरसमेत रहेको आठ कट्ठा जग्गा लिलाम गरेर चुनचुन र चिनिमायाले ६० लाख सावाँ, त्यसको ब्याज र अदालत खर्चसमेत गरेर ८८ लाख असुलउपर गरे । यो विषय नागेश्वरले अदालतबाट पछि मात्र थाहा पाए ।

पौने दुई लाख ऋण दिएर एक कट्ठामा बनेको घर पास 
लालबन्दी नगरपालिका– ८, सानो करौया बस्ने राजनारायण चौधरीको अवस्था पनि उस्तै छ । भएको एक कट्ठा पाँच धुर जग्गा र त्यसमा बनेको भुइँतलाको काठको घर साहुले अनेक जालसाजी गरेर खाइदिएपछि आफू सडकमा पुगेको उनको गुनासो छ । भएको एउटा झोपडी पनि साहुले हडपेपछि उनले नधाएको कुनै नेता र प्रशासनको दैलो छैन । तर, उनको समस्या कसैले सुनेनन् । राजनारायणको १४ जनाको परिवार छन् ।

सबैजना गाउँकै साहुको खेत ठेक्का बटैयादेखि ज्याला मजदुरी गर्छन् । सबैको कमाइले मुस्किलले उनीहरूको दैनिक छाक टर्छ । कहिलेकाहीँ कोही बिरामी परिहाले ऋण नलिई उपचार सम्भव छैन । दैनिक ज्याला मजदुरी गरेर कमाएको पैसाले बचत हुने कुरै छैन । भुइँतलाको घरमा बस्न नसक्ने भएपछि राजनारायणले पक्की घर बनाउने योजना बनाए ।

उनको जेठान पर्नेले चिनेको हार्डवेयरबाट ८० बोरा सिमेन्ट उधारोमा मिलाइदिए । तर, केही समयपछि जेठानले तारन्तार सिमेन्टको पैसा माग्न थाले । कुटुम्ब पैसाका लागि धाउँदा उनलाई लज्जाबोध भयो । उनले ऋण गरेर तिर्ने योजना बनाए । सोही क्रममा उनको लालबन्दी बस्ने शिवचन्द्र पासवानसँग भेट भयो । शिवचन्द्रले राजनारायणलाई सीता अमात्यसँग भेट गराए । सीताले चिनिमायासँग भेट गराइन् । चिनिमायाले ऋण दिने बताइन् । त्यसको बदलामा चौधरीलाई आफूसँग भएको घडेरी बन्धकी राख्न भनिन् । ऋण तिरेपछि फिर्ता गर्ने गरी राजनारायण पनि घडेरी बन्धकी राख्न राजी भए । चिनिमायासँग राजनारायणले दुई लाख ऋण मागे । तर, चिनिमायाले ६० हजार, ५० हजार, ३० हजार गरेर एक लाख ७० हजार दिइन् । 

तत्कालको खड्गो टरेकोमा राजनारायण खुसी थिए । ऋण लिएको एक महिनापछि शिवचन्द्रले राजनारायणसँग १० हजार लगे । त्यसको चार महिनापछि चिनिमाया ५० हजार चाहियो भन्दै घरमै पुगिन् । उनले आफूसँग ५० हजार छैन भन्दै २० हजार दिए । मिति सम्झन नसके पनि श्रीमती र छोरा नरेश चौधरीले एक लाख २० हजार चिनिमायालाई फिर्ता गरेको राजनारायण बताउँछन् ।

पटक–पटक गरेर एक लाख ५० हजार फिर्ता गरेका उनीहरूले चिनिमाया, सीता र शिवचन्द्रलाई भेटेर आफ्नो घडेरी फिर्ता गरिदिन आग्रह गरे । तर, केही दिनपछि भन्दै चार वर्ष बिताइदिए, घडेरी फिर्ता दिएनन् । साहुहरू नै बेपत्ता भए । घडेरी कसैको नाममा पास भइसकेको छिमेकीले सुनाएपछि राजनारायण तनावमा परेका छन् । आफूलाई अनेक जालझेलमा पारेर सडकको वास बनाइदिएको उनको गुनासो छ । ऋण दिएर बन्धकी भन्दै जग्गा पास गरेर लिने चिनिमाया लामाले आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएकी छिन् । चाँडै राजनारायण चौधरीको घर भएको घडेरी उनको नाममा फिर्ता गर्ने उनले दाबी गरिन् । अप्ठ्यारोमा परेको अवस्थामा सहयोग मात्र गरेको दाबी गर्दै चिनिमायाले आफूले कसैलाई नठगेको बताइन् । 

३० हजार ऋणको सावाँ २० लाख,  घडेरी नै अर्कैलाई बिक्री
लालबन्दी नगरपालिका– ३, जब्दीनिवासी ६३ वर्षीया दिलतोरियादेवी चौधरी आफ्नो वासस्थान जोगाउन संघर्ष गरिरहेकी छिन् । सम्पत्तिको नाममा रहेको नौ धुर घडेरीमा बनेको कच्ची घरसमेत नातामा मित भतिजो पर्ने रामबाबु साहले खाइदिएपछि उनको बिचल्ली भएको हो । श्रीमान्को उपचारका लागि उनले लिएको ३० हजार ऋणका कारण आज उनी सडकमा आइपुगेकी छिन् ।

आठ वर्षअघि श्रीमान् गम्भीर बिरामी परे । पक्षघातको सिकार भएका श्रीमान्को उपचार गर्न दिलतोरियासँग कुनै उपाय थिएन । श्रीमान् बिस्तरामा लम्पसार परिरहेको हेरिरहन उनले सकिनन् । ऋणधन गरेर उपचार गर्ने निधो गरिन् । भएका सन्तान पनि उनीसँग बस्दैनथे । उनले नातामा मितेरी साइनो भएका भतिजोसँग ऋण मागिन् । उनी नियमित दिलतोरियाको घरमा आउने–जाने गरिरहन्थे । आफ्नै परिवारको सदस्यजस्तै बनेर बसेको भतिजोले यस्तो अवस्थमामा पुर्‍याउला भनेर कसैले नसोचेको उनले सुनाइन् ।

 साहले दिलतोरियालाई ३० हजार ऋण दिए । दिलतोरियाले श्रीमान्लाई पिपरियास्थित निजी क्लिनिकमा उपचार गराइन् । उपचार गर्न लिएको ऋण पनि सकियो । श्रीमान्को पनि निधन भयो । साहु बनेका रामबाबुले पाँच वर्षपछि दिलतोरियालाई फकाइफुल्याई गरेर एक लाख ५० हजार ऋणको कागजमा सहीछाप गराए । त्यसको डेढ वर्षपछि फेरि आएर १० लाखको कागजमा सहीछाप गराए ।

शतप्रतिशतले बढेको ब्याज केही वर्षमा साहुको हजारौँ गुणाले धेरै भयो । त्यसबीचमा दिलतोरियाले थोरैथोरै गरेर ऋण घटाउन खोज्दा साहले तपाईं र ममा के को हिसाब ? अहिले पर्दैन काम चलाउनु भन्दै लिन नमानेको उनको भनाइ छ । ३० हजार ऋण लिनेवेलैमा साहले दिलतोरियाको नौ धुर घडेरीको लालपुर्जा सहीछाप गरेर लगेका थिए । त्यसपछि त्यो लालपुर्जा दिलतोरियाले देख्न पाएकी छैनन् ।

आफू बसिरहेको घर भएको घडेरी साहले कसलाई बिक्री गरे ? त्यो पनि उनलाई थाहा छैन । उक्त घडेरी फिर्ता देऊ पैसा दिन्छु भन्दा नमानेका साहले ‘अहिले १८ लाख भयो, २० लाख भयो तिर अनि मात्र घडेरी दिन्छु,’ भन्ने गरेको उनले दुःखेसो पोखिन् । पटक–पटक लालपुर्जा फिर्ता गरिदिन हारगुहार गर्दासमेत कुनै उपाय नलागेको उनले सुनाइन् ।

ad
ad